जीवन बीमा अभिकर्तालाई पुनर्ताजगी तथा अन्तरक्रिया कार्यक्रम

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले काठमाडौंमा आयोजना गरेको ‘जीवन बीमा अभिकर्ता पुनर्ताजगी तालीम तथा अन्तरक्रिया कार्यक्रम’ शनिवार सम्पन्न गरेको छ । कार्यक्रममा ‘जीवन बीमा र व्यावसायिक सफलता’ विषयमा प्रस्तुति दिँदै प्राइम लाइफका पूर्व प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले बीमा अभिकर्ता बीमा व्यवसायको मेरुदण्ड भएको बताए । संस्थानका प्रशासक कविप्रसाद पाठकले व्यवसायलाई कसरी स्वस्थ ढंगले अगाडि बढाउने भन्नेमा अभिकर्ताको भूमिकाको चर्चा गरे । अभिकर्ता पेशालाई व्यावसायिक बनाउँदै उनीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय समेत प्रवर्द्धन गर्ने नीतिअनुरूप कार्यक्रम गरिएको उनले बताए । कम्पनीका शाखा तथा बजार व्यवस्थापन विभागमा प्रमुख दीपा अधिकारीले बीमा क्षेत्रको विद्यमान अवस्था र संस्थानको विद्यमान अवस्थाका बारेमा प्रस्तुति दिएकी थिइन् । संस्थानका वरिष्ठ अभिकर्ता हरिशरण शिवाकोटीले अहिले बजारलाई आवश्यक भइरहेको दक्ष अभिकर्ताको उत्पादन गर्नु अहिलेको आवश्यकता भएको बताएका थिए ।

सम्बन्धित सामग्री

आर्थिक अभियान १८औं वार्षिकोत्सव विशेष : बीमामा बढ्दो आकर्षण

नेपालमा २००६ सालअघि रघुपति जुट मिल, जुद्ध म्याच फ्याक्ट्री, विराटनगर कटन मिल, वीरगञ्ज कटन मिललगायत उद्योग र कल कारखानाको स्थापना भएको पाइन्छ । नयाँ उद्योग सञ्चालनमा आएसँगै वित्तीय सहयोगका लागि १९९४ सालमा नेपाल बैंक लिमिटेडको स्थापना भएको थियो । बैंकको स्थापना भएपछि सोही समयमा नेपालमा बीमा कम्पनीको पनि आवश्यकता महसूस भएको बीमा जानकारहरू बताउँछन् । सोही अनुरूप उक्त समयमा भारतीय बीमा कम्पनीले नेपालमा निर्जीवन बीमा शुरू गरेको इतिहास छ ।  नेपाल बैंक लिमिटेडको सक्रियतामा २००४ सालमा नेपाल माल चलानी तथा बीमा कम्पनी स्थापना भएको थियो । २०१६ सालमा यस कम्पनी नेपाल इन्स्योरेन्स एन्ड ट्रान्सपोर्ट कम्पनी लिमिटेडमा परिवर्तन भएको थियो । कम्पनीलाई २०४८ सालमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा पूर्णरूपले निर्जीवन बीमाको काम गर्ने गरी पुन: नामकरण गरिएको थियो । २०२५ साल अघिसम्म भारतीय बीमा कम्पनीहरूले बीमाको काम गर्दै आएका थिए । उक्त समय नेपालमा रुवी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड, स्टर्लिङ इन्स्योरेन्स कम्पनी लिमिटेडलगायत बीमा कम्पनीले बीमाको काम गरेको पाइन्छ ।  २०२४ पुस १ गते १ करोड रुपैयाँको अधिकृत पूँजीमा राष्ट्रिय बीमा संस्थान प्रालिको स्थापना भएको थियो । राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ आएपछि कम्पनी राष्ट्रिय बीमा संस्थानमा परिवर्तन गरिएको थियो । यस कम्पनीले २०२९ सालदेखि जीवन बीमा पनि शुरू गरेको थियो ।  २०४४ सालमा नेपालमा बीमा व्यवसाय गर्न निजीक्षेत्रको नेशनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापना भएको थियो । कम्पनीले शुरूका २ वर्षसम्म निर्जीवन बीमा व्यवसाय र त्यसपछि भने जीवन बीमा व्यवसाय पनि शुरू गरेको थियो । नेपालको विकासमा बीमा क्षेत्रको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । बीमाले व्यक्तिको सम्पत्ति, उद्योग, कलकारखाना लगायतमा पर्न सक्ने जोखिमका साथै राज्य उक्त जोखिमबाट हुन सक्ने आर्थिक भार न्यूनीकरण गर्न मदत गर्छ ।  नेपाल बीमा प्राधिकरणका अनुसार नेपालमा अहिले १४ जीवन र १४ निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यस्तै रि–इन्स्योरेन्सतर्फ दुई र लघु बीमातर्फ चार कम्पनी सञ्चालनमा छन् ।  आधा जनसंख्या बीमाको दायरामा नेपालमा बीमा शुरू भएको कम समयमा नै झन्डै आधा जनसंख्या बीमाको दायरामा समेटिएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष (आव) २०७९/८० सम्ममा नेपालको कुल जनसंख्याको ४४ प्रतिशत बीमाको दायरा समेटिएका हुन् ।  वैदेशिक रोजगार म्यादी जीवन बीमालेखसहित बीमाको दायरा ४४ दशमलव ३८ प्रतिशत नागरिकसम्म फैलिएको हो । वैदेशिक रोजगार म्यादी जीवन बीमालेखबाहेकको बीमाको दायरामा ३९ दशमलव शून्य ३ प्रतिशतमा छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । बीमाको दायरा ४४ दशमलव ३८ प्रतिशत पुगेसँगै बीमाको पहुँचमा १ करोड २९ लाख ४३ हजार २३९ नागरिक छन् । कम समयमा नै बीमाको दायरामा उल्लेखनीय सुधार हुनुमा बीमा प्राधिकरणको मुलुकभर नै गरिने सचेतना अभियान, कम्पनीको शाखा र व्यवसाय विस्तार, र अभिकर्ताहरूको प्रमुख भूमिका रहेको बीमा जानकारहरू बताउँछन् । बीमाले व्यक्तिको साथै संस्थामा अनिश्चित घटनाहरूबाट हुने जोखिमबाट सृजना हुने आर्थिक भार न्यूनीकरण गर्ने भएकाले मुलुकको समर्ग विकासमा बीमाको प्रमुख भूमिका रहँदै आएको छ ।  सातै प्रदेशमा बीमा विस्तार हुँदै नेपाल बीमा प्राधिकरणले सातै प्रदेशका स्थानीय तहहरूसँग सहकार्य गरेर बीमा सचेतनाका कार्यक्रम गर्दै आएको छ । अहिले मुलुकभरका नागरिकहरू बीमामा समेटिँदै गएको प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल बताउँछन् । बीमा ऐनमा नै प्राधिकरणले बीमा विकासमा काम गर्नुपर्ने विषय उल्लेख भएसँगै अहिले प्राधिकरणले आक्रमक रूपमा बीमा सचेतनाका कामहरू अघि बढाएको छ । प्राधिकरणका अनुसार चालू आवमा मात्रै प्राधिकरणले १०० भन्दा बढी स्थानीय तहमा बीमा सचेतना र अन्तरक्रिया कार्यक्रम आयोजना गरिसकेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार आव २०७९/८० मा सक्रिय निर्जीवन बीमालेखको संख्या २७ लाख ९२ हजार ५१६ छ । त्यसमध्ये सबैभन्दा बढी ४५ दशमलव ३० प्रतिशत बागमती प्रदेशमा छ । त्यसपछि लुम्बिनी प्रदेशमा १५ दशमलव ४९ प्रतिशत र कोशी प्रदेशमा १२ दशमलव ८५ प्रतिशत रहेको छ ।  आव २०७९/८० मा निर्जीवन बीमालेखबाट ४० अर्ब २१ करोड रुपैयाँ संकलन भएको छ । यसमध्ये ६७ दशमलव ३० प्रतिशत बागमती प्रदेशबाट, ८ दशमलव ७५ प्रतिशत लुम्बिनीबाट र ८ दशमलव ६२ प्रतिशत कोशीबाट संकलन भएको छ ।  आव २०७९/८० मा सक्रिय जीवन बीमालेखको संख्या १ करोड ४१ लाख ३७ हजार ३२१ पुगेको छ । त्यसमध्ये सबैभन्दा बढी ७० दशमलव ९५ प्रतिशत बागमती प्रदेशमा छ । त्यसपछि कोशी प्रदेशमा ७ दशमलव ८९ प्रतिशत र लुम्बिनी प्रदेशमा ७ दशमलव २६ प्रतिशत रहेको छ ।  आव २०७९/८० मा जीवन बीमालेखबाट १ खर्ब ४२ अर्ब रुपैयाँ संकलन भएको छ । यसमध्ये बागमती प्रदेशबाट ४४ दशमलव ३२ प्रतिशत, लुम्बिनीबाट १४ दशमलव ८९ प्रतिशत र कोशीबाट १२ दशमलव ३६ प्रतिशत बीमा शुल्क संकलन भएको छ ।

कर्णालीमा करीब १३ प्रतिशत नागरिक मात्र बीमाको पहुँचमा

वीरेन्द्रनगर। कर्णालीको कुल जनसंख्याको करीब १३ प्रतिशत नागरिक मात्र जीवन बीमाको पहुँचमा रहेको पाइएको छ । नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयले सार्वजनिक गरेको गत जेठ मसान्तसम्मको तथ्यांकले प्रदेशको जनसंख्याको १२ दशमलव ८९ प्रतिशतमा मात्र जीवन बीमाको पहुँच पुगेको देखाएको हो । कर्णालीको कुल १६ लाख ८८ हजार ४१२ जनसंख्यामध्ये सक्रिय जीवन बीमालेखको संख्या २ लाख १७ हजार ६५० रहेको प्राधिकरणको कर्णाली प्रदेश कार्यालयका प्रमुख पदमप्रसाद सोडारीले जानकारी दिए । यो संख्या अन्य प्रदेशको तुलनामा सबैभन्दा कम हो । कर्णाली प्रदेशमा जीवन बीमा कम्पनीका शाखा र उपशाखा कार्यालय ११० ओटा रहेको उनले बताए । कर्णालीमा बीमाको पहुँच विस्तारका लागि प्राधिकरणले जीवन तथा निर्जीवन बीमकसँग नियमित छलफल, बीमा अभिकर्ता र सर्भेयरसँग अन्तरक्रिया, स्थानीय सरकार, जिसस, प्रहरी लगायतसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिरहेको सोडारीले बताए । उनले भने, ‘कर्णालीमा जनचेतना तथा बीमा साक्षरताको कमी, बेरोजगारी तथा न्यून आयस्तर कारण बीमाको पहुँच बढ्न नसकेको हो ।’ यसैगरी बीमाशुल्क संकलनका आधारमा कर्णालीमा निर्जीवन बीमाको पहुँच १ दशमलव ४ प्रतिशत मात्र रहेको प्राधिकरण प्रदेश कार्यालयले बताएको छ । सम्पत्ति, सामुद्रिक, मोटर, कृषि बाली, लद्यु तथा विविधसहित कर्णालीमा ५६ हजार ८९२ निर्जीवन बीमालेख रहेको कार्यालयको तथ्यांक छ । प्रदेशमा निर्जीवन बीमा गर्नेको संख्या पनि न्यून छ । कर्णालीवासीलाई बीमाको महत्त्व बुझाउन आवश्यक रहेको नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख सोडारीले बताए ।

तोकिएको समयमा परिपालन प्रतिवेदन नबुझाउने बीमा कम्पनीमाथि कारवाही हुने

काठमाडौँ- बीमा समितिको आयोजनामा जीवन बीमा कम्पनीका परिपालन अधिकृतहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बीमा समितिका कानून तथा नियमन महाशाखाका प्रमुख एवम् निर्देशक दिनेश कुमार लालले बीमा समितिले उपलब्ध गराएको ढाँचामा सत्य तथ्य विवरण समावेश गरेर सञ्चालक समितिबाट स्वीकृत गरी त्रैमासिक रुपमा परिपालन प्रतिवेदन बुझाउन बीमा कम्पनीका परिपालन अधिकृतहरूलाई निर्देशन दिएका छन् । निर्देशक […]

जीवन बीमा कम्पनीसँग अन्तरक्रिया

काठमाडौं । बीमा समितिको आयोजनामा जीवन बीमा कम्पनीहरूसँग काठमाडौंमा बीमकको पुँजी वृद्धि तथा मर्जरसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिको निर्णय गरेर बीमा व्यवसायलाई व्यवस्थित, विकसित र नियमित गर्न खोजेकोउल्लेख गर्नुहुँदै कम्पनीले एक वर्षभित्र पँुजी वृद्धि गर्नै पर्ने बताउनुभयो । लगानी अनुरूको प्रतिफल […]

जीवन बीमा कम्पनीहरूसँग अन्तरक्रिया

काठमाडौँ– बीमा समितिको आयोजनामा जीवन बीमा कम्पनीहरूसँग बुधबार काठमाडौंमा बीमकको पूँजी वृद्धि तथा मर्जरसम्बन्धी अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ । कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धिको निर्णय गरेर बीमा व्यवसायलाई व्यवस्थित, विकसित र नियमित गर्न खोजेको उल्लेख गर्दै कम्पनीहरूले एक वर्षभित्र पूँजी वृद्धि गर्नै पर्ने बताए । लगानी अनुरूपको […]

जिल्ला तोकेर बीमा साक्षरता कार्यक्रम सञ्चालन गर्न लगाइँदै

काठमाडौं । बीमा कम्पनीहरूले बीमा साक्षरता कार्यक्रम सञ्चालन गर्न पर्याप्त मात्रामा चासो नदेखाएपछि बीमा समितिले उनीहरूलाई जिल्ला तोकेर जिम्मेवारी दिन लागेको छ । बीमा समितिले यसअघि निर्जीवन बीमा कम्पनीहरूलाई कृषिबीमा गर्न जिल्ला तोकेको थियो । अहिले भने बीमा साक्षरता कार्यक्रम गर्न जिल्ला तोकेको हो । निर्जीवन बीमाको हकमा तत्काल नै यस सम्बन्धमा निर्देशन जारी गरिने बताइएको छ । निर्जीवन बीमा कम्पनीहरूले जुन जिल्लामा कृषिबीमाको कार्यक्रम गरिरहेका छन्, त्यही जिल्लामा बीमा साक्षरता कार्यक्रम गर्न निर्देशन दिइनेछ । जीवन बीमा कम्पनीहरूलाई जिल्ला छुट्ट्याउने काम भइरहेको बीमा समितिको भनाइ छ । समितिअनुसार जीवन बीमा कम्पनीहरूले जीवन बीमासम्बन्धी र निर्जीवन बीमा कम्पनीहरूले निर्जीवन बीमासम्बन्धी नै साक्षरता कार्यक्रम गर्नुपर्ने हुन्छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीहरूलाई बीमा साक्षरता कार्यक्रम गर्न जिल्ला तोकिन लागेको बताए । अबको केही दिनमा नै यस सम्बन्धमा निर्देशन जारी गरिने उनको भनाइ छ । ‘बीमा साक्षरतालाई प्रभावकारी बनाउन यस्तो व्यवस्था गर्न लागेका हौं । निर्जीवन बीमा कम्पनीहरूले जुन जिल्लामा कृषिबीमाको कार्यक्रम गरेका छन्, त्यही जिल्लामै उनीहरूलाई यो जिम्मेवारी दिनेछौं,’ उनले भने, ‘त्यसअनुसार निर्जीवन बीमा कम्पनीहरूमा तत्कालै यो लागू हुनेछ ।’ बीमा कम्पनीहरूले यस्तो कार्यक्रम गर्दा हुने खर्च संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) मा गणना गर्न पाउने व्यवस्था गरिनेछ । यस्तो कार्यक्रम ल्याउँदा बीमासम्बन्धी साक्षरता कार्यक्रम प्रभावकारी हुने र बीमा पहुँच बढाउन सहयोग पुग्ने समितिको अपेक्षा छ । हाल समितिले स्थानीय तहहरूमा बीमासम्बन्धी साक्षरता तथा अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ । त्यो अवस्थामा बीमा कम्पनीहरूले जिल्लागत रूपमा बीमा साक्षरता कार्यक्रम गर्दा प्रभावकारी हुने पौडेलले बताए ।