फागुन १८, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घूस लिएको आरोपमा पक्राउ परेका नायव सुब्बा विरुद्ध आरोप पत्र दायर गरेको छ ।
जिल्ला बारा, कोल्हवी नगरपालिका, ११ नं. वडा कार्यालयमा कार्यरत नायव सुब्बा विनोद प्रसाद साह विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।
साहले जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग घूस मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले साहलाई सेवाग्राहीबाट रू. ३ हजार ५०० घूस लिइसकेको अवस्थामा गत माघ २० गते नियन्त्रणमा लिएको थियो ।
साहलाई बिगो रू. ३ हजार ५०० कायम गरी बुधवार विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगले जानकारी दिएको छ ।