परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शान्ति प्रक्रियाको मूल मर्म भनेको द्वन्द्वको घाउलाई निको पार्नु र पीडितलाई न्यायको अनुभूति गराई परिपूरण गर्नु नै भएको बताउनुभएको छ ।
दस वर्षे सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई पीडित परिचयपत्र वितरण कार्यको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । पीडितलाई सत्यको जानकारी गराई मेलमिलाप गराउनु अहिलेको आवश्यकता रहेको तर त्यसो भन्दैमा गम्भीर मानव अधिकारका घटनालाई आम माफी दिने कार्य भने कुनै हालतमा गर्न नहुने उहाँले बताउनुभयो । उहाँले गम्भीर मानव अधिकारका घटनालाई विशेष अदालतमा लगेर टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो । द्वन्द्वपीडितसँग सम्बन्धित परियोजना सञ्चालन गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूतर्फ सङ्केत गर्दै मन्त्री ज्ञवालीले भन्नुभयो, “नेपालको द्वन्द्व नेपालले नै टुङ्ग्याउन सक्छ, यसमा कसैले पनि गिजोल्ने प्रयास नगर्नुहोस् ।”