करम पूर्वसन्ध्या कार्यक्रम सम्पन्न

इनरुवामा पाँचौँ करम पूर्वसन्ध्या तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। यहाँ बसोबास गर्ने उराँव समुदायले आफ्नो महान् पर्व करम पूजाको अवसरमा पूर्वसन्ध्या तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो। नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाको आयोजनामा करम पूर्वसन्ध्या कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिनुभयो। भाद्र पूर्णिमाको दिन करम पूजा मनाइने भएकाले त्यस अघि नै जमरा राखेको र सोही जमरा लगाएर करम पूजासहित सांस्कृतिक कार्यक्रम गरेको जनाएको छ । करम पूजा मनाउनलाई एक हप्ता अगाडि बाजा–गाजासहित स्थानीय नदीबाट जमरा राख्न बालुवा ल्याएर जमरा राखिएको र शनिबार जमरा लगाएर पूजासँगै पाँचौँ करम पूर्वसन्ध्या तथा सांस्कृतिक कार्यक्रम गरेको उराँवले जानकारी दिनुभयो। कार्यक्रमको उद्घाटन गर्दै सङ्घीय सांसद सीताराम मेहताले उराँव प्रतिष्ठान निर्माणमा आधा करोड बजेटदेखि प्रत्येक वर्ष करम पूजामा समेत आफू र आफ्नो पार्टीले सहयोग गर्दै आएको बताउनुभयो।