जेठ २५ , काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर कारोबारमा जोखिम बहन गर्न सक्ने क्षमतालाई ध्यानमा राखी सजग भएर लगानी गर्न पुनः आग्रह गरेको छ ।
यसअघि पनि बारम्बार सजग गराउँदै आएको बोर्डले मंगलवार पुनः सुचना जारी गर्दै यस्तो आग्रह गरेको हो । बजारको सिद्धान्त अनुसार बजार घटबढ हुने हुदाँ लगानीसँगै जोखिम पनि हुन्छ भन्ने कुरालाई पनि ख्याल गर्न बोर्डले भनेको छ ।
हाल धितोपत्र दोस्रो बजारको कारोबार ९० प्रतिशत कारोबार अनलाईन मार्फत हुँदै आएकोमा अध्ययन र अनुसन्धानपछि मात्र लगानी गर्न बोर्डले भनेको हो । लगानी गर्दा सम्वन्धित क्षेत्र, उद्योग तथा कम्पनीहरुको हरेक पक्षको जानकारी लिनुका साथै धितोपत्र बजारको अवस्थाको अध्ययन गरेर लहैलहैमा नलागी लगानीको निर्णय लिन बोर्डले अनुरोध गरेको हो ।
पछिल्लो समय धितोपत्रको दोश्रो बजारमा कारोबार वृद्धिसँगै शेयर कर्नरिङ्ग, सर्कुलर ट्रेडिङ्ग भएका गुनासाहरु पनि प्राप्त भएकाले यस विषयमा बोर्डले अध्ययन शुरु गरेको पनि बताएको छ।
यस्तो अध्ययन सम्पन्न हुन केही समय लाग्न हुदाँ उपयुक्त परिप्रेक्ष्यमा धितोपत्र सम्बन्धी ऐन, २०६३ ले बर्जित गरेका क्रियाकलापमा संलग्न नहुन सबैलाई सजग गराएको हो ।
देशको विद्यमान आर्थिक परिदृष्य, सूचीकृत संगठित संस्थाहरूको वित्तीय कार्य सम्पादनको आधारभूत विश्लेषण (प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ, मूल्य आम्दानी अनुपात, कितावी मूल्यमा बजार मूल्यको अनुपात आदिको विश्लेषण), परिसूचक तथा कम्पनीको बजार मूल्यसम्बन्धी प्राविधिक विश्लेषण, संस्थागत सुशासनको अवस्था समेतलाई मूल्यांकन गरी लगानी गर्न बोर्डले सुझाब दिएको हो ।
शेयर बजार बढेको अवस्थामा लगानीकर्ताहरुको जोखिमको स्तर पनि बढ्दै जाने हुँदा यस विषयमा लगानीकर्ताहरु चनाखो हुन जरुरी हुन्छ बोर्डले भनेको छ । बजारको विकासको अवस्थालाई हेर्दा विभिन्न समयमा घटबढ देखिसकिएकोले सजग भई सुझबुझपूर्ण रूपमा लगानीसम्बन्धी निर्णय लिन लगानीकर्ताहरुलाई बोर्डले पुनः अनुरोध गरेको छ ।