कात्तिक ९, कास्की । कास्कीको पर्यटकीय गाउँ सिक्लेसस्थित होटेल सिक्लेस गेष्ट हाउसका सञ्चालक सुरेन्द्र गुरुङलाई असोजको दोस्रो सातायता पर्यटकलाई स्वागत गर्न भ्याइनभ्याइ छ ।
कोरोना करहका कारण लामो समय सुनसान जस्तै बनेको सिक्लेसमा देशका विभिन्न स्थानबाट पर्यटक आउन थालेसँगै यतिखेर यहाँका पर्यटन व्यवसायी हर्षित छन् ।
विभिन्न संघ संस्थाका साथै व्यक्तिगत रुपमा आउने पर्यटकले सिक्लेसमा सञ्चालित २३ होटेल तथा २० होमस्टे प्रत्येक दिन भरिने गरेको उनी बताउँछन् ।
महामारीबाट लामो समयसम्म घरमा नै रहन बाध्य मानिस यतिखेर प्रकृति र संस्कृतिले भरिएका गाउँठाउँमा पुग्ने गरेका कारण पर्यटकीय चहलपहल बढेको हो ।
पछिल्लो समय सिक्लेस कला, संस्कृति र अनुपम प्रकृतिका कारण स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण गन्तव्य बन्दै गएको छ । गुरुङ कला संस्कृतिको जीवन्त अनुभव गर्न पाइने समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको यो गाउँ लमजुङ हिमालको काखमा लुट्पुटिएको छ ।
वरिपरिको हरियो वनजंगलका कारण सिक्लेसमा चरा र वन्यजन्तुप्रेमी रमाउने गरेका छन् । यहाँबाट नजिकै देखिने लमजुङ हिमाल र अन्नपूर्ण दोस्रो हिमालले जो कोहीलाई लोभ्याउने गरेको छ । लगभग ४०० कुरिया घरधुरी रहेको सिक्लेस नेपालकै ठूलो गुरुङ गाउँ हो ।
यातायातका साधनहुँदै पोखराबाट लगभग चार घन्टाको यात्रामा पुग्न सकिने सिक्लेसमा ढुंगाले छाएको एवं छापिएको गुजुमुच्च तर अत्यन्त सफा र सुन्दर नमूना बस्ती देख्न पाइन्छ । स्थानीय जनताको जागरुकतासँगै सरसफाइमा निकै ध्यान दिइएका कारण बाटाघाटा तथा घर तथा चोकमा प्लास्टिक तथा कागज केही नभेटिनु यहाँको विशेषता हो ।
‘दशैं शुरु हुनु अगावै असोजको दोस्रो साताबाट सिक्लेसमा पर्यटकको चाप बढेको छ,’ सिक्लेस होटल व्यवसायी समितिका अध्यक्ष समेत रहेका गुरुङले भने, ‘त्यसयता यहाँका होटेल तथा होमस्टे सबै दिनहुँ पर्यटकले भरिएका छन् ।’
गुरुङ जातिको कला तथा संस्कृतिको जीवन्त संग्रहालय जस्तै बनेको यहाँबाट गुरुङ जातिको अन्तिम राज्य क्होलासोंथर एक दिनमा पुग्न सकिने भएका कारण पछिल्लो समयमा गुरुङ जातिको अध्ययन तथा अनुसन्धानका लागि पनि स्वदेशी एवं विदेशी अनुसन्धाता सिक्लेस आउने गरेका छन् ।
यहाँबाट कफुचे हिमतालका साथै कोरिसम्म पदयात्राका लागि पनि पर्यटक जाने गरको सिक्लेस युवा क्लबका पूर्व सचिव एवम् सल्लाहकार देवीजङ गुरुङले जानकारी दिए । उनका अनुसार गुरुङ संस्कृतिको अध्ययनका लागि यहाँस्थित सिक्लेस ईको म्युजियम पनि महत्वपूर्ण गन्तव्य बनेको छ । म्युजियमका साथै गाउँकोमाथि रहेको पार्कमा पर्यटक रमाउने गरेको उनले जानकारी दिए ।
संग्रहालयमा गुरुङ संस्कृतिको भेषभूषा, रहनसहन तथा परम्परालाई जीवन्त रुपमा झल्काउने सामग्री देख्न सकिन्छ । संग्रहालयमा सिक्लेस क्षेत्रमा पाइने अत्यन्त महत्वपूर्ण कुट्को, कुरिलो, सतुवा, विष, जटामसी, सिल्टीमुर, पाँचऔँले र यार्सागुम्बाजस्ता जडीबुटीका बारेमा यहाँ पुग्ने पर्यटकले अभिरुचिपूर्वक जानकारी लिने गरेका छन् । पर्यावरणीय संरक्षणका लागि सुमय समयमा हुने गरेका विभिन्न महोत्सवका कारण यहाँका स्थानीयवासीमा पर्यावरणलाई जोगाउनुपर्छ भन्ने भावना जगाएको पाइन्छ ।
सिक्लेसको कला, संस्कृति र प्रकृतिप्रति बढ्दै गएको पर्यटकीय आकर्षण र यहाँ पर्यटकको बसाइँलाई लम्ब्याउन गाउँमाथि निर्मित सिक्लेस पार्क पर्यटकको बसाइँ लम्ब्याउनका लागि बहुउपयोगी बनेको गुरुङले जानकारी दिए ।
सिक्लेसमा खान–बस्नका लागि स्थानीय बासिन्दाले सञ्चालन गरेका घरबास (होमस्टे) तथा होटल उपलब्ध छन् । होमस्टे सञ्चालकले यहाँ आउने पर्यटकलाई लक्षित गरी प्याकेज तय गरेको होमस्टे सञ्चालक पदम गुरुङले जानकारी दिए ।
उनका अनुसार प्योकजमा साँझको खाजा, बेलुकाको खाना, बसाइँ र भोलिपल्ट बिहानको नास्ता तथा खानाका लागि ९०० रुपैयाँ निर्धारण गरिएको छ । पर्यटकले आवश्यक ठानेका अवस्थामा बेलुका सांस्कृतिक प्रस्तुति पनि रहने गुरुङले जानकारी दिए ।
पोखराबाट ४० किलोमिटर उत्तरमा रहेको सिक्लेसमा विगतमा पदयात्राबाटै मानिस पुग्ने गरे पनि अहिले पदयात्राका साथै हिँड्न नसक्ने गाडीबाट पुग्ने गरेका छन् । यहाँ जानका लागि काहुँ खोलामा जिप सहज रुपमा नै उपलब्ध हुन्छ । सवारी साधन हुँदै काँहुखोला, ढाडबेंसी, काभ्रेखोला, छाचोक, मेल्चो, थाक, तप्राङ, चिप्ली, पार्चेहुँदै सिक्लेस पुग्न सकिन्छ ।
यो गाउँ अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको घलेखर्क सिक्लेस ईको ट्रेकभित्र पर्दछ । कला संस्कृति बचाउनका लागि यहाँ गरिने मेला तथा महोत्सवमा लोपोन्मुख अवस्थामा रहेका लगभग चार दशकअघिसम्म प्रचलित खेल झिझिली, हेकुचे, घुर्राजस्ता खेलका प्रतियोगिता गराउने गरिएको छ ।
संस्कृतिकै निरन्तरतास्वरुप सूचना दिने प्राचीन प्रचलन कटुवाल घोकाउने प्रथा पनि सिक्लेसमा कायमै छ । लामो समयसम्म कोरोना प्रभावित पर्यटनमा असोज दोस्रो सातायता भएको पर्यटकको आगमनले सिक्लेसी पर्यटन व्यवसायीलाई उत्साहित बनाएको उनले जानकारी दिए । रासस
पुष्कर बुढाथोकी, भक्तपुर । दिउँसो बर्षा रोकिएको र डोजरको सहयोगमा पानीको निकास खोलिएकोले भक्तपुरमा बाढीको प्रभाव घटेको छ । बाढीका कारण मध्यपुर थिमि नगरपालिका र भक्तपुर नगरपालिका अन्तर्गतका बिभिन्न भाग डुबानमा परेका थिए । मनोहरा खोलामा आएको बाढीले सुकुम्बासी क्षेत्रको बस्ती डुबानमा पर्दा खोला आसपासका ७० भन्दा बढी घर जलमग्न भएकोमा अहिले खोलाको सतह घट्दा […]
अहिले यूरोकप र कोपा फूटबलको राप छ । तर हाम्रोमा त बारै महीना राजनीतिकोे ताप छ । देश महामारी, बाढी र पहिरोको प्रतापमा छ । व्यवसाय धरापमा छ । यै धरापमा मालामाल हुनेहरूको च्याखे थाप छ । सडकमा एम्बुलेन्स र शववाहनलाई हतार छ । अनि जनता भने सधैं हताश छ ।
भेडाहरूको भीडका नाइके नेता बने, कुर्सी पाए । अनि तिनको आधा कार्यकाल खादा, माला र अबिरमै सकिने भो । बाँकी आधा चाहिँ उद्घाटन र शिलान्यास गर्दैमा ठिक्क । तिनै नेताका हुक्के, ढोके, बैठकेहरूको सत्तामा भाउ लागेकोे छ । सामान्य पियन बन्न सक्ने हैसियत नभएका पार्टी कार्यकतालाई राजदूत, मन्त्री हुने दाउ जागेको छ ।
कमान खुस्केको घडी र लगाम खुस्केको घोडाजस्तो बनेको छ हाम्रो राजनीति । नेता हाबी हुँदै जाँदा नीति फन्टुस बन्दै गएको छ । जेमा पनि राजनीति माऊ छ । यसैले त सरकारको नीति कार्यक्रमभन्दा कुनै रियालिटी शोको बढी भाऊ छ ।
वडामा सदस्यसमेत बन्न नसकेका पात्र सिंहदरबारको चूलोचौकोमा पुग्न थाले । त्यसैले सिंहदरबार भिजनभन्दा भोजनको अड्डा बनेको छ । दलको बैठक होस् या चुनाव सरकारी कार्यालमा, सरकारी खर्चमै हुन थालेको छ । शहीदका सपना पूरा गर्ने कसम खाएकाहरू आफ्ना सपना चैं पूरा गर्दै छन् । झूटको भर्याङ चढेर भोट बटुलेका हिजोअस्तिका टपर्टुइयाँ फुटपाथेहरू आज सत्ताको कमान समाल्नेमा पुगेका छन् । अनि लोकतन्त्रको आशालाग्दो एउटा कालखण्डलाई कालो रात्रिमा बदल्न लागेका छन् । अझ यसैलाई लोकतान्त्रिक अभ्यासको उदाहरण भन्दै अरिङ्गालहरू दिनदिनै देउशिरै गाउँदै छन् ।
देशमा व्यापार घाटाको खाडल बढे पनि राजनीतिक व्यापार भने फस्टाएकै छ । जनताले सहज उपचार नपाएर के भो ? नेतालाई विदेशी अस्पतालमा भर्ती गर्न एयर एम्बुलेन्स आएकै छ । कछाड वा धोती मात्र लाउन सक्नेको छोरो डाक्टर बनाउने लोकतन्त्र नआएर के भो ? ठूलाठालुका छोराछोरीले त छात्रवृत्ति पाएकै छन् ।
कतिपय नेतालाई सत्ता र शक्तिको यति मात लागेको छ कि यिनीहरू इतिहास र संविधानलाई त बंग्याउँछन् नै, प्रकृतिकै नियमसमेत फेर्ने दाबी गरी हिँड्छन् । यिनले रामलाई नयाँ जन्म दिन सक्छन्, सगरमाथाको उचाइ तुरुन्तै घटबट गर्न सक्छन् । जीउँदा रामहरू भोकभाकै अनि गुमनाम छन् । तर अर्बौं खर्चेर मिथक रामको खोजी शुरू गर्छन् । सँगसँँगै विश्वबाट काम नलाग्ने भनी मिल्काइएका माओ, लेनिन, स्टालिनका फोटा भित्तामा झुन्ड्याउन भने भुल्दैनन् ।
घरमा दुई छाकको जोहो गर्न नसक्नेहरू तीन करोड जनताको भविष्य निर्धारक बनेका छन् । जनता पनि तिनैको कुरा पत्याएर बसेका छन् । मुलुकको केन्द्रीय राजनीति गर्लफ्रेण्ड, ब्वाइफ्रेण्ड, लोग्नेस्वास्नी, दाजुभाइ, छिमेकी, चन्दादाताको भलोमा केन्द्रित भएका छन् । कमान खुस्केको घडी र लगाम खुस्केको घोडाजस्तो बनेको छ हाम्रो राजनीति । नेता हाबी हुँदै जाँदा नीति फन्टुस बन्दै गएको छ । जेमा पनि राजनीति माऊ छ । यसैले त सरकारको नीति कार्यक्रमभन्दा कुनै रियालिटी शोको बढी भाऊ छ ।
स्थायी सरकार अर्थात् सरकारी संयन्त्रको गति र मति पनि गजबको छ । न सेवा छ, न दायित्व । जनता बिरामी हुँदा दिने भनेको सहयोग उसको बरखी हुँदासम्म हात लाग्दैन । डढेलोले वन र बस्ती खरानी बनाएपछि बल्ल दमकल खरीदका लागि टिप्पणी उठ्छ । एउटा सवारी लाइसेन्स समयमा पाउँदा पनि ठूलै युद्ध जितेसरह हुन्छ । नेताका कोरा भाषण बिकिरहेछ, तर स्वदेशी किसानको उत्पादन बिक्दैन ।
हामी जनता पनि उस्तै छौं । ‘चोरलाई चौतारो साधुलाई सुली’ भनेजस्तै हामी भोट भिलियनहरूलार्ई खन्याउँछौं । ती मिलियन कमाउँछन्, पछि हामी आँसु बगाउँछौं । ‘चरी’ र चोरहरूलाई चेप्छौं, पसिना बगाउनेहरूलाई भने हेप्छौं । हामी डोजरले पहाड फोडेर वा खोलामा लगेर घर बनाउँछाैं, बाढी वा पहिरोले लगेपछि सरकारलाई सराप्छौं ।
ब्राजिल र अर्जेन्टिना लगायत धेरै देश फुटबल खेल्छन् । हामी गफ खेल्छौं । सियोदेखि दाँत कोट्याउने सिन्कोसमेत आयात गर्छौं, अनि समृद्ध नेपालको सपना देख्छौं । आफ्नै देशका कर्मवीरहरूका नाम थाहा पाउँदैनौं, तर मरिसकेका विदेशी नेतादेखि त्यहाँका फिल्मी सेलिब्रिटीका पनि तीनपुस्तेसम्म खरर्र भन्न सक्छौं ।
गफाडीहरूको गफमा ताली पड्काउँछौं अनि आशा चाहिँ चमत्कारको गर्छौं । हामी सामाजिक सञ्जालमा क्रान्ति उराल्छौं । तर भोट दिने बेला तिनै गाली गरिनेमाथि नै खन्याउन छाड्दैनौं ।
सामान्य राजनीतिक चटकेलाई हामी देउता बनाउँछौं । व्यवसायी सबैलाई भ्रष्टाचारीकोे लेबल लगाइदिन्छौं । तर जसले सबैभन्दा बढी ठगी गर्न सक्छ, अपराध गर्छ, उसैलाई सफल दर्जामा उभ्याइदिन्छौं । डाँडाडाँडामा भ्यू टावर बनाउँछौं र छेउकोे जंगल मासेर चार घण्टाको मोटरबाटो टाढा वनभोज जाने नयाँ प्रतिस्पर्धा गरिरहेका छौं । यसरी हामी आफैमाथि यतिधेरै अन्तरघातमा उत्रिएका छौं ।
नेपाली राजनीतिमा तीस वर्षदेखि निरन्तर तिनै मान्छे सांसद, मन्त्री, प्रधानमन्त्री भएका भयै छन् र अझै पनि नेतृत्व दौडमा तिनै असफलहरू पटक पटक अघि देखिन्छन् । अहिले देखिएका पात्रहरू चिनिसकिएका जोकर हुन् भन्ने जान्दा जान्दै फेरि किन हामीमाथि उनै हाबी छन्, कहिल्यै सोच्दैनौं । ‘अब हाम्रो पालो आयो, लुट्नसम्म लुट’ भनेर देश दोहन गर्ने सोचले राजनीति गर्नेहरूले अझै केही गर्छ कि भन्ने भ्रमबाट कहिल्यै मुक्त किन हुन्नौं ?
यसरी समय त फेरियो, तर न पात्र फेरिए, न शैली फेरियो, न प्रवृत्ति फेरियो । बरु सर्वहाराका सत्ता, गरीबको शासन, जनवाद यी सबै धामीका मन्त्रजस्तै हाम्रा गलामा बेरियो । केही सीमित तथाकथित नेताका अघिल्तिर लोकतन्त्र र विकास निरीह सावित हुँदै गयो ।
यसरी राजनीतिका नाममा रोपिएका धतुरोबाट धानको अपेक्षा गर्दै छौं । यो कसको भूल हो ? धान नफल्दा पुर्पुरोलाई धिक्कार्ने कस्तो रुल हो ? विकास विदेसी वादले हुन्छ कि आफ्नै इच्छाशक्तिले ? हामी पछि परेको किन हो ? नजानेर हो कि नबुझेर हो ? हरेकले आफ्नो कर्तव्य बिर्सेर, अधिकार मात्र याद गरेर हो ? वा केहीको नियत नै खोटो भएर हो ?
कि हामी सधैं यस्तै त हो नि ब्रो !
चिसो बढ्दै जाँदा बागलुङको पश्चिम ढोरपाटन शिकार आरक्ष क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ । चिसोको कारण खोला तथा खोल्सा र धाराको पानी जम्न थालेको छ । सो क्षेत्रमा संचालित विद्यालयको पठनपाठन बन्द गरिएको छ ।
दिउँसोको समयमा चियो हावा चल्ने र विहान, साँझ र राती बढी चिसो हुँदा स्थानीवासीलाई घर बाहिरको काम गर्न पनि कठिन भएको ज्योति विकास आधारभूत विद्यालयका प्रधानध्यापक चकबहादुर अदैले जानकारी दिनुभयो ।