पुस मसान्तसम्ममा नबिल इक्विटी फण्ड रू. १ करोड ९६ लाख नोक्सानीमा

माघ १४, काठमाडौं । नबिल म्युुचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्विटी फण्डले पुस मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार फण्डले रू. १ करोड ९६ लाख नोक्सानीमा रहेको हो । मंसिर मसान्तसम्ममा पनि फण्डले रू. २५ करोड ५६ लाख नोक्सानीमा थियो । यस आधारमा मंसिर मसान्तको तुलनामा फण्डको नोक्सानी केही घटेको देखिन्छ ।  त्यसैगरी, फण्डको एनएभी भने मंसिर मसान्तको तुलनामा पुस मसान्तमा वृद्धि भएको छ । मंसिर मसान्तसम्ममा फण्डको एनएभी रू. ११ दशमलव ९३ रहेकोमा पुस मसान्तसम्ममा वृद्धि भएर रू.१३ दशमलव ८२ पुगेको हो । त्यसैगरी पुस मसान्तसम्ममा सूचीकृत शेयरमा लगानी रू. १ अर्ब ३३ करोड भन्दा बढी गरेको छ ।  यो लगानी मंसिर मसान्तको तुलनामा २० प्रतिशतले वृद्धि भएको हो । फण्डले मंसिर मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १ अर्ब १० करोड गरेको थियो ।  पुस मसान्तसम्ममा फण्डले लगानी गरेका कम्पनीहरुकोे शेयर मूल्यमा वृद्धि भएसँगै सूचीकृत शेयरमा लगानी बढेको हो ।

सम्बन्धित सामग्री

सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित तीन ओटै फण्डको न्याभ घट्यो

काठमाडौं । सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित तीन ओटा फण्ड (योजना) ले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । सनराइज ब्लूचिप फण्ड, सनराइज फोकस्ड इक्विटी फण्ड र सनराइज  फस्र्ट म्युचुअल फण्डले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका हुन् । यी तीन ओटै फण्डको न्याभ चैत महीनाको तुलनामा वैशाख महीनामा घटेको छ ।  सनराइज ब्लूचिप फण्डको न्याभ चैत मसान्तसम्म ९ रुपैयाँ १७ पैसा रहेकोमा वैशाख मसान्तमा ८ रुपैयाँ ९५ पैसा कायम भएको छ । त्यस्तै सनराइज फोकस्ड इक्विटी फण्डको न्याभ वैशाख मसान्तसम्म ९ रुपैयाँ ८८ पैसा रहेको छ । यस फण्डको न्याभ चैत मसान्तसम्म ९ रुपैयाँ  ९७ पैसा थियो ।  सनराइज फर्स्ट म्युचुअल फण्डको न्याभ चैत मसान्तमा १२ रुपैयाँ ४ पैसा रहेकोमा वैशाख मसान्तमा ११ रुपैयाँ ७७ पैसामा झरेको छ । न्याभसँगै यस फण्डको नाफा पनि घटेको छ । चैत मसान्तसम्म फण्डले रू. ३ करोड ९७ लाख नाफा कमाएकोमा वैशाख मसान्तसम्म रू. १ करोड ६२ लाखमा झरेको हो । वैशाख महीनामा फण्डको आम्दानी घटेसँगै नाफा घटेको हो । चैत मसान्तसम्म फण्डको जम्मा आम्दानी रू. ५ करोड ४१ लाख भएकोमा वैशाख मसान्तमा रू. ३ करोड २३ लाखमा झरेको छ ।  सनराइज फोकस्ड इक्विटी फण्ड भने वैशाख मसान्तसम्म रू. १ करोड २५ लाख नोक्सानीमा रहेको छ । चैत मसान्तमा पनि फण्ड रू. २५ लाख ५६ हजार नोक्सानीमा थियो । यस आधारमा फण्डको नोक्सानी बढेको छ । वैशाख महीनामा फण्डको खर्चमा वृद्धि भएका कारण जम्मा आम्दानी रू. १७ लाख २२ हजार ऋणात्मक रहेकाले नोक्सानी बढेको हो । सो अवधिमा फण्डले सूचीकृत धितोपत्रमा रू. १७ करोड ८९ लाख लगानी गरेको छ ।  सनराइज ब्लूचिप फण्डले वैशाख मसान्तसम्म सूचीकृत शेयरमा रू. ७० करोड ८८ लाख लगानी गरेको छ । यो लगानी चैत मसान्तसम्म रू. ६९ करोड ६५ लाख थियो । यस आधारमा फण्डले सूचीकृत शेयरमा लगानी बढाएको छ । वैशाख मसान्तसम्म फण्डले रू. १ करोड ५७ लाख नाफा कमाएको छ । यो नाफा चैत मसान्तसम्म रू. ४ करोड २८ लाख थियो । वैशाख महीनामा फण्डको आम्दानी घटेसँगै नाफा घटेको हो ।  सनराइज फस्र्ट म्युचुअल फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्  सनराइज ब्लूचिप  फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्  सनराइज फोकस्ड इक्विटी फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

म्युचुअल फण्डको आईपीओ खरीदमा किन छैन सर्वसाधारण लगानीकर्ताको आकर्षण ?

काठमाडौं । पछिल्लो समय सर्वसाधारणमा साधारण शेयर जारी गर्ने कम्पनीको लर्को नै रहेको छ । जस्तोसुकै कम्पनीले सर्वसाधारणमा साधारण शेयर जारी गर्दा  पनि पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्ने गरेको अवस्थामा सामूहिक लगानी कोषका इकाई खरीदमा भने त्यो अवस्था देखिँदैन । हाल साधारण शेयरभन्दा बाहेक सनराइज फोकस्ड इक्विटी फण्ड सञ्चालनका लागि १२ करोड इकाई विक्री खुला रहेको छ । सामान्यतया कम्पनीहरूले आईपीओ विक्रीको लागि छिटो अवधि चार दिनको समय राखेर तय गर्ने गर्दछन् । कम्पनीहरूको शेयर खरीदमा भने सर्वसाधारणका लागि चार दिनको छिटो अवधि पर्याप्त नै रहेको देखिन्छ । किनकि सर्वसाधारणमा शेयर जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्ने गरेको छ । तर, सनराइज क्यापिटलले सञ्चालन गर्न लागेको सनराइज फोकस्ड इक्विटी फण्डको इकाई भने छिटो अवधिभित्र विक्री नभएपछि ढिलो अवधिसम्मको मिति तोकिएको छ । सनराइज क्यापिटल लिमिटेडले माघ १० गतेदेखि प्रतिइकाई रू. १० अंकित दरको १२ करोड इकाई विक्री गरिरहेको छ । कुल इकाईमध्ये १ करोड ८० लाख इकाई कोष प्रवद्र्धक सनराइज बैंक लिमिटेडलाई सुरक्षित राखी १० करोड २० लाख इकाई सार्वजनिक निष्कासनमा ल्याएको हो । क्यापिटलले इकाई विक्रीको छिटो अवधि माघ १३ गतेसम्म तोकेको थियो । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेपछि ढिलो अवधि माघ २४ गतेसम्मको मिति तय गरिएको छ ।  १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको कुल आकार रू. १ अर्ब २० करोडको रहेको छ । यस योजनाको विक्री हुनुपर्ने न्यूनतम इकाई ६ करोड रहेको छ । योजनाको इकाई विक्री खुला भएको माघ १५ गते ६ दिन बितेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारीअनुसार माघ १५ गतेसम्म यस योजनाको १ करोड ४१ लाख ३७ हजार ९७० इकाई मात्र विक्री भएको छ । १९ हजार ७८३ जना आवेदकले उल्लिखित इकाई खरीदका लागि आवेदन दिएका हुन् । आवेदनको तथ्यांक हेर्दा हालसम्म योजनाको ११ दशमलव ७८ प्रतिशत इकाई मात्र विक्री भएको छ । प्राथमिक बजारमै सर्वसाधारणका लागि माघ १२ गतेदेखि माया खोला हाइड्रोपावरले साधारण शेयर जारी गरेको छ । पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेको यस कम्पनीको साधारण शेयर खरीदका लागि माघ १५ गतेसम्म भने ८ लाख ७ हजार ६९३ जनाले आवेदन दिएका छन् । १९ लाख ९२ हजार कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिएको हो । माघ १५ गतेसम्मको तथ्यांकअनुसार ८ लाखभन्दा बढी आवेदकले ९३ लाख १८ हजार २० कित्ता शेयर खरीद माग गरेका छन् । प्राथमिक बजारमै आईपीओ शीर्षकमा सार्वजनिक भएको कम्पनीको शेयर र सामूहिक लगानी कोषको इकाई खरीदमा परेको आवेदनको तथ्यांकमा आकाश–जमीनकै फरक छ । लाखौंको संख्यामा रहेका प्राथमिक बजारका लगानीकर्ता म्युचुअल फण्डको इकाई खरीदमा भने हजारौं मात्र सहभागी भएको देखिन्छ । सामूहिक लगानीकोषको इकाईका बारेमा कम बुझाइ  धितोपत्र बजारका लगानीकर्ताको तथ्यांक हितग्राही खाताकै आधारमा हेर्दा ५५ लाखभन्दा बढी पुगिसकेको छ । प्राथमिक बजारमा निष्कासनमा आएका शेयर खरीदका लागि हालसम्मको तथ्यांक हेर्दा २७ लाखभन्दा बढीको आवेदन परेको देखिन्छ । धितोपत्र दोस्रो बजारमा भने १४ लाखभन्दा बढी लगानीकर्ता मात्र सहभागी भएका छन् । यी लगानीकर्तामा जति साधारण शेयरको बारेमा बुझाइ छ त्यति सामूहिक लगानी कोषको बारेमा नभएको जानकार लगानीकर्ता बताउँछन् । लगानीकर्ता नयन बाँस्तोलाले नियामक निकाय र योजना सञ्चालक कम्पनीले अभियान नै चलाएर सामूहिक लगानी कोषको बारेमा जानकारी दिन आवश्यक रहेको बताए । शुरूका दिनमा जति सामूहिक लगानी कोषका इकाईमा लगानीकर्ताको आकर्षण थियो पछिल्लो समय घटेको उनले स्वीकार गरे । यसको प्रमुख कारण प्रतिफलसँग जोडिएको उनी बताउँछन् । सर्वसाधारण लगानीकर्ताको पूँजी जुटाएर उनीहरूलाई उचित प्रतिफल दिन सक्ने गरी सामूहिक लगानी कोषहरू अघि नबढेका कारण पनि अनुभवी लगानीकर्ता पछि हटेको उनको भनाइ छ । एउटा सामान्य लगानीकर्ताले बजारबाट दुई गुणा नाफा कमाउन सकेको अवस्थामा सामूहिक लगानी कोषहरूले चार गुणा नाफा कमाउन सक्ने क्षमता राख्नुपर्ने बाँस्तोलाको भनाइ छ । यसर्थ नियामक निकायले सामूहिक लगानीकोषहरूको संस्थागत, आर्थिक र सामाजीक सुशासनलाई ध्यानमा राखी उनीहरूको लगानीको दायरालाई फराकिलो बनाएर लैजानुपर्ने सुझावसमेत लगानीकर्ता बाँस्तोलाले दिएका छन् ।

कार्तिक १६ बाट नयाँ म्युचुअल फण्डको इकाई निष्काशन गर्दै सानिमा क्यापिटल

सानिमा क्यापिटलले कार्तिक १६ गतेबाट सानिमा गर्थ फण्ड नामक सामुहिक लगानी कोष योजनाको इकाईहरु निष्काशन गर्ने भएको छ । क्यापिटलले सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सानिमा ग्रोथ फण्ड नामाक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गर्न लागेको हो । यस योजनाको आकार १ अर्ब २० करोड रहेको छ ।  क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले फण्डको १२ करोड इकाई निष्काशन गर्न लागेको हो ।  जस मध्ये १ करोड ५६ लाख इकाई कोष प्रबर्दक सानिमा बैंकलाई छुट्याईएको छ । त्यस्तै २४ लाख इकाई सानिमा क्यापिटललाई छुट्याईएको छ ।  बाँकि रहेको १० करोड २० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको १ करोड २० लाख कित्ताको लागि दिन सकिने छ ।  छिटोमा कार्तिक २० गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा कार्तिक ३० गतेसम्ममा आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । यस म्युचुअल फण्डको अवाह्दी ११ वर्ष रहेको छ ।  सानिमा क्यापिटलले हाल सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्ड संचालन गरिरहेको छ ।