असार २७, काठमाडौं । नेपालको शेयर बजारले पुनः लयमा फर्किएको संकेत गरेको छ ।
गत साता लगातार चार कारोबार दिन घटेर २ हजार ८०१ विन्दुसम्म झरेको बजार पुनः आफ्नो गतिमा फर्किएको हो । बुधवार र बिहीवारको कारोबारमा बजार २ हजार ७९३ विन्दुसम्म झरेको छ । बिहीवारदेखि बढ्न थालेको बजार २ हजार ७९३ को बलियो टेवाविन्दुलाई पार गर्दै अघि बढेको देखिन्छ ।
गत जेठ ३१ गते हालसम्मकै उच्च ३ हजार २५ दशमलव ८२ विन्दुसम्म पुगेको नेप्से परिसूचक त्यसभन्दा पछि भने घटेको हो । गत बिहीवार २३ दशमलव ९७ अंक बढेर २ हजार ८२५ दशमलव १० विन्दुमा बन्द भएको बजार आइतवार २ हजार ४४५ दशमलव ४३ विन्दुदेखि खुलेको हो ।
आइतवार अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक २ दशमलव ६० प्रतिशत अर्थात् ७३ दशमलव ३३ अंकले बढेर २ हजार ८९८ दशमलव ४३ विन्दुमा पुगेको छ । लगानीकर्ताहरुले असार मसान्तसम्म तिर्नुपर्ने कर र कर्जाको ब्याज रकम भुक्तानी गरी पुनः बजारमा प्रवेश गरेका कारण आइतवारको बजार सकारात्मक बनेको जानकारहरु बताउँछन् ।
बजार एक वर्षभन्दा बढी अवधिसम्म बढ्दा पनि वाणिज्य बैंकहरुको शेयरमूल्य अझै तल रहेकाले वाणिज्य बैंकहरुको शेयर मूल्य बढ्दा बजारमा थप सकारात्मक प्रभाव पर्ने विश्लेषणसहित पछिल्लो समय लगानी गर्ने क्रम बढेको जानकारी पनि उनिहरुले दिएका छन् ।
यस दिन ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ५५ प्रतिशत बढेको छ । १३ दशमलव ५१ अंकले बढेर यो दिन सेन्सेटिभ इन्डेक्स ५४३ दशमलव १६ विन्दुमा पुगेको छ । पछिल्लो समय रू. ५ अर्बभन्दा मुनि खुम्चिएको शेयर कारोबार रकम पनि आइतवार बढेको छ ।
यो दिन रू. ८ अर्ब ६ करोड १३ लाख ८२ हजार बराबरको शेयर कारोबार भएको छ । यस दिन २२५ कम्पनीहरुको ८२ हजार ४९ पटकको व्यापारमा उक्त रकम बराबरको ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता शेयर कारोबार भएको हो ।
कुल कारोबारमा यो दिन सर्वाधिक हिस्सा एनआईसी एशिया बैंकले ओगटेको छ । उक्त कम्पनीको रू. ३९ करोड ९६ लाख ११ हजार बराबरको शेयर कारोबार भएको हो ।
सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य पनि यस दिन ४ दशमलव १० प्रतिशत अथाृत प्रतिकित्ता रू. ३८ ले बढेर अन्तिम मूल्य रू. ९६४ पुगेको छ ।
यस दिन गोर्खाज फाइनान्स , श्री इन्भेष्टमेण्ट फाइनान्स र आईसीएफसी फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने अन्य २१ ऋोटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
गोर्खाज फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. १०३ ले बढेर अन्तिम मूल्य रू. १ हजार १३३ , श्री इन्भेष्ण्टमेण्ट फाइनान्सको प्रतिकित्ता रू. ४१ ले बढेर अन्तिम मूल्य रू. ४५१ र आईसीएफसी फाइनान्सको प्रतिकित्ता रू. ५३ ले बढेर अन्तिम मूल्य रू. ५८३ पुगेको हो ।
दोहोरो उच्च अंकले बढेको बजारमा कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य सर्वाधिक ३ दशमलव ७५ प्रतिशत घटेको छ । प्रतिकित्ता रू. ३० ले घटेर उक्त कम्पनीको अन्तिम मूल्य रू. ७७० कायम भएको छ ।
यस दिन वित्त र विकास बैंकका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । कारोबारमा आएका सबै समूहगत परिसूचकहरु बढेको यस दिन वित्तको सर्वाधिक ८ दशमलव ३९ प्रतिशत र विकास बैंकको ८ दशमलव २४ प्रतिशतले बढेको हो ।