वैशाख २८, काठमाडौं । प्रभु बैंक र राष्ट्रिय बाणिज्य बैंकले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् ।
प्रभु बैंकले गत वैशाख ६ गते र राष्ट्रिय वाणिज्य बैंकले वैशाख २२ गते ऋणपत्र जारी गर्न बोर्डबाट अनुमति पाएका हुन् । प्रभु बैंकले रू.४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो ।
कम्पनीले ४० लाख कित्तामध्ये १६ लाख कित्ता सर्वसाधारणको लागि विक्री गर्नेछ भने २४ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नेछ । कम्पनीले १० वर्षसम्मका लागि वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजरमा ऋणपत्र निष्कासन गर्न लागेको हो । विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
त्यसैगरी राष्ट्रिय बाणिज्य बैंकले रू. २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि बोर्डबाट अनुमति पाएको हो । जसमध्ये १० लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।
बैंकले आगामी छ वर्षसम्मका लागि वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न लागेको हो ।विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।