सुदूरपश्चिम पर्यटनका चुनौती र समाधान

नेपालको सुदूरपश्चिम भूगोल अपार प्राकृतिक सुन्दरतासँगै भाषिक, सामाजिक, सांस्कृतिक, जैविक एवं भौगोलिक विविधताले सजिएको क्षेत्र हो । सामुद्रिक सतहबाट छोटो उचाइमा समेत वर्षका ६/८ महीनासम्म सेताम्य हिउँको आनन्द लिन सकिने अद्भुत विशेषता यहाँ पाइन्छ । यहाँका अपि, व्यास र साइपाल हिमाल, त्रिवेणी र शोेतापाटन, रामारोशनलगायत स्थल साहसिक पर्यटनमा अन्नपूर्ण, मनासलु र गौरीशंकरपछिकै उत्कृष्ट गन्तव्य मानिन्छन् ।  सुदूरको चर्चित खप्तड र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा अपि नाम्पा संरक्षित क्षेत्र विश्वमै दुर्लभ मानिँदै गएका विभिन्न प्रजातिका वनस्पति, वन्यजन्तु र चराचुरुङ्गी पाइने स्थल हुन् । तालतलैया, पाटन, खोच, गुफासँगै यस क्षेत्रमा जडीबुटी यार्सासमेत पाइन्छ । यस क्षेत्रका बडिमालिका, त्रिपुरासुन्दरी, बैजनाथधाम, सुरमादेवी, शैलेश्वरी, मालिकार्जुन, उग्रतारा, बेहेडाबाबा निकै चर्चित धार्मिक स्थल हुन् । यसै क्षेत्रका देउडा नाच र गौरापर्वले प्रदेशलाई दूरदराजसम्म चिनाएको छ । सुदूरपश्चिम प्रदेश करीब ८ लाख मानिसले बोल्ने इन्डो आर्यन अर्थात् डोटेली भाषाको केन्द्रसमेत हो । धार्मिक तथा सांस्कृतिक पर्यटनका अतिरिक्त यो प्रदेश एग्रो टुरिजम, रिक्रिएशन टुरिजम, एजुकेशनल टुरजिम, भ्याकेशन टुरिजम, वेलनेस तथा हेल्थ टुरिजम, एमआईसीई र प्रेस्टिज टुरिजम आदिका लागि पनि अपार सम्भाव्यता बोेकेको क्षेत्र हो ।  सुदूरपश्चिम पर्यटनका चुनौती  सुदूरपश्चिम पर्यटनको पहिलो चुनौती सडक एवं यातायात सञ्जाल हो । प्रदेशका कैयन् गन्तव्यको यात्रा सडक एवं बाटाघाटोको अभावमा निकै कष्टकर तथा पहँुच बाहिर रहेको छ । पर्यटकमैत्री पूर्वाधारहरूको कमी दोस्रो चुनौती हो । यहाँका चर्चित पर्यटकीय गन्तव्य बडिमालिका, रामारोशन, सुरमा सरोवर, शोतापाटन, त्रिवेणी पाटन, बूढीनन्दालगायत स्थलमा पूर्वाधारहरूको निकै कमी रहेको छ । यस कारण पर्यटक भेडीगोठ (खर्क) मा बस्न बाध्य छन् । युवाशक्तिको भारत पलायन यहाँको तेस्रो चुनौती हो । स्थानीय स्तरमा पर्यटनको महत्त्व र यससँग जोडिएका कैयन् रोजगारी एवं अर्थोपार्जनका सम्भावनाका बारेमा जानकारी नहुँदा रोजागारीका लागि अधिकांश युवा भारत जाने गरेका छन् जसले गर्दा स्थानीय स्तरमा पर्यटनका लागि जनशक्तिको निकै अभाव रहेको छ । भएकाहरू पनि दक्ष एवं अनुभवी छैनन् । चौथो चुनौती अध्ययनविनाको पूर्वाधार विकास हो । बढ्दो पर्यटकीय चहलपहलसँगै स्थानीय सरकारद्वारा सरोकारवालाहरूसँग यथेष्ट छलफल नै नगरी समग्र वातावरणीय प्रभावको अध्ययनविना गर्न थालिएको पूर्वाधार विकास यहाँको पर्यटनको अर्को पेचिलो चुनौती हो । यस्ता गतिविधिले सदियौंदेखि जोगिँदै आएको सुदूरको धार्मिक, प्राकृतिक एवं सामाजिक विरासत तहसनहस हुनसक्ने खतरा बढ्दै गएको देखिन्छ ।  समाधान एवं प्रवर्द्धनका उयाय  सुदूरको सुन्दरता अवलोकनका लागि सर्वप्रथम विद्यमान सडक सञ्जालको स्तरोन्नतिसँगै नयाँ गन्तव्यहरूमा सडक तथा हवाई सञ्जाल बढाउनुपर्ने देखिन्छ । पदयात्रामार्ग लगायतमा पर्यटनमैत्री पूर्वाधार विकाससँगै होमस्टे, खर्कस्टे आदिलाई थप व्यवस्थित तुल्याउँदै लैजानुपर्छ । मोयाना डाँड, खसीलेडा, चुली, खानीडाँडा आदिलाई हिल स्टेशनको अवधारणामा लग्नुका साथै स्थानीय स्तरमै पर्यटन सचेतनामूलक कार्यक्रमको विकास गर्दै युवालाई पर्यटन उद्योगप्रति रुचि जगाउन सक्नुपर्छ । प्रचारप्रसारका लागि स्थान विशेषका डकुमेन्ट्रीको तैयारीसँगै बृहत् छलफल, अन्तरक्रिया एवं गोष्ठी आदिको आयोजना गरिनुपर्छ । अध्ययन, अनुसन्धान र नवप्रवर्तनका लागि स्थानीय तथा प्रादेशिक सरकारले बजेट विनियोजन गरी अनुसन्धानको दायरालाई थप फराकिलो पार्नुपर्छ । प्रदेशसँग सीमा जोडिएका लुम्बिनी र कर्णाली प्रदेशका पर्यटन सरोकारवालाहरूसँग समन्वय गरी त्यहाँ आउने पर्यटकलाई सुदूर भ्रमणमा लैजाने खालका विविध टुर प्याकेजको व्यवस्था गर्नुपर्छ । सुदूर पर्यटनको जानकारी गराउन पहिलो ५ वर्षसम्म यहाँका हरेक चर्चित गन्तव्य लक्षित गरी वार्षिक रूपमा पर्यटन महोत्सव एवं मेलाको आयोजना गरिरहनुपर्छ । संघीय तथा प्रादेशिक सरकारले विकास साझेदारसँगको सहकार्यमा विकास आयोजना तथा क्षमता तथा व्यावसायिकता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्छ । अन्तरप्रदेश समन्वय गर्दै उच्च तहको भ्रमण एवं बैठकको परिपाटीको शुरुआत गर्नुपर्छ । नेपालस्थित दूतावास तथा विदेशी नियोगका पदाधिकारीहरूलाई सद्भावना भ्रमणका लागि आमन्त्रित गर्ने अभ्यासको थालनी गर्नुपर्छ । नेपाल टुरिजम बोर्ड, नाट्टा, हान, टान, सोटो, नाथम, एनएमएजस्ता संस्थासँगको सहकार्यमा राजधानी भित्रने पर्यटकलाई विकेन्द्रित गर्ने खालका रणनीतिहरू तर्जुमा गर्नुपर्छ । सुदूर पर्यटनका जानकारीमूलक डिस्प्लेहरूको व्यवस्थासँगै स्कूल टुरिजम क्लब तथा अलग्गै पर्यटन पाठ्यक्रम अवधारणाको विकास गर्नुपर्छ । नेपाल टेलिकम तथा एलसेलसँगको सहकार्यमा सुदूर पर्यटन जिंगलको विकास गरी कुनै पर्व, जात्रा एवं महत्त्वपूर्ण दिनलाई लक्षित गरी रिङटोनका रूपमा जिंगल बजाउन सकिन्छ । पर्यटन क्षेत्रप्रति रुचि राख्दै नि:स्वार्थ यस क्षेत्रमा होमिएका युवा पर्यटन अभियन्ताहरूलाई राज्यले पुरस्कृत गर्दै ब्लग, भ्लग, डकुमेन्ट्री निर्माण तथा टुरिजम फोटोग्राफीप्रति उत्पे्ररित गर्नुपर्छ । सरकारले निजीक्षेत्रसँगको सहकार्यमा प्रवर्द्धनका विविध कार्यक्रम थाल्नुपर्छ । कृषि पर्यटनलाई जोड्न कृषि मन्त्रालयसँगको सहकार्यमा दिगो पर्यटन क्रियाकलापहरूको विकास गर्नुपर्छ । स्थानीय स्तरमा रोजगारी सृजनामा जोड दिनुपर्छ । प्रदेशसँग सीमा जोडिएका भारत र चीनका पर्यटक भित्त्याउन आवश्यक पहलकदमी गर्दै त्यसअनुसारका रणनीति तर्जुमा गर्नुपर्छ । प्रदेशले तैयार पारेको गुरुयोजनाअनुसारका कार्यको अविलम्ब थालनी गर्नुपर्छ । यसो गर्न सकेमा बहुआयामिक सुदूरपश्चिम प्रदेशको पर्यटन नेपालको समग्र विकासमा एउटा दरिलो कोसेढुंगा सावित हुनसक्ने देखिन्छ । सुदूरको पर्यटन राज्यको मात्र कार्यक्षेत्र होइन । यो त सरकार, निजीक्षेत्रलगायत तपाईं हामी सबैको उत्तरदायित्व हो । त्यसैले हामी सबै आआफ्ना तहबाट सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा जुटौं ।  लेखक ग्लोबल ट्राभल्स एन्ड टुरिजम पार्टनरसीपका नेपाल निर्देशक हुन् । 

सम्बन्धित सामग्री