काठमाडौं (अस) । मारवाडी सेवा समितिले नेपाल–भारत मैत्री हस्पिटलसँगको सहकार्यमा काठमाडौंको पशुपति गौशाला धर्मशालामा ५१ बेडको अक्सिजनसहितको निःशुल्क आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । उपप्रधानमन्त्री ईश्वर पोख्रेलले उक्त आइसोलेसन सेन्टरको उद्घाटन गरे ।
समितिका अनुसार पीसीआर टेस्ट पोजेटिभ आई कोरोनाको लक्षण ज्वरो, खोकी आदि देखिएका र चिकित्सकको निगरानीमा बस्नुपर्नेलाई यो आइसोलेसनमा भर्ना लिइनेछ । सेवाअन्तर्गत खाने, बस्ने र अक्सिजन, औषधी तथा आधारभूत स्वास्थ्य सेवाका लागि चाहिने सबै वस्तु निःशुल्क हुने समितिले बताएको छ । विशेष औषधी तथा इन्जेक्सनलगायत चाहिए बिरामी आफैंले बेहोर्नुपर्ने समितिले जनाएको छ ।
कोरोना लागेर आइसोलेसनमा बसेका बिरामी निको भए घर जान सक्नेछन् । समितिका अनुसार जटिलता आए विरामीलाई सुविधा सम्पन्न अस्पतालमा लैजाने खर्च स्वयंले गर्नुपर्नेछ ।