मोहनविक्रम सिंह ।।
ओली तथा प्रचण्ड र माधवपक्षका बिचको विवादमा दोषी को हो ? दुबै पक्षले एकर्कालाई दोषी बताइरहेका छन् । जनताका बिचमा पनि ती दुबै पक्ष समान रूपले दोषी भएको कुरा बताउने विचार निकै पाइन्छ । तर चिजको सही र तथ्यगत विश्लेषण गरेर नै हामीले कुनै निष्कर्ष निकाल्ने प्रयत्न गर्नुपर्दछ ।
ती दुबै पक्षको लामो राजनीतिक इतिहास छ, जसमा राम्रा र नराम्रा दुबै प्रकारका नीति वा भूमिका सामेल छन् । गत कालमा उनीहरूले गरेका विभिन्न प्रकारका गल्तीको हामीले बारम्बार आलोचना वा सङ्घर्ष गर्ने गरेका छौँ । तर कुनै खास बेलामा को कति दोषी छ भन्ने कुरा छुट्याउँदा त्यही बेलाको ठोस घटनाक्रमलाई आधार बनाएर नै मत निश्चित गर्नुपर्दछ ।
मानिलिऊँ दुई जना व्यक्तिको बिचमा लेनदेन, जग्गाजमिन, कुटपिट वा अन्य कुनै विषयमा झगडा पर्दछ । त्यस सन्दर्भमा को कति दोषी छ भनेर छुट्याउँदा उनीहरूसित सम्बन्धित सबै पुराना कुराको होइन, त्यही बेलाको घटनाक्रमसित सम्बन्धित तथ्यको आधारमा नै कसको पक्षमा न्याय छ वा छैन ? त्यो कुरा छुट्याउनुपर्दछ । त्यही कुरा अहिले एकातिर ओली र अर्कातिर प्रचण्ड–माधव पक्षका बिचको विवादबारे पनि सत्य हो । अहिलेको विवाद मुख्य रूपले नेकपाभित्रको अन्तरकलह र संसदको विघटनसित नै सम्बन्धित छ । त्यसका आधारमा नै कसको पक्ष न्यायपूर्ण छ र छैन ? त्यो कुरा छुट्याउनुपर्दछ । सम्बन्धित तथ्यमाथि विचार गर्दा ओलीपक्ष नै दोषी भएको कुरामा कुनै शङ्का रहन्न ।
गतकालमा ती दुबै पक्षको बिचको विवाद जुनसुकै रूपमा चलेको भए पनि तात्कालिक रूपमा त्यो विवाद प्रचण्ड–माधव पक्षले ओलीलाई अध्यक्ष वा प्रधानमन्त्रीबाट हटाउन खोजेको कारणले नै उत्पन्न भएको हो । ओलीले त्यसैलाई आधार बनाएर उनलाई काम गर्न नदिएको बताएर संसदको विघटनको आफ्नो कार्यलाई सही सावित गर्ने प्रयत्न गरिरहेका छन् । तर उनको त्यस प्रकारको दावी तर्कसङ्गत छैन । किनभने कुनै पनि पार्टी, सङ्गठन वा सङ्घसंस्थामा त्यसका सदस्य वा केन्द्रीय सदस्यहरूलाई आफ्ना कुनै पनि नेता वा नेतृत्वका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने वा पदबाट हटाउन प्रयत्न ...