गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा बीउ स्रोत केन्द्रको स्थापना भएको छ । मुसिकोट नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ र साना किसान कृषि सहकारीको त्रिपक्षीय साझेदारीमा बीउ स्रोत केन्द्रको स्थापना भएको हो ।
मकै, कोदो, धान, गहुँ, केराउलगायत खाद्यान्न बालीको बीउको प्रशोधन र ग्रेडिङ गरी बजारीकरण गर्ने उद्देश्यले केन्द्रको स्थापना भएको सहकारीका अध्यक्ष हरि छन्त्यालले जानकारी दिए ।
केन्द्रमा मुसीकोट नगरपालिका २, ३ र ४ मा उत्पादन भएका खाद्य बालीको प्रशोधन गरी बीउ तयार गरिनेछ । साथै बलिथुम, मजुवा फाँटलगायत स्थानमा उत्पादन भएको खाद्य बालीको बीउ पनि सहकारीले खरिद गरी बजारीकरण गरिने छन्त्यालले बताए ।
बीउ उत्पादनका लागि मुसीकोट नगरपालिका ३ मा रू. ६९ लाखको लागतमा भण्डारण तथा प्रशोधन केन्द्रको स्थापना गरिएको छ । यसै वर्ष उत्पादन हुने मकै भदौदेखि भण्डारण गरी बीउ उत्पादन गर्न शुरू गरिने छन्त्यालले बताए ।
मुसीकोटमा बीउ स्रोत केन्द्रको स्थापना भएसँगै गुल्मीमा बीउ प्रशोधन तथा उत्पादन गर्ने केन्द्रको संख्या ६ पुगेको छ । यसभन्दा पहिले मालिका गाउँपालिका– ६ अर्जै र वडा नम्बर ८ सिमलटारीमा २०÷२० मेट्रिकटनका दुईओटा प्रशोधन केन्द्र स्थापना भएका छन् ।
जिल्लाको मदाने गाउँपालिकाको पुर्कोट दहमा ३० मेट्रिकटन, इस्मा गाउँपालिका–६ चौरासी र रेसुंगा नगरपालिका–१० मा २०/२० मेट्रिकटनको प्रशोधन केन्द्र रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइका प्रमुख नारायण काफ्लेले जानकारी दिए । रासस