राधी विद्युत कम्पनीले हकप्रद निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज साउन ९ गते कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति दिएको हो ।कम्पनीले हाल कायम चुक्ता पुँजीको १:१.४७५२ को अनुपातमा अर्थात् १४७.५२ प्रतिशत हकप्रद शेयर निष्काशनको लागि अनुमति पाएको हो । कम्पनीले प्रति शेयर १०० का दरले ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले हालको आयोजनाको ऋण तिर्न र ४५ मेगावाटको नयाँ आयोजनामा लगानी गर्न हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले हकप्रद निष्कासन अनुमति माग गर्दै बैशाख २८ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीले हकप्रद निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ को साधारणसभा पनि आह्वान गरेको छ । कम्पनीले साउन ३० गते सोमबार सभा गर्न लागेको हो । कम्पनीले साधारणसभाको लागि साउन २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश भने घोषणा गरेको छैन । कम्पनीको सभामा संचालक समितिको आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आ.व. २०७७/७८ को वासलात, नाफा-नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने र आ.व. २०७८/७९ को लागि लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ।