काठमाडौं । उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बसिरहेका राम औतार महतो मंगलवार घर फर्किएका छन् ।
गंगालाल अस्पतालमा मुटुको अपरेसन गराएका राम औतारले एकमुष्ट ५२ हजार रुपैयाँ तिर्न नसक्दा बिहीवारदेखि डिस्चार्ज हुन सकेका थिएनन् । सोमवार उनले ३० हजार रुपैयाँ दिएपछि अपुग २२ हजार रुपैयाँ अस्पतालले अन्य स्रोतबाट पूर्ति गर्ने गरी डिस्चार्ज दिएको राम औतारका छोरा सञ्जिव कुमार महतोले बताए ।
अस्पतालले १ लाख ५० हजार रुपैयाँ उपचारमा लाग्ने जानकारी गराएको थियो । तर, विभिन्न चेकजाँचहरू र खान बस्नसमेत गर्दा करीब २ लाख रुपैयाँ खर्च निस्केपछि महतोलाई आफ्नै उपचार भारी भएको थियो ।
उनका १८ वर्षीय छोरा सञ्जिवलाई थप ऋण नपत्याएपछि उनले बुवालाई डिस्चार्ज गराउन सकेका थिएनन् । डाक्टर नर्सले समेत उनलाई अरू विकल्पवारे जानकारी नदिँदा उनी ३/४ दिनदेखि भौतारिरहेका थिए ।
गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीलाई भेट्न सके अपुग रकम कुनै कोषबाट मिलाउन सक्ने जानकारी पाएपछि उनी अधिकारीलाई भेट्न आइतवार दिनभर कुरेका थिए ।
आइतवार साँझ महोतले कार्यकारी निर्देशकलाई भेटेपछि अधिकारीले 'बिरामीले जे जति रकम दिन सक्छन् लिएर डिस्चार्ज गरिदिनू' भनेर फोनमार्फत निर्देशन दिएका थिए । सोमवार बिहान डाक्टरले फेरि पनि डिस्चार्ज दिन नमानेपछि उनी फेरि कार्यकारी निर्देशकलाई भेट्न गएका थिए । त्यसपछि भने कार्यकारी निर्देशक अधिकारीले महतोलाई एक जना कर्मचारीको जिम्मा लगाएर डिस्चार्जको प्रक्रिया पूरा गर्न निर्देशन दिएका थिए ।
अस्पतालका कार्यकारी निर्देशक अधिकारीले बिरामी महतोलाई अस्पताल स्रोतबाट २२ हजार र जयन्ति फाउन्डेसनबाट १० हजार गरी ३२ हजार रुपैयाँ मिनाहा गरिदिएको बताए ।
आइतवार र सोमवार व्यस्त हुँदा समयमा बिरामीको समस्या सम्बोधन गर्न नसकिएको उनको भनाइ छ । ‘उपचार खर्च तिर्न नसक्नेलाई खर्च मिनाहा गर्दै आएका छौं । उहाँ (राम औतार)को हकमा म व्यस्त भएकाले अलि ढिलाइ भएको हो,’ उनले प्रष्ट्याए ।
सोमवार प्रक्रिया पूरा गर्न ढिला भएपछि उनी घर जान सकेनन्, गौशालामै बास बसे । मंगलवार दिउँसो उनीहरू महोत्तरीतर्फ प्रस्थान गरेका छन् ।
यो पनि पढ्नुस् जो उपचार खर्च तिर्न नसक्दा चार दिनदेखि गंगालाल अस्पतालमै अलपत्र छन्