अभियान सम्पादकीय : एक्सपोर्ट हाउसमा विलम्ब

नेपालको व्यापारघाटा चुलिँदै गए पनि निर्यात वृद्धिका लागि सरकारी प्रयास अपर्याप्त देखिएको छ । नीतिनिर्माताहरूले सम्भावित विभिन्न पक्षको अध्ययन गरेर नीति बनाउँदै तिनलाई कार्यान्वयन गर्दै जानुपर्नेमा अनुदान दिने नीति लिएर बसेको छ । त्यही अनुदान पनि निर्यातकर्ताले सहजै पाउन नसकेको गुनासो गरिरहेका छन् । यद्यपि अनुदान निर्यात बढाउने सामान्य सहयोगी मात्रै हो । विश्व बैंकले नेपालको १० खर्ब निर्यातको सम्भावना देखाए पनि २ खर्बको पनि निर्यात हुन सकेको छैन । त्यसैले निर्यात वृद्धिका लागि एक्सपोर्ट हाउस अवधारणमा तुरुन्तै जानुपर्ने देखिएको छ । जो उत्पादन मात्र गर्न सक्छ, निर्यातका लागि आवश्यक प्रक्रिया पुर्‍याउन सक्दैन त्यस्ताका लागि एक्सपोर्ट हाउस निकै सहयोगी हुन्छ । नेपालमा उत्पादित मौलिक र भौगोलिक चिह्नका उत्पादनहरूको निर्यातको सम्भावना उच्च छ । त्यस्तै हस्तकलाका वस्तुदेखि लिएर जडीबुटीसम्मको निर्यात मजाले गर्न सकिन्छ । त्यस्तै केही औद्योगिक वस्तुको समेत निर्यात सम्भव देखिन्छ । खासगरी प्रतिस्पर्धा गर्नु नपर्ने र तुलनात्मक लाभ बढी देखिएका वस्तुको निर्यात सम्भावना प्रशस्त छ । तर, सरकारको उचित नीतिको अभावमै सम्भावनाको उपयोग हुन नसकेको देखिन्छ । निर्यातका लागि कुनै पनि वस्तुको भण्डारण, ढुवानी, ब्रान्डिङ, बजारीकरण आदि जरुरत हुन्छ । नेपालजस्तो देशमा यी सबै पक्षको जानकार उत्पादकहरू नहुनु स्वाभाविक हो । तिनलाई सहजीकरण गरिदिएर बजार शृंखलामा जोड्न आवश्यक छ । सरकार यहीँनेर चुकेको छ । उसले निर्यातको अनुपातमा अनुदान दिएर व्यवसायीलाई केही आर्थिक लाभ त दिएको छ तर त्यो पर्याप्त होइन । जुन व्यावहारिक, प्रक्रियागत र प्रविधिगत समस्याका कारण निर्यात गर्न नसकिरहेको अवस्था छ त्यसलाई निर्यात अनुदानले केही पनि सहयोग गर्दैन । अत: यी समस्या समाधान गर्न एक्सपोर्ट हाउस अनिवार्य छ । नेपालका असमान भौगोलिक बनोटका कारण विभिन्न क्षेत्रमा फरकफरक प्रकृतिका उत्पादन भए पनि तिनलाई निर्यात गर्न कठिन भइरहेको छ । यस्तोमा सातओटै प्रदेशमा एक्सपोर्ट हाउस बनाउने हो भने निर्यातका लागि सहज हुन्छ । एक्सपोर्ट हाउसको व्यवस्था भएमा सबै प्रदेशका निर्यात सम्भावना बोकेका वस्तुहरूलाई एकै ठाउँमा एकत्रित गरिन्छ र त्यसबाट निर्यातका लागि सहज हुन्छ । एक्सपोर्ट हाउसले वस्तु उत्पादन र आयातकर्तालाई एकै ठाउँमा भेला गराइदिन्छ । सानासाना उत्पादनकर्ताले समेत एक्सपोर्ट हाउसमा आफ्ना उत्पादन पठाउन सक्छन् । आयातकर्ताले पनि सबै सामान एकै ठाउँमा पाउने भएपछि उसको समय बचत हुन्छ र आफूले आयात गर्ने सामानबारे सबै जानकारी एकै ठाउँबाट लिन्छ । साथै, उत्पादित सामानको गुणस्तर थाहा पाउन पनि सहज हुन्छ । मुख्यत: उत्पादकलाई निर्यातबारे थाहा नभएको अवस्थामा एक्सपोर्ट हाउसले निर्यातका लागि ठाउँ उपलब्ध गराइदिन्छ । नेपालमा अहिले उत्पादक आफैले निर्यातको जिम्मा लिएको छ । सामान्यतया उत्पादकले आफ्नो सम्पर्कबाट आयातकर्ता खोज्छ र सामान निर्यात गर्छ । जो उत्पादन मात्र गर्न सक्छ, निर्यातका लागि आवश्यक प्रक्रिया पुर्‍याउन सक्दैन त्यस्ताका लागि एक्सपोर्ट हाउस निकै सहयोगी हुन्छ । औद्योगिक वस्तुको निर्यात गर्न ठूला व्यवसायीलाई खासै समस्या छैन । तर, साना तथा घरेलु उद्योगीहरूका लागि गुणस्तरीय उत्पादन भएर पनि निर्यातमा समस्या भइरहेको छ । त्यसैले यस्ता वस्तुको निर्यातका लागि एक्सपोर्ट हाउसको आवश्यकता पर्छ । एक्सपोर्ट हाउसले निर्यातका लागि प्रवर्द्धनात्मक कार्य गरिदिने, बजारसँग प्रतिक्रिया गर्ने अवसर दिने, कागजी र कानूनी प्रक्रिया सहज बनाइदिने जस्ता काम गर्छ । अझ कतिपय एक्सपोर्ट हाउसले त साना व्यवसायीका सामान किनेर आफै ब्रान्डिङ गरेर निर्यातसमेत गर्छन् । भारतमा भइरहेको निर्यात वृद्धिको एउटा कारण एक्सपोर्ट हाउस पनि हो । त्यहाँ कुल निर्यातमा एक्सपोर्ट हाउसको अंश ठूलै रहेको देखिन्छ । विभिन्न देशले यसलाई अपनाइरहेको अवस्थामा नेपालले पनि उपेक्षा गर्दै आइरहेको छ । निजीक्षेत्रले यसका लागि बारम्बार माग गरेको पनि छ । त्यसैले अब निर्यात वृद्धिका लागि एक्सपोर्ट हाउससम्बन्धी कानून बनाई यसको व्यवस्था गर्न ढिला गर्नु हुँदैन । यो व्यवस्था नगर्ने हो भने व्यापारघाटा बढ्यो भनेर रोइकराई गर्नुको कुनै औचित्य छैन ।

सम्बन्धित सामग्री

सम्पादकीय- संघीय निजामती सेवा ऐनमा विलम्ब नगर

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली लागू भएको सात वर्ष बितिसक्दासमेत स्थायी सरकारको रुपमा रहेको निजामती प्रशासन हाँक्ने कानुन बन्न सकेको छैन । संघीय शासन प्रणाली अनुरुपको संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा प्रशासन पुरानै किसिमले चल्न बाध्य छ । वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेत संघीय […]

सम्पादकीय : प्रधानमन्त्रीको भारत भ्रमण

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा भारतीय पक्षसँग केही विषयमा सम्झौता र केहीमा सहमति भएको छ । नेपालले अपेक्षा गरेका केही विषयमा भारतले चासो नदिए पनि भ्रमणमा केही महत्वपूर्ण काम भएका छन् । फुकोट कर्णाली र अरुण तल्लोमा आयोजना विकास सम्झौता भएको छ । विद्युत् निर्यातका लागि भएको सहमति र सम्झौता सकारात्मक मान्न सकिन्छ ।  प्रधानमन्त्री दाहालको भ्रमणमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने बताए । त्यसो हुन सके यो सकारात्मक उपलब्धि हुनेछ । भारतमा विक्रीका लागि बाटो खुल्यो भने लगानीकर्तालाई ढुक्कसँग नेपालको जलविद्युत्मा लगानी गर्न आकर्षित गर्न सकिन्छ । भारतको बाटो भएर बंगलादेशलाई बिजुली बेच्न नेपालले पहल गरेको केही समय भएको छ । बंगलादेश बिजुली किन्न र नेपालमा लगानी गर्नसमेत इच्छुक छ । यसमा भारतीय पक्षको सहयोग आवश्यक पर्छ । प्रधानमन्त्रीको भ्रमणमा भारत यसका लागि तयार भएको पनि समाचार आएको छ । त्यसैगरी न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको शिलान्यास पनि गरिएको छ ।  नेपाल र भारतबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ३ महीनाभित्र टुंगो लगाउने सहमति भएको समाचार पनि छ । २७ वर्षअघि सम्झौता भएर पनि काम अघि बढ्न नसकेको यस आयोजनाबारे अन्योल हट्नु आवश्यक छ । त्यस्तै भैरहवाबाट हवाई प्रवेश विन्दु दिन पनि भारतसँग सम्झौता हुन सकेन तर गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा आईएलएस अवतरणको सुविधा खुला गर्ने घोषणा भएको छ । यसले खराब मौसममा विमान अवतरण गर्न सहज हुनेछ । यसको कार्यान्वयनका लागि नेपालको सक्रियता बढी महत्वपूर्ण हुने देखिन्छ ।  भारत र नेपालबीच अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सहमति भएको छ । नेपाली व्यवसायीहरूले लामो समयदेखि यसको माग गर्दै आएका थिए । यसबाट भारतमा अध्ययन वा उपचारका लागि जाने नेपालीलाई सहज हुनेछ भने भारतीय पर्यटकका लागि पनि सहज हुनेछ ।  पारवहन सन्धिको नवीकरण पनि भएको छ । यसबाट भारतले गंगा नदीमा विकास गरेको आन्तरिक जलमार्गको पहुँच नेपालले पनि पाउने बताइन्छ । यस मार्गबाट नेपालले आयात निर्यात गर्न सक्नेछ ।  सम्झौता नभएका तर छलफलमा सहमति जुटेका वा थप अध्ययन गर्ने भनिएका विषय पनि छन् । यी विषय नेपालका लागि निकै महत्वपूर्ण छन् । यिनमा कुन तहको सहमति भएको हो र भारतीय पक्षको आशय के हो भन्ने स्पष्ट खुलेको छैन । नेपालको प्रस्ताव पन्छाउनकै लागि यसो भनिएको पनि हुन सक्छ । अथवा यसमा उसको कुनै विशेष आशय पनि हुन सक्छ । तर, एक प्रकारको सहमति भइसकेको अवस्थामा त्यसलाई कार्यान्वयनमा लैजान नेपालले सक्दो पहल गर्नुपर्छ । अन्यथा सम्झौता हुने तर कार्यान्वयन गर्ने बेलामा विभिन्न बहाना खोज्ने भारतीय प्रवृत्ति पुनरावृत्ति नहोला भन्न सकिँदैन ।  कुनै पनि सम्झौता कार्यान्वयनमा हस्ताक्षरकर्ता दुवै पक्ष उत्तिकै इमानदार र सक्रिय हुनुपर्छ । भारतसँग एकीकृत भन्सार चौकी निर्माणलगायतमा भएका सहमतिमा नेपालले आफूले गर्नुपर्ने काम नगर्दा विलम्ब भएको तथ्य पनि छ । त्यसैले नेपाल सहमति र सम्झौता कार्यान्वयनमा आफू पनि सक्रिय हुनुपर्छ र भारतलाई पनि झकझक्याइरहनुपर्छ । सम्झौता भएपछि विरोध गर्नेको जमातले पनि कार्यान्वयनमा अवरोध पुर्‍याएको देखिन्छ । त्यसैले भावनात्मक कुरा गर्नुभन्दा व्यावहारिक बनेर सम्झौता कार्यान्वयनमा मुलुकमा समान धारणा बन्न आवश्यक छ । अहिलेका सम्झौता त्यतिबेला उपयोगी भएको मानिन्छ, जतिबेला कार्यान्वयन हुन्छन् र जनताले त्यसको लाभ लिन थाल्छन् ।

अभियान सम्पादकीय : द्रुतमार्गमा विलम्ब

सरकारले २०७४ वैशाखमा ४ वर्षभित्र निर्माण सकिसक्ने गरी नेपाली सेनालाई काठमाडौं–तराईमधेश दु्रतमार्गको जिम्मा दिए पनि उक्त अवधि गुज्रिएर म्याद थप हुँदासमेत यसको प्रगति २२ प्रतिशतमात्रै भएको छ । नेपाली सेनाले जुन व्यावसायिकता र दक्षता यसको निर्माणमा देखाउने अपेक्षा गरिएको थियो त्यो पूरा हुन नसक्नु निकै दुःखद पक्ष हो । अहिलेकै गतिमा यसको निर्माण हुने हो भने अझै कैयौंपटक यसको म्याद थप्नुपर्ने हुन्छ जसबाट यसको लागत निकै गुणा बढी पर्छ र यो सेतोहात्ती नबन्ला भन्न सकिँदैन । नेपाली सेना सडक निर्माणमा संलग्न भएको यो पहिलो होइन । यसको ट्र्याक पनि सेनाले नै खोलेको थियो । सार्वजनिक निजी साझेदारी मोडलमा भारतीय कम्पनीलाई निर्माणको जिम्मेवारी दिँदा निकै विरोध भएपछि तत्कालीन सरकारले यसको जिम्मा नेपाली सेनालाई दिएको थियो । यसले निर्धारित समयमा निर्माण सक्ने दाबी गरे पनि उपलब्धि भने कछुवाको गतिमा छ । म्याद थपेपछि ३ वर्षभित्र निर्माण गरिसक्ने बताए पनि अहिले फेरि म्याद थप्नुपर्ने अवस्था आएको छ र थपिएका म्यादमा पनि निर्माण हुन सक्ने स्पष्ट आधार देखिएको छैन । यसले गर्दा ३५ अर्बमा तयार हुने भनिएको यो सडकको लागत ४/५ खर्ब पुग्ने सक्ने विश्लेषण गर्न थालिएको छ । निर्माण कार्यमा विलम्ब हुन थालेपछि यसको जिम्मा सेनालाई दिनुको अर्थ के हो त ? भन्ने प्रश्नसमेत गर्न थालिएको छ । अरूले काम गर्न नसकेपछि सेनालाई त्यसको जिम्मा लगाइएको हो भन्ने कुरा बिर्सन मिल्दैन ।  नेपालमा साना वा ठूला जस्तासुकै आयोजना होऊन् ती समयमा सम्पन्न भएको पाइँदैन । यसो हुनुमा व्यवस्थापनसँग सम्बद्ध समस्यादेखि प्राविधिक ज्ञानको कमीसम्मका कारण रहेका देखिन्छन् । त्यसो त गलत नियतले ठेक्काको काम नगर्ने ठेकेदारकै कारण आयोजनामा विलम्ब हुने गरेको पनि छ । अन्य मुलुकमा समयमै काम गरेर नाम कमाएको चिनियाँ कम्पनी भने नेपालमा काम नगरी आयोजनाको म्याद बढाउने खेलमा लागेको देखिन्छ । यसले नेपालको विकास निर्माणका आयोजनामा हुने भ्रष्टाचारलाई देखाउँछ । समयमा काम नगर्ने र फोर्स मेजर अर्थात् विशेष अवस्था भन्दै म्याद थप्न लगाउने प्रवृत्ति देखिन्छ । नेपाली सेनाबाट यस्तो नहुने अपेक्षा आमजनतामा छ । त्यसैले आमजनताको विश्वास नतोडिने गरी सेनाले दु्रतमार्गलाई तीव्र गतिमा सम्पन्न गर्नु जरुरी छ ।  नेपाली सेनाले राज्यले दिएको जिम्मेवारी पूरा गर्ने गरेको छ । त्यस्तै सेना चेन अफ कमान्डमा चलेको हुन्छ र यसले भ्रष्टाचार गर्दैन भन्ने पनि धेरैमा विश्वास छ । मुलुकका अन्य संयन्त्र कामै नलाग्दा पनि सेनाले भने काम गर्छ भन्ने जनविश्वासलाई आधार मानेर नै सरकारले यो सडक निर्माणको काम सेनालाई दिएको देखिन्छ । यस्तोमा सेनाले आफ्नो छवि बचाएर काम गर्नु जरुरी छ ।  नेपालको सार्वजनिक खरीद ऐन, विकास निर्माणमा हुने स्थानीयको अवरोध, समयमा काम नगर्ने कम्पनीहरूका कारण हरेक आयोजनाको प्रगति निकै सुस्त छ । सरकारी संयन्त्रमा समन्वयको अभाव र एकअर्काको कार्यक्षेत्रमा हस्तक्षेप गर्ने प्रवृत्तिले पनि काममा विलम्ब हुने गरेको छ । यो आयोजना सेनाले जिम्मा लिएपछि यस्तो समस्या कम हुन्छ भन्ने सोचिए पनि त्यसो हुन सकेन । खोकना क्षेत्रमा स्थानीयको विरोध रहेकाले सेनाले तराई क्षेत्रबाट निर्माण थालनी गर्‍यो जसको समाधान अझै भएको छैन । सुरुङ मार्गको ठेक्कामा भएको विलम्बले पनि आयोजनामा असर पर्‍यो । यस्ता अवरोधलाई छिचोल्न र व्यवस्थापकीय क्षमता देखाउन सेनाले थप गम्भीर हुन र गृहकार्य गर्न जरुरी देखिन्छ ।  हुन त विकास निर्माणका आयोजनाको ठेक्का लिनु सेनाको कार्यक्षेत्र होइन तर राज्यले आवश्यक ठानेर जिम्मेवारी दिएपछि त्यो पूरा गर्नु उसको दायित्व हो । यो दायित्व पूरा गर्न उसले आफ्नो संगठनको पूरा क्षमता लगाउन आवश्यक छ । तर, त्यसो गर्न सकेको देखिँदैन । अतः सेनाले सरकारबाट केकस्ता सहयोग चाहन्छ त्यो स्पष्ट माग गर्नुपर्छ र आयोजनालाई छिटो सम्पन्न गरेर आफ्नो छवि जोगाउन सक्नुपर्छ ।  #abhiyan #editorial #FastTrack

अभियान सम्पादकीय : पूँजीबजारमा सिनर्जी

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्जको लाइसेन्स प्रक्रिया र ब्रोकर संख्या थप्न गरेको नयाँ व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएसँगै यो प्रक्रिया पूरा गर्न बोर्डलाई बाटो खुलेको छ । यसले नेपालको पूँजी बजार विस्तार गर्न सहयोग पुग्ने भएकाले शेयरबजारमा आशाको सञ्चार छाएको छ र यसले शेयरबजारमा सिनर्जी प्रभाव ल्याउने अपेक्षा गरिएको छ । नेपालमा सर्वसाधारणलाई लगानीको अवसर र उपकरण ज्यादै कम उपलब्ध हुँदा नै अनुत्पादक क्षेत्रमा लगानी र खर्च बढेको हो । यसलाई रोक्न बोर्डले लगानीका विविध औजार ल्याउने बाटो खोलिहाल्नुपर्छ । ब्रोकर संख्या थप्न, नयाँ एक्सचेन्ज स्थापना गर्न र कमोडिटी एक्सचेन्ज स्थापना गर्न प्रयास गरेको लामो समय भए पनि कानूनी प्रक्रिया पूरा गर्न समय लागेकाले विलम्ब भइरहेको छ । लगानीकर्ता, सूचीकृत कम्पनी, बजारको आकार आदि सबै बढ्दा पनि निश्चित संख्याका ब्रोकरमात्रै हुँदा शेयरबजारले अपेक्षित गति लिन नसकेको विश्लेषण भइरहेको छ । त्यसैले नयाँ एक्सचेन्ज र ब्रोकर थप्न लगानीकर्ताका संघसंगठनले समेत माग गरेका थिए । नयाँ ब्रोकर नथप्दा भएका ब्रोकरहरूले नयाँ प्रविधि भित्र्याउन नसकेको, मार्जिन कारोबारको सुविधा दिन नसकेको आदि समस्या थियो । यसलाई सम्बोधन गर्न बोर्डले प्रक्रिया पूरा गरेर आवेदन दिने सबैलाई ब्रोकरको अनुमति दिने व्यवस्था गरेको छ । विगतमा संख्या तोकेर ब्रोकरको लाइसेन्स खुलाइएको थियो तर अहिले बोर्डले तय गरेका शर्त र प्रावधान पूरा गरेका जुनसुकै कम्पनीलाई अनुमति दिने व्यवस्था गरेको छ । यसले प्रतिस्पर्धाको वातावरण सृजना गरेको छ । यसले गर्दा हितग्राहीले बढी सुविधा पाउन सक्छन् । साथै, ब्रोकरहरूले नयाँनयाँ सेवा दिन पनि थाल्नेछन् । चुक्ता पूँजीका आधारमा ब्रोकर कम्पनीको कार्यक्षेत्र पनि थपघट हुने भएकाले अब बढी सेवा दिने ठूला कम्पनी स्थापना हुने देखिन्छ । यसले गर्दा शेयरबजार थप विस्तार र परिपक्व हुँदै जानेछ । बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफुलाई सुधार्न नसकेको भन्ने आरोप लाग्ने गरेको छ । प्रतिस्पर्धा नभएकाले उसको सेवाबारे लगानीकर्ताले बारम्बार प्रश्न उठाएका थिए । हुन पनि बजारमा तीव्र उतारचढाव आएका बेला सफ्टवेयरले काम नगर्ने, कहिले मुसा पसेर तार काट्यो भन्ने, सर्भर डाउन हुनेजस्ता समस्या बारम्बार दोहोरिँदा पनि नेप्सेले सुधार गर्न सकेको थिएन । त्यसैले लगानीकर्ताले प्रतिस्पर्धाकै लागि नयाँ एक्सचेन्जको माग गरेका हुन् । नयाँ एक्सचेन्जका लागि आवेदन नपरे पनि अब आवेदन खुलाउँदा निजीक्षेत्रबाट एक्सचेन्ज स्थापनाको प्रस्ताव आउन सक्ला । यदि दुईओटा एक्सचेन्ज भए नियामकले गर्नुपर्ने काम थपिन्छ । यसरी देखिने केही जटिलतालाई सहजीकरण गरे नयाँ एक्सचेन्जले पूँजी बजारलाई परिपक्व बनाउँछ । कुनै बेला नेपालमा कमोडिटी बजारले राम्रै गति लिएको थियो तर नियमनको व्यवस्था गरेपछि मात्रै सञ्चालन गर्न दिने भनी कमोडिटी बजार बन्द गरियो । यो बन्द गराएको दशक पुग्न लाग्दासमेत बोर्डले यसका लागि काम गर्न सकेको छैन । आवेदन खुलाउने, मुद्दा पर्ने, फेरि आवेदन खुलाउने प्रक्रियाकै वरिपरि यो समस्या घुमिरहेको छ । अब भने कमोडिटी बजार खोल्न तत्कालै एक्सचेन्ज स्थापनाको अनुमति दिनुपर्छ । बजारमा जति धेरै लगानीका उपकरण हुन्छन् त्यति नै सर्वसाधारणले लगानी गर्ने अवसर पाउँछन् । लगानीको अवसर पाउँदा उनीहरूको बचत पनि बढ्छ । नेपालमा सर्वसाधारणलाई लगानीको अवसर र उपकरण ज्यादै कम उपलब्ध हुँदा नै अनुत्पादक क्षेत्रमा लगानी र खर्च बढेको हो । यसलाई रोक्न बोर्डले लगानीका विविध औजार ल्याउने बाटो खोलिहाल्नुपर्छ । पूँजी बजारलाई कुनै पनि देशको अर्थतन्त्रको ऐना भन्ने गरिने भएकाले पूँजी बजारको राम्रो विकास हुनुपर्ने ठानिन्छ । त्यसैले पूँजी बजारको विकासका लागि हुने राम्रा निर्णय सधैं स्वागतयोग्य हुन्छन् र हुनुपर्छ । ५६ लाखभन्दा बढीले डिम्याट खाता खोलिसकेको सन्दर्भमा र अर्बांै रुपैयाँ सर्वसाधारणको लगानी भइसकेको बेला नियामक निकायले गर्ने यस्ता निर्णयको दीर्घकालीन प्रभाव महत्त्वपूर्ण हुन्छ ।

[सम्पादकीय] सरकार–सीके सहमतिका तरंग

सहमतिमा वचनबद्ध हुने दायित्व जति राउत पक्षको हो, त्यति नै राज्य पक्षको हो । रिहाइ र क्षतिपूर्तिमा जति विलम्ब हुन गयो, त्यसले असन्तुष्टिलाई मलजल गर्नेछ । विगतमा सहमति गर्ने तर तत्काल कार्यान्वयन नगर्दा मुद्दाहरू कचल्टिरहेका दृष्टान्त छन् ।