वीरेन्द्रनगर। कर्णालीको कुल जनसंख्याको करीब १३ प्रतिशत नागरिक मात्र जीवन बीमाको पहुँचमा रहेको पाइएको छ । नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयले सार्वजनिक गरेको गत जेठ मसान्तसम्मको तथ्यांकले प्रदेशको जनसंख्याको १२ दशमलव ८९ प्रतिशतमा मात्र जीवन बीमाको पहुँच पुगेको देखाएको हो ।
कर्णालीको कुल १६ लाख ८८ हजार ४१२ जनसंख्यामध्ये सक्रिय जीवन बीमालेखको संख्या २ लाख १७ हजार ६५० रहेको प्राधिकरणको कर्णाली प्रदेश कार्यालयका प्रमुख पदमप्रसाद सोडारीले जानकारी दिए । यो संख्या अन्य प्रदेशको तुलनामा सबैभन्दा कम हो । कर्णाली प्रदेशमा जीवन बीमा कम्पनीका शाखा र उपशाखा कार्यालय ११० ओटा रहेको उनले बताए ।
कर्णालीमा बीमाको पहुँच विस्तारका लागि प्राधिकरणले जीवन तथा निर्जीवन बीमकसँग नियमित छलफल, बीमा अभिकर्ता र सर्भेयरसँग अन्तरक्रिया, स्थानीय सरकार, जिसस, प्रहरी लगायतसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिरहेको सोडारीले बताए । उनले भने, ‘कर्णालीमा जनचेतना तथा बीमा साक्षरताको कमी, बेरोजगारी तथा न्यून आयस्तर कारण बीमाको पहुँच बढ्न नसकेको हो ।’ यसैगरी बीमाशुल्क संकलनका आधारमा कर्णालीमा निर्जीवन बीमाको पहुँच १ दशमलव ४ प्रतिशत मात्र रहेको प्राधिकरण प्रदेश कार्यालयले बताएको छ । सम्पत्ति, सामुद्रिक, मोटर, कृषि बाली, लद्यु तथा विविधसहित कर्णालीमा ५६ हजार ८९२ निर्जीवन बीमालेख रहेको कार्यालयको तथ्यांक छ । प्रदेशमा निर्जीवन बीमा गर्नेको संख्या पनि न्यून छ । कर्णालीवासीलाई बीमाको महत्त्व बुझाउन आवश्यक रहेको नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख सोडारीले बताए ।