मुलुकको समग्र आयातको व्यवस्थापनका पछाडि पाँचओटा पक्ष : १. देशको समग्र राष्ट्रिय सुरक्षाको प्रत्याभूति, २. पर्यावरण संरक्षण, ३. स्वदेशी उद्योगको संरक्षण, ४. राजस्व संकलन र ५. उपभोक्ताको हकहित प्रवर्द्धन अन्तरनिहित रहेका हुन्छन् । ज्ञान, प्रविधि र सुरक्षाक्षेत्रसँग सम्बद्ध आयातहरू राष्ट्रिय सुरक्षाका दृष्टिले संवेदनशील आयात मानिन्छन् र यस्ता आयातलाई सोहीअनुरूपको प्राथमिकता दिई आयात गर्ने गरिन्छ । दोस्रो पर्यावरण संरक्षण गर्ने गरी आयात व्यवस्थापन गर्ने गरिन्छ । देशभित्र सञ्चालन गर्दा मुलुकको पर्यावरणमा नोक्सान हुने खानीजन्य, वनजन्य, रसायनजन्य वस्तु र अत्यधिक प्रदूषण उत्सर्जन गर्ने प्रशोधित वस्तुहरूको आयात रोकिनु देशको दीर्घकालीन हितमा रहेको हुँदा यस्ता आयातहरूलाई सोहीअनुरूप सकारात्मक रूपमा लिई आयात व्यवस्थापन गर्ने गरिन्छ ।
धेरै खालका रंग र रसायन मानवीय, वानस्पतिक र वातावरणीय दृष्टिले हानिकारक हुन्छन् । यस्तो क्षेत्रमा पनि निश्चित मापदण्ड तोक्ने व्यवस्था हुन पनि त्यत्तिकै जरुरी देखिन्छ ।
स्वदेशी उद्योगहरू देशको समग्र अर्थतन्त्रमा मेरूदण्डका रूपमा रहेका हुन्छन् । यसर्थ बाह्य मुलुकमा उत्पादित वस्तुहरूको आयातबाट स्वदेशी उद्योगहरूलाई जोगाउनु देशको मूल दायित्वभित्र पर्छ । अन्तरराष्ट्रिय कानून, बहुपक्षीय, क्षेत्रीय र द्विपक्षीय सन्धिसम्झौताका माझ आयातबाट स्वदेशी उद्योगको संरक्षण एक जटिल कार्यमा रूपमा चिनिन्छ जसको व्यवस्थापन गर्न निकै ठूलो कौशलको खाँचो पर्न जान्छ । स्वदेशी उद्योगको संरक्षणसँग स्वदेशी उपभोक्ताको हकहितको प्रश्न पनि सँगसँगै गाँसिएर आउने गर्छ । स्वदेशी उद्योगको अत्यधिक संरक्षण भइरहँदा र आयात नियन्त्रण भइदिँदा यसले स्वदेशी उद्योगको एकाधिकार सृजना भई उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने अवस्था पनि उत्पन्न हुने गर्छ । छल विक्रय, बल विक्रयजस्ता कार्टेल व्यावसायिक अभ्यास आम रहने तेस्रो मुुलुकमा आयातमाथिको अत्यधिक अंकुशले स्वच्छ प्रतिस्पर्धालाई निरुत्साहन गर्ने र अस्वस्थ्य प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने प्रवृत्ति देखा पर्न जान्छ । कुल राजस्वमा भन्सार राजस्वको अंश महत्त्वपूर्ण रहेको नेपालजस्तो मुुलुकका लागि आयात पनि एक महत्त्वपूर्ण पक्षका रूपमा रहेको हुन्छ । आयात निरुत्साहनबाट हुने राजस्वको क्षतिपूर्ति हुने मोडलसहित आयात व्यवस्थापन गर्ने औजार अपनाउनुपर्ने बाध्यता नेपालसामु रहेको देखिन्छ ।
आयात व्यवस्थापनको अर्को महत्त्वपूर्ण पाटो स्वदेशी उपभोक्ताको हकहितको संरक्षण पनि हो । उपभोक्ताको हकहितको संरक्षणमा सहज आपूर्तिको प्रत्याभूतिसहितको न्यायोचित मूल्यमा वस्तु तथा सेवाको उपभोगको एउटा पाटो रहेको छ भने ती वस्तुको गुणस्तरीय उपभोगको अर्को पाटो रहेको हुन्छ । गुणस्तरमा स्वदेशी उत्पादनमा झैं आयातको उत्पादनमा पनि समान रूपमा लागू हुन्छ ।
आयातको गुणस्तर कायम गर्न अन्तरराष्ट्रिय रूपमा एउटा मापन कायम भएको छ । यस मापनका अतिरिक्त विभिन्न देशले आफ्ना जनताको स्वास्थ्य रक्षाका लागि आयातमा देशविशेषका गुणस्तरका मापनहरू पनि लागू गरेका हुन्छन् । यी प्रावधान पनि दुई प्रकारका हुन्छन् । मानव, पशु, वनस्पति र पर्यावरणको रक्षाका लागि आयातमा जुन प्रावधानहरू लागू गरिएका हुन्छन् ती प्रावधानलाई गैरभन्सार मापन भन्ने गरिन्छ । यदि ती प्रावधान व्यापार अवरोधका रूपमा रहेका हुन्छन् भने ती प्रावधान गैरभन्सार अवरोधका रूपमा रहेका हुन्छन् । गुुणस्तरहीन वस्तुहरू निर्बाध रूपमा आयात हुन दिनुलाई गैरभन्सार अवरोध भन्न मिल्दैन । यो त गैरभन्सार मापन हो, जसलाई लागू गर्न राष्ट्रिय अन्तरराष्ट्रिय कानूनले समेत सधैं बाटो खोलिदिएको छ ।
परन्तु, नेपालमा आयातमा गुणस्तरसम्वन्धी विषय उठान गरिनुलाई अधर्मको जस्तो व्यवहार गर्ने गरिन्छ । यस्ता विषयलाई कार्यान्वयन गर्नै नसकिने विषयहरू भन्दै यस क्षेत्रमा प्रवेश नगर्नु नै बुद्धिमत्तायुक्त हुने निष्कर्षहरू स्थायी हुन थालेका छन् । यस्तो मानसिकतामा सुधार ल्याउन आयात गुणस्तरका प्रावधान कडाइका साथ लागू गर्नु अत्यन्त जरुरी देखिन्छ ।
वस्तुको समग्र आयातलाई उपभोग र प्रयोग गरी दुई भागमा वर्गीकृत गर्न सकिन्छ । नेपालमा हुने आयात उपभोग गर्दा स्वास्थ्यवर्धक र प्रयोग गर्दा सुरक्षित हुने खालका हुनुपर्छ । पशुपक्षीहरूले उपभोग गर्ने आयातहरू यस वर्गमा पर्छन् । प्रयोग गर्नेमा पनि मानवलगायत जीवजन्तु, पशुपक्षी, वनस्पति आदिमा गरिने प्रयोगलाई लिने गरिन्छ । उपभोगका दृष्टिकोणबाट हेर्दा कृषिजन्य उत्पादनहरू प्राकृतिक रूपमा उत्पादन गरिएका र गैरप्राकृतिक ढंगबाट उत्पादन गरिएका गरी दुई भागमा वर्गीकृत गर्न सकिन्छ । विश्वभरि नै प्राकृतिक रूपमा उत्पादित जैविक उत्पादनहरू र रासायनिक मल प्रयोग गरिएका, वर्णसंकर बीउ र नश्लवाला उत्पादनहरूलाई कहीँ पनि समान व्यवहार गरिँदैन । यदि उपर्युक्त भिन्न प्रकृतिका आयातमा समान व्यवहार गरिन्छ भने त्यो देशका जनताको स्वास्थ्यमा गम्भीर खेलवाड भएको भन्ने बुझ्नुपर्छ । तसर्थ कृषिजन्य उत्पादनका क्षेत्रमा कृषिजन्य उत्पादनको बीउ, उत्पादन विधि, भण्डारण प्रविधि तथा उत्पादनका रंग र रसायनका सम्मिश्रण, उत्पादन समय र उत्पादनको वेष्ठनजस्ता विषय अतिसंवेदनशील विषयका रूपमा लिने गरिन्छ । यस्ता आयातलाई निरुत्साहन र नियन्त्रण गर्ने गरी देशहरूले गुणस्तरका कडा प्रावधानसहित राष्ट्रिय कानूनको तर्जुमा र उक्त कानून कडाइका साथ लागू गर्ने अधिकारसहित नियमनकारी निकायहरू परिचालन गरिरहेका हुन्छन् । नेपालको सन्दर्भमा भने कानूनमा व्यवस्था भए तापनि आयातमा गुणस्तरका पक्षहरू सम्बोधन हुने गरी नियमन र नियन्त्रणकारी अभ्यास बिरलै हुने गरेको पाइन्छ । यसले गर्दा मुलुकमा बाह्य मुलुकमा उत्पादित गुणस्तरहीन वस्तुहरू भित्रिने र यसले जनताको स्वास्थ्यमा गम्भीर असर पर्न जाने विज्ञहरूको लामो समयदेखिको निचोड रहिआएको छ ।
आयातमा प्रयोग हुने वस्तुहरूको गुणस्तर जाँचबुझको कार्य त अझ दयनीय अवस्थामा रहेको छ । एचएस वर्गीकरणको भाग २५ देखि भाग ९७ भित्रका अधिकांश वस्तुको गुणस्तर ती वस्तु प्रयोग गर्दा मात्र तिनको वास्तविक अवस्था उजागर हुन जान्छ । जस्तै एचएस वर्गीकरणको भाग ५० देखि भाग ६४ सम्मका वस्तु प्रयोग गर्दा ती वस्तुको उत्पादनमा प्रयोग हुने रंग, धुलाइको प्रविधि तथा रंगहरूको संयोजनले प्रमुख महत्त्व राख्छ । रंग र छालाको संसर्ग हुँदा केकस्तो असर पर्छ भन्ने विषयमा संवेदनशील हुन नसक्दा पहिरन क्षेत्रमा हुने आयात गुणस्तरीय भएको नभएको विषयमा देशभित्र मौनता व्याप्त रहेको छ ।
त्यस्तै बालबच्चाले प्रयोग गर्ने खेलौना प्रकृतिका वस्तु पर्छन् जसको आयातमा गुणस्तरको सम्बन्धमा चरम लापरबाही भइरहेको छ । बच्चाले खेलौना प्रयोग गर्दा ती खेलौनाहरूसँग बच्चाका कर्मेन्द्रियहरूसँग प्रत्यक्ष संसर्ग हुने गर्छ । त्यसैले खेलौनाको आयात गर्दा खेलौनामा प्रयोग भएको रंग, किल्लाकाँटाको जडानको अवस्था, धातु र लेबल उप्किने नउप्किने अवस्था तथा बच्चालाई घोच्ने नघोच्ने जस्ता विषयलाई ज्यादै गम्भीरताका साथ जाँचबुझ गरेर मात्रै खेलौनाहरू आयात गर्न अनुमति दिने गरिन्छ । त्यसमा पनि उमेरको आधारमा खेलौनाको वर्गीकरण गरी अलग अलग संकेत नम्बर प्रदान गर्ने प्रचलन रहेको छ । संयुक्त राज्य अमेरिकाले यो अभ्यासलाई कडाइका साथ लागू गर्दै आएको छ । यस्तै अन्य गैरकृषिजन्य उत्पादनको आयातमा पनि ती उत्पादनको प्रयोग गर्दाका सुरक्षाका उपायलगायत गुणस्तरसँग सम्बद्ध प्रावधानहरू लागू गरिएका हुन्छन् ताकि ती वस्तु प्रयोग गर्दा उपभोक्तालाई कुनै प्रकारको शारीरिक हानिनोक्सानी नहोस् । यस्तै मानवका विभिन्न अंगसँग प्रत्यक्ष संसर्गमा आउने कापी, कलम, किताब, पेन्सिल, इरेजर, कलम, डट्पेन, तिनका मसी, टिस्युपेपर, सेनिटरी प्याडजस्ता वस्तुको गुणस्तर पनि अतिसंवेदनशील वस्तुका रूपमा लिने गरिन्छ र जनताप्रति उत्तरदायी विश्वका विभिन्न मुलुकले यस्ता वस्तुको गुणस्तरको मापदण्ड बनाई आयात गर्दा ती मापदण्डको अनुपालन भए नभएको कडाइका साथ लागू गर्ने गरिएको छ ताकि गुणस्तरहीन वस्तुको आयातले जनताको स्वास्थ्यमाथि कुनै प्रकारको खेलवाड हुन नसकोस् । यस्तै गैरकृषिजन्य उत्पादनमा लेबलमा उल्लेख भएअनुसार उक्त वस्तुको गुण, चरित्र र कार्यक्षमता भए नभएको जाँच गर्न सक्ने अवस्था छैन । यसले गर्दा यस्ता वस्तुहरूको आयातले समग्र उपभोक्ता र उद्योगतन्त्रमा कस्तो खालको दीर्घकालीन असर गरिरहेको छ भन्ने विषयमा देशभित्र एक प्रकारको उदासीनता व्याप्त रहेको छ ।
त्यस्तै धेरै खालका रंग र रसायनहरू मानवीय, वानस्पतिक र वातावरणीय दृष्टिले हानिकारक हुन्छन् । यस्तो क्षेत्रमा पनि निश्चित मापदण्ड तोक्ने व्यवस्था हुन पनि त्यत्तिकै जरुरी देखिन्छ । सारमा भन्नुपर्दा भन्सार कार्यालयबाट प्रकाशित हुने भन्सार महशुल दरबन्दीमा एक स्तम्भ थपी हरेक वस्तु आयात गर्दा पालन गर्नुपर्ने गुणस्तर प्रावधानहरूको जानकारीको व्यवस्था हुन जरुरी छ । उपर्युक्त प्रावधान लागू गर्न आयात मापदण्डको व्यवस्था हुन जरुरी छ ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।