वैशाख ३१, काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १० औं वार्षिक साधारण सभा बिहीवार सम्पन्न भएको छ ।
बुटवल उपमहानगरपालिका- ९ मा रहेको कालिकापथस्थित होटल न्यू ईरामा भर्चुअल माध्यमबाट गरिएको सभामा कम्पनीका पूर्व अध्यक्ष यम बहादुर बिके, पूर्व सञ्चालक डा मेग बहादुर विश्वकर्मा, संस्थापक शंकर प्रसाद पौडेल, हरी काफ्ले, यज्ञ विक्रम शाही, भिम कुँवर, नर बहादुर विश्वकर्मा लगायतले मन्तब्य राखेका थिए ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनसहित आव २०७६/ ०७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचिहरु पारित गरेको छ ।
सभाले चुक्तापूँजी ७ करोड ९२ लाखको २ दशमलव ६० प्रतिशतले हुन आउने रकम २० लाख ५९ हजार २०० रुपैयाँ नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने, चुक्तापूँजीको ४९ दशमलव ४० प्रतिशत बराबरको बोनस शेयर जारी गर्ने र कम्पनीको अधिकृत पूँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
सभाको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष बाबुराम विश्वकर्माले गरेका थिए । कम्पनीले १९ ओटा जिल्लामा ३९ ओटा शाखा कार्यालयहरु मार्फत करीब ४५ हजार समुह सदस्यहरुलाई वित्तीय सेवा पुर्याइरहेको छ ।