छ्याङ्दी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकले पाए हकप्रद निष्कासन गर्न अनुमति

पुस १, काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई  ओटा अलग - अलग कम्पनीलाई हकप्रद निष्कासन गर्न अनुमति दिएको छ।  धितोपत्र बोर्डले बिहीवार छ्याङ्दी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकलाई हकप्रद निष्कासन गर्न अनुमति दिएको हो।  अनुमति पाएसँगै छ्याङ्दी हाइड्रोपावरले १० : ३ को अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको हकप्रद जारी गर्नेछ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयरधनीहरुका लागि निष्कासन गर्नेछ।  कम्पनीको हकप्रद निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकले १ः१ दशमलव ५ अनुपातमा ३० करोड रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न अनुमति पाएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता हकप्रद जारी गर्नेछ। कम्पनीको हकप्रद निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।  

सम्बन्धित सामग्री

मात्र दुई ओटा कम्पनी हकप्रद निष्कासन स्वीकृतिको पर्खाइमा !

माघ २४, काठमाडौं । नेपाल धितोपत्र बोर्डमा हाल दुई ओटा कम्पनीहरु मात्र हकप्रद शेयर निष्कासनको स्वीकृतिको पर्खाइमा रहेका छन् ।  अपि पावर र नेपाल फाइनान्स लिमिटेड हकप्रद शेयर निष्कासनको स्वीकृतिको पर्खाइमा रहेका हुन् । अपि पावरले २०७८ साल असोज २५ गते र नेपाल फाइनान्सले २०७८ साल कात्तिक १ गते बोर्डमा हकप्रद शेयर निष्कासनको लागि निवेदन दिएका थिए ।  आयोजना निर्माणको लागि आवश्यक रकम जुटाउन अपि पावरले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरेको हो । अपिले १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।  कम्पनीले यस वर्ष वितरण गर्ने निर्णय गरेको १० दशमलव ५० प्रतिशत बोनस शेयरपश्चात कायम चुक्तापूँजीको आधारमा उक्त हकप्रद शेयर निष्कासन गर्न लागेको हो । विद्युत् नियमन आयोगले कम्पनीको बोनस पश्चात कायम चुक्तापूँजी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजारको आधारमा हकप्रद शेयर निष्कासनका लागि पूर्व स्वीकृति दिएको हो ।  अपि पावरले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रदको सहारा लिएको हो ।  त्यस्तै, नेपाल फाइनान्सले १ बराबर शून्य दशमलव ७० को अनुपातमा ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरेको छ । नेपाल फाइनान्सले यसअघि १ बराबर १ दशमलव ७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्त गरे पश्चात कायम भएको चुक्तापूँजी रू. ८३ करोड ८९ लाख ४३ हजारको आधारमा कम्पनीले १ बराबर शून्य दशमलव ७० को अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो । बोर्डको वेवसाइटलाई आधार मान्दा यी दुवै कम्पनीको हकप्रद शेयर स्वीकृतिको अन्तिम चरणमा रहेको देखिन्छ । यतिबेला बीमा कम्पनीहरुको पूँजी वृद्धि र जलविद्युत् कम्पनीहरुले ऋण तिर्नकै लागि हकप्रद शेयर निष्कासन गर्न पाउने भएपनि निवेदन प्रकृयामा मात्र दुई कम्पनी बाँकी रहेका छन् ।  यस वर्ष धेरै जसो जलविद्युत् कम्पनीहरुले वार्षिक साधारण सभामार्फत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेकाले आगामी दिनमा बोर्डमा हकप्रदको निवेदन बढ्ने सम्भावना देखिन्छ । हाल प्राथमिक बजारमा भने दुई कम्पनीको हकप्रद शेयर निष्कासनमा रहेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयर प्राथमिक बजारमा सार्वजनिक निष्कासनमा रहेको हो ।  कर्पोरेट डेभलपमेन्ट बैंकले माघ ७ गतेदेखि माघ २७ गतेसम्मका लागि शतप्रतिशत हकप्रद शेयर विक्री खुला गरेको हो । त्यस्तै छ्याङ्दी हाइड्रोपावर लिमिटेडले माघ ११ गतेदेखि फागुन २ गतेसम्मका लागि ३० प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको हो ।