म्याग्दीको तातोपानी कुण्डमा दैनिक तीन सयभन्दा बढी बिरामीको उपचार

म्याग्दी ।  प्राकृतिक चिकित्सालयको रूपमा चर्चित म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा दैनिक तीन सयभन्दा बढी बिरामीले उपचार सेवा लिइरहेका छन् । कोरोना संक्रमणको जोखिम कम भएपछि तातोपानी कुण्डमा डुबेर उपचार गराउन आउने बिरामीको संख्या बढ्न थालेको हो । कोरोनाका कारण यसअघि बन्द गरिएको तातोपानी कुण्ड संक्रमण घट्दै गएपछि फागुन पहिलो सातादेखि सर्वसाधारण तथा बिरामीका लागि पुनः खुला गरिएको थियो । कोरोना संक्रमण जोखिम कम हुँदै र जाडो पनि घट्दै गएपछि बिरामी तातोपानीमा आइरहेको तातोपानी कुण्ड व्यवस्थापन समिति अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए । उनका अनुसार अहिले कुण्डमा दैनिक महिला २ सय र पुरुष १ सय जनाले नियमित स्नान गरिरहेका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी कुण्डमा नुहाउन बिरामीलाई अनुमति दिइएको अध्यक्ष शाक्यले बताए । तातोपानी कुण्डमा नुहाउने बिरामीको संख्या अत्यधिक बढेपछि महिला र पुरुषको छुट्टाछुट्टै नुहाउने समय तालिका बनाइएको छ । हरेक दिन बिहान ६ देखि बेलुका साढे ४ बजेसम्म दुई–दुई घन्टाका दरले महिला र पुरुषले नुहाउने समय तालिका लागू गरिएको छ । मुख्य कुण्डभन्दा बाहिरका २ वटा पोखरीमा भने साँझ ५ देखि ९ बजेसम्म पनि नुहाउने व्यवस्था गरिएको छ । अहिले पुरुषको तुलनामा महिला धेरै संख्यामा आएपछि उनीहरूलाई पनि २ चरणमा नुहाउने गरी समय तालिका बनाइएको कुण्ड व्यवस्थापन समिति अध्यक्ष शाक्यले जानकारी दिए । अहिले तातोपानी कुण्डमा विदेशी नागरिकसहित म्याग्दी, बागलुङ, पर्वत, कास्की र गुल्मीबाट आएका बिरामीले दैनिकजसो स्नान गरिरहेको तातोपानी कुण्ड व्यवस्थापन समितिले बताएको छ । कुण्डमा आउने अधिकांश बिरामी एक सातासम्म तातोपानीमै बसेर नुहाउने गर्छन् । कुण्डभित्र मुख्य पोखरीमा नुहाउन प्रतिव्यक्ति ३ सय ५० रुपैयाँ टिकट व्यवस्था गरिएको छ भने कुण्ड बाहिरको पोखरीमा नुहाउन प्रतिव्यक्ति १ सय रुपैयाँको टिकट लिनुपर्छ । एक पटक टिकट लिएपछि कुण्डभित्र ७ दिन र बाहिरको पोखरीमा २ घन्टाको समयसम्म स्नान गर्न पाइन्छ । जमिनमुनिबाट ४८ डिग्री सेन्टिग्रेटको तापक्रममा वीरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिक एसिड, हाडजोर्नी दुख्ने, हड्डीको दुखाइ, सड्किएको, मर्किएको, चिसोबाट उत्पन्न सबै खाले रोग निको हुने जनविश्वास रहिआएको छ । तातोपानी कुण्डमा मुख्य पोखरीसहित बाहिरका दुई वटा पोखरी, तीन वटा बाथटप र धारामा नुहाउन पाइन्छ ।