कात्तिक ८, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमवार कुमारी बैंक र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।
नेप्सेले कुमारी बैंकको ६ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. २६४ तोकेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् आइतवार कायम अन्तिम शेयरमूल्य रू. २८० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।
कुमारी बैंकले यस वर्ष गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको ६ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनका लागि २ दशमलव ६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १६ गते आफ्नै कार्यालय नक्सालमा २१औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११:३० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
त्यस्तै, नेप्सेले गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको १६ दशमलव ९०६४ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार ३४८ तोकेको छ । कम्पनीको आइतवार रू. १ हजार ५७६ मा अन्तिम कारोबार भएको थियो ।
गुराँस लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई १६ दशमलव ९० प्रतिशत बोनस शेयर र शून्य दशमलव ८८९४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने भएको छ ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी कात्तिक २२ गते साधारण सभा आयोजना गरेको छ । कम्पनीले सभा न्यू अञ्जली होटल धनकुटा नगरपालिका ७ मा बिहान ११ बोलाएको छ ।
दुवै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ सोमवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।