खानी तथा भूगर्भ विभागले चालू आर्थिक वर्षमै सम्पन्न हुने गरी उपत्यकाका टेकु र विष्णुमती किनारका ‘ग्यास वेल’ बाट व्यावसायिक रूपमा ग्यास उत्पादन शुरू गर्ने भएको छ । यसरी निकाल्ने तयारी गरिएको ग्यास मिथेन हो । विभागको तीनकुने, कोटेश्वर, ललितपुर, इमाडोल, टीकाथलीलगायत उपत्यकाको २६ वर्ग किलोमिटर क्षेत्रमा १४ ओटा ग्यास वेल निर्माण गर्ने योजनाअन्तर्गत सो उत्पादन शुरू गर्न लागिएको विभागका महानिर्देशक सर्वजित महतोले बताए । उनले भने, ‘ग्यास वेल निर्माण गरिने क्षेत्रमा ३० करोड घनमिटर ग्यास भण्डार रहेको छ । ३ सय मिटर जमीनमुनिबाट ग्यास निकालिनेछ ।’ काठमाडौंको ग्यास भण्डारलाई विकसित गरी २० हजार परिवारलाई करीब ३० वर्षका लागि इन्धन पुग्ने विभागको अनुमान छ । प्राकृतिक मिथेन ग्यास सिलिण्डर र पाइप लाइनबाट वितरण गर्न जोखिम हुने महतो बताउँछन् । ‘त्यसैले उत्पादन गरिने ग्यास अर्को योजना नआएसम्म बिजुली उत्पादन तथा औद्योगिक प्रयोजनमा उपयोग गरिनेछ,’ उनले भने । प्राकृतिक ग्यास उत्खनन गर्न सरकारले चालू आवमा १ करोड रुपैयाँ विनियोजन गरेको छ ।
वर्ष ६, अंक २११, आइतवार, ३ वैशाख, २०६९