व्यावसायिक कृषिमा भोजपुरको किसान आकर्षित बनेका छन् । कृषिमा कम भविष्य देख्नेका लागि कृषक उदाहरणीयसमेत बन्न थालेका छन् । यहाँका कृषकले कृषि व्यवसाय गरेर लाखौँ आम्दानी गरिरहेका छन् । जिल्लामा उत्पादन भएका कृषि उपजले बाहिरी जिल्लाका बजारमा समेत स्थान पाउन थालेका छन् । सबै स्थानीय तहमा कृषकले व्यवस्थित ढङ्गले कृषि व्यवसाय सञ्चालन गरिरहेका छन् । यहाँ उत्पादन भएका अकबरे खुर्सानी, तरकारी तथा फलफूल धरान, विराटनगर तथा काठमाडौँलगायत सहरमा पुग्न थालेका छन् । सडकको सहज पहुँच भएका स्थानका कृषकको फार्मबाट नै सोझै कृषि उत्पादन बाहिरी जिल्लामा जाने अवस्था बनेको छ । यसबाट व्यवसायलाई थप राहत पुगेको कृषक रमिला श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कृषि कर्म बाँच्ने आधार बनेको छ । व्यावसायिकरूपमा गरेको तरकारी खेतीले वार्षिक रु आठ लाखसम्म आम्दानी हुन्छ ।”