घोराहीमा फोहोरबाट दैनिक ३०० घनमिटर ग्यास उत्पादन हुँदै, वैशाखसम्म घरघरमा पुर्‍याउने योजना

फागुन ९, दाङ । दाङको घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा फोहोरबाट ग्यास उत्पादन गर्न सुरुआत गरिएको छ । नेपाल ऊर्जा विकास कम्पनी प्रालिद्वारा सञ्चालित सो प्लान्टबाट अहिले दैनिक ३०० घनमिटर ग्यास उत्पादन हुने गरेको छ ।  प्लान्ट व्यवस्थापक हरिशरण श्रेष्ठले भने, ‘अहिले फोहोर कम राखिएको छ । यसले गर्दा ग्यास उत्पादन कम भएको हो । केही समयपछि फोहर धेरै राखेर उत्पादनलाई वृद्धि गरिने छ ।’ प्वान्टमा उपमहानगरपालिकाबाट उठ्ने फोहर मात्र प्रयोग गरिएको छ ।  उनका अनुसार उत्पादन भएको ग्यास पाइपलाइनमार्फत घरघरसम्म पुर्‍याउने योजना छ । यसका लागि पाइप विस्तारको काम शुरु गरिने जानकारी दिइएको छ । उनले भने, ‘हामीलाई आवश्यक पर्ने एनडिपी पाइप हो, यो अर्डर दिएपछि मात्र निर्माण गरिने भएकाले ढिला भएको हो ।’  पाइपमार्फत ग्यास प्रयोग गरेबापत उपभोक्ताले मिटरअनुसार रकम तिर्नु पर्नेछ । कोरोना संक्रमणका कारण निर्माण कार्य केही ढिला भएको जनाइएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल ऊर्जा विकास कम्पनी प्रालि र उपमहानगरपालिका बीचको त्रिपक्षीय सहकार्यमा फोहरबाट ग्यास उत्पादन गर्न थालिएको व्यवस्थापक श्रेष्ठले बताए । पहिलो चरणमा ४५० घरधुरीमा पुर्‍याउने उद्देश्यले सर्भे गरिएको छ । पछि विस्तार गरिने भएको छ । उत्पादन गरिएको ग्यास वरिपरिका स्थानीयलाई परीक्षण गरिने छ । सफल भएमा उपमहानगरभित्रका सहरमा विस्तार गरिनेछ ।  त्रिपक्षीय सम्झौता २०७५ मंसिर ५ गते भएको थियो । ग्यास उत्पादन गर्नका लागि पहिले करीब रू. २० करोड लगानी लाग्ने भनिएको थियो तर पाइपमार्फत घरघरसम्म ग्यास पु¥याउनु पर्ने भएपछि करीब रू. २२ करोड लाग्ने उनले जानकारी दिए । यो रकम घरघरसम्म ग्यास पाइपमार्फत पुर्‍याउदा खर्च हुनेछ ।  फोहोरबाट ग्यास उत्पादनका लागि केन्द्रले ४० प्रतिशत रकम दिनेछ भने ६० प्रतिशत कम्पनी आफैँले बेहोर्ने सहमति भएको जानकारी दिइएको छ । संरचना निर्माणका लागि नगरपालिकाले करीब तीन बिघा जग्गा उपलब्ध गराएको छ । उक्त ग्यास प्लान्ट दुई हजार घनमिटरमा छ । फोहोरबाट ग्याससँगै कम्पोष्ट मलसमेत उत्पादन गरिने उनले बताए ।कम्पनी र उपमहानगरपालिकाबीच २० वर्षको सम्झौता गरिएको छ । सम्झौताअनुसार २० वर्षपछि संरचनासहित सबै पूर्वाधार घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गरिने भएको छ । २० वर्षसम्मका लागि कम्पनीले नगरपालिकालाई पाँच प्रतिशत रकम दिने सहमति भएको छ ।  उपमहानगरप्रमुख नरुलाल चौधरीले भने, ‘नगरपालिका र कम्पनीबीच २० वर्षको सम्झौता भएको छ, त्यसपछि सबै नगरपालिकालाई हस्तान्तरण हुनेछ । यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने र उपमहानगरपालिकाको आम्दानीको स्रोतमा वृद्धि गर्ने लक्ष्य रहेको छ ।’ ग्याससँगै कम्पोष्ट मल उत्पादन गर्ने र फोहर व्यवस्थापनमा सहजता हुने अपेक्षा गरिएको उनले बताए ।  जिल्लामा नै फोहरबाट ग्यास उत्पादन भएपछि ग्यासको मूल्य पनि कम हुने नागरिकले अपेक्षा लिएका छन् । फोहरबाट ग्यास उत्पादन गर्न थालिएको जिल्लामा यो पहिलो हो । जिल्लामा निर्माण गर्न थालिएको यस प्रकारको कार्य अवलोकन गर्नका लागि जिल्ला तथा बाहिरी जिल्लाबाट नागरिक आउने गरेका छन् ।  फोहोरबाट ग्यास तथा कम्पोष्ट मल उत्पादन भएपछि फोहर व्यवस्थापनमा समेत सहजता आउने नगरपालिकाको अपेक्षा छ । ग्यास उत्पादन गर्न थालेपछि गलेर जाने वस्तुको सदुपयोगसमेत हुनेछ । उपनगरपालिकाले अहिले गल्ने र नगल्ने वस्तु छुट्टाछुट्टै उठाउने गरेको छ ।  नगल्ने फोहोरसमेत उपमहानगरपालिकाले किन्न थालेको छ । यसले नगर सरसफाइमा सहयोग पुग्ने अपेक्षा उपमहानगरपालिकाको छ । उपमहानगरपालिकाले घरघरबाट फोहोर खरीद गर्न थालेको छ । बोटल र गुट्खाका खोलमा पैसा आउन थालेपछि स्थानीय दङ्ग परेका छन् । उपमहानगरपालिकालाई प्लाष्टिकमुक्त बनाउने अभियानअन्तर्गत यो कार्यक्रम अघि सारिएको हो । उपमहानगरपालिकाले प्लाष्टिकको बोतलसहित नरम पोलिथिन एक किलोलाई रू. दश, कपडा प्रतिकिलो रू. पाँच, सुर्तीजन्य प्लाष्टिकको फोहोर प्रतिकिलो रू. दुई, कापीसहित वर्गीकरणअनुसारका फोहोरलाई रू. दशदेखि बीससम्ममा किलोमा खरीद गर्ने दर कायम गरिएको छ । यसरी खरीद गरिएको गल्ने फोहोरलाई बायोग्यासमा प्रयोग गरिने र नगल्ने फोहोरलाई उद्योगसँग समन्वय गरेर विक्री गरिने उपमहानगरले जानकारी दिएको छ । रासस

सम्बन्धित सामग्री

१० वर्षअघिको आर्थिक अभियानबाट : उपत्यकाको ग्यास यसै आवबाट निकालिने

खानी तथा भूगर्भ विभागले चालू आर्थिक वर्षमै सम्पन्न हुने गरी उपत्यकाका टेकु र विष्णुमती किनारका ‘ग्यास वेल’ बाट व्यावसायिक रूपमा ग्यास उत्पादन शुरू गर्ने भएको छ । यसरी निकाल्ने तयारी गरिएको ग्यास मिथेन हो । विभागको तीनकुने, कोटेश्वर, ललितपुर, इमाडोल, टीकाथलीलगायत उपत्यकाको २६ वर्ग किलोमिटर क्षेत्रमा १४ ओटा ग्यास वेल निर्माण गर्ने योजनाअन्तर्गत सो उत्पादन शुरू गर्न लागिएको विभागका महानिर्देशक सर्वजित महतोले बताए । उनले भने, ‘ग्यास वेल निर्माण गरिने क्षेत्रमा ३० करोड घनमिटर ग्यास भण्डार रहेको छ । ३ सय मिटर जमीनमुनिबाट ग्यास निकालिनेछ ।’ काठमाडौंको ग्यास भण्डारलाई विकसित गरी २० हजार परिवारलाई करीब ३० वर्षका लागि इन्धन पुग्ने विभागको अनुमान छ । प्राकृतिक मिथेन ग्यास सिलिण्डर र पाइप लाइनबाट वितरण गर्न जोखिम हुने महतो बताउँछन् । ‘त्यसैले उत्पादन गरिने ग्यास अर्को योजना नआएसम्म बिजुली उत्पादन तथा औद्योगिक प्रयोजनमा उपयोग गरिनेछ,’ उनले भने । प्राकृतिक ग्यास उत्खनन गर्न सरकारले चालू आवमा १ करोड रुपैयाँ विनियोजन गरेको छ ।  वर्ष ६, अंक २११, आइतवार, ३ वैशाख, २०६९

फोहोरजन्य वस्तुबाट तनहुँमा विद्युत् उत्पादन

वैशाख २१, तनहुँ । व्यास नगरपालिका कार्यालयले कुहिने फोहोरजन्य वस्तुबाट बायोग्यास प्लान्ट निर्माण गरी विद्युत् निकालेको छ ।  व्यास–१० मादी नदी किनारमा बायोग्यास प्लान्ट निर्माण गरेर शिशुवा गौ संरक्षण केन्द्र र भतेरी कृषि सहकारी संस्थामा विद्युत् जडान गरिएको हो ।  नगरपालिकाले फोहोरलाई मोहरमा परिवर्तन गर्दै रचनात्मक कार्यको थालनी गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । शुरुमा बायोग्यास प्लान्टबाट उत्पादित ग्यासले गौ संरक्षणमा रहेका गाईवस्तुका लागि कुडो पकाउने, खाना पकाउने, पाहुनाहरुलाई चिया, खाना बनाएर खुवाउनेलगायतका काममा प्रयोग गरिनेछ ।    बायोग्यासबाट जेनेटर जडान गरी विद्युत्मा परिणत पानी तान्ने मोटर जडान गर्ने योजना रहेको नगरपालिकाले जानकारी दिएको छ । ठूलो मात्रामा ग्यास उत्पादन गरी उपभोक्तालाई सिलिन्डरमा भरेर दिन सकिने प्रचुर सम्भावना रहेकाले नगरपालिकाले त्यसतर्फ पनि चासो देखाएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए ।  पहिलो चरणमा करीब ६० घनामिटर क्षमताको बायोग्यास प्लान्ट निर्माण गरेर ग्यास उत्पादन गरिए पनि यसलाई वृद्धि गर्दै लैजाने सकिए ग्यास उत्पादनमा सहज बनाउन सकिने उनले बताए ।  नगरपालिकाको रू. सात लाख र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रू. सात लाख गरी कुल रू. १४ लाखको लागतमा प्लान्ट निर्माण गरिएको वडाध्यक्ष सापकोटाले जानकारी दिए । पहिलो चरणमा इनारको पानी तानेर तरकारी खेती गर्दै आएका प्रभावित किसानहरुलाई प्राथमिकताका आधारमा निःशुल्क विद्युत् वितरण गर्ने योजना रहेको छ ।  उक्त क्षेत्रमा रहेको १५ ओटा इनारबाट ३० घरका परिवारले  इनारको पानी प्रयोग गरेर तरकारी खेती गर्दै आएका छन् । समुदायमा वितरण गर्दा विपन्न, गरीब, असहाय परिवारलाई प्राथमिकता दिएर निःशुल्क विद्युत् वितरण गर्ने नगरपालिकाको योजना रहेको छ ।  सोही स्थानमा रहेको गौ संरक्षण तथा प्रांगारिक मल उत्पादन केन्द्रले ५२ ओटा गाईलाई संरक्षण गर्दै आएको छ । नगरपालिकाको सक्रियतामा छाडा पशुचौपायाहरु संकलन गरी व्यवस्थित गरिएको हो ।  गाईको मल, मूत्र र कुहिने फोहोरलाई प्रयोग गरी इन्धन निकाल्ने कार्यका लागि वडाध्यक्ष सापकोटको संयोजकत्वमा नौ सदस्यीय कार्य समितिसमेत गठन गरिएको छ । त्यसैगरी भतेरी कृषि सहकारीले सोही स्थानमा नौवओटा पोखरीमा १२ हजार ५०० माछा पालनसमेत गर्दै आएको छ । विद्युत् निकालिएपछि माछा फार्म, गाई फार्मलगायतका स्थानमा समेत विद्युत् जडान गर्ने योजना रहेको वडाध्यक्ष सापकोटाले बताए ।  नगरपालिकाले दमौली क्षेत्रबाट दैनिक फोहोर संकलन गर्दा कुहिने र नकुहिने गरी छुट्टाछुट्टै संकलन गरेर विर्सजन गर्दै आएको छ । उक्त प्लान्टको केही दिनअघि मात्रै नगरप्रमुख न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलसहितको टोलीले प्लान्टको अवलोकन गरेको थियो । रासस