राजनीतिभन्दा देश माथि हुन्छ । राजनीतिको ध्येय देश र जनताको समृद्धि हो, हुनु पर्छ । व्यक्तिगत, पारिवारिक सुखसयल पनि मुलुकको समृद्धिबिना अर्थहीन र अस्थिर हुन्छ । मुलुकको समृद्धि प्राप्तिका लागि जनअधिकारको सुनिश्चितता चाहिन्छ । जनअधिकारको सुनिश्चितासहित स्वतन्त्रताले शासकदेखि सर्वसाधारण नागरिकसम्मलाई मुलुकको समृद्धि लक्ष्यमा हातेमालो प्रवर्धन गर्छ । मुलुकका लागि राजनीतिक सीमा तोडेर हातेमालोको संस्कृति विकास गर्ने चाहमा राजनेता बिपी कोइरालाले विक्रम संवत् २०३४ देखि राजनीतिमा चियापान संस्कृति प्रारम्भ गर्नुभएको थियो । जहानियाँ राणा शासनविरुद्ध जनताले लडेर ल्याएको प्रजातन्त्र २०१७ मा राजाले खोसेपछि भारत निर्वासनमा रहनुभएका नेपाली कांग्रेसका सभापति बिपी कोइरालाले २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्न थाल्नुभएको चियापान कार्यक्रमलाई नेपाली कांग्रेसले परम्परा बनाएको छ । यस पटक पनि कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित चियापानमा सहभागिता उदाहरणीय देखियो । अलग पार्टीका स्वाभाविक विपक्षीसमेत सम्मुख भए, शुभकामना आदानप्रदान गरे । त्यही परिवर्तनका संवाहक पुराना र ठूला पार्टीका नेतृत्वतर्फबाट सन्तोषप्रद कुरो आयो– हामीमाथि उठाउन प्रयास गरिएका प्रश्नको उचित जवाफ दिने छौँ । छिमेकी भारत र चीनमा जस्तो साम्राज्यवादी बुटधारी अनि घरेलु सामन्तवादविरुद्ध कठोर लडाइँ गर्नु नपरे पनि सँगसँगै कठोर जहानियाँ शासनविरुद्ध लडेर सँगसँगैजस्तो आधुनिक विकासको चरणमा पुगेका थिए नेपाली जनता । नेपालबाट अन्न लगेर खानुपर्ने ती दुई छिमेकी आज अन्तरीक्ष यात्राको होडमा छन्, नेपाली हामी तिनले खाद्यवस्तु, लत्ताकपडा नपठाए भोकै, नाङ्गै बस्नुपर्ने, स्थल तथा हवाईमार्ग नदिए थुनिनुपर्ने अवस्थामा छौँ । हिजो ती देशलाई विश्व पहिचान दिलाउन सकेको स्वतन्त्र, स्वाधीन, स्वाभिमानी मुलुक आज विश्व रङ्गमञ्चको त्यो हैसियतमा कमजोर दृष्टिगोचर हुँदै छ । यो स्खलनको कारक के हो ? प्रजातन्त्र खोसेको शाही शासकीय पञ्चायती राजतन्त्र मात्र होइन, २०४६ को जनआन्दोलन अनि २०६२/६३ को संयुक्त जनआन्दोलनपछि राजनीतिक दलहरूबाट सञ्चालित सत्ता पनि प्रश्नको घेरामा छ । त्यसैले निराश जनताले पछिल्लो संसदीय निर्वाचनमा परिवर्तनकारी दललाई ‘पुराना’ भनाउनुपर्ने गरी नयाँ दल उदाएका छन्, जिलौटाजस्तै । जिलौटो प्राण शून्यप्रायः हुन्छ । तर ती ड्ढ्ने क्रममा हुरी आए डढेलो फैलिन सक्छ । यस्तै नयाँ दलले २०८४ को चुनावमा परिवर्तनका संवाहक पुराना दललाई सखाप पारिदिने चेतावनी दिन तम्सिनु पाठापाठीको बुर्कुसीजस्तै त होला तर अब पनि जिम्मेवार राजनीतिक दलहरूले मेरै सिङ ठूला भन्ने दम्भ राख्ने हो भने नरहे बाँस नबजे बाँसुरी भन्ने आहान चरितार्थ हुन बेर लाग्दैन । प्राथमिकता राष्ट्र र नागरिकप्रतिको गम्भीर जिम्मेवारी हो । हो, त्यस्तो नहोस् भन्ने मनसुवा थियो बिपी कोइरालामा । राजनीतिक परिवेश र सन्दर्भ फरक छन् तर सार एउटै छ– नागरिक सर्वोच्चता र स्वतन्त्रतासहितको लोकतन्त्र अनि मुलुकको स्वाधीनता रक्षा । हिजो निर्दलीय निरङ्कुशता र त्यसको आडमा मुलुकको स्वाधीनता हडपिने खतरा, आज लोकतन्त्रको लाभ अनि जिम्मेवार राजनीतिक शक्तिहरूको लाचारीको फाइदा उठाई जिलौटा सल्काइदिएर डढेलो लगाइदिने खतरा । नेपालको जैविक प्रणाली नै ध्वस्त पारिदिने डढेलोको गुञ्जायसै समाप्त पार्न पनि सबै नेपालीबिच मेलमिलाप आवश्यक छ । अर्थतन्त्र उँभो लगाउन पनि ढिला गर्नुहुन्न । राजनीतिक दलहरू प्रतिबन्धित रहेको निरङ्कुश परिवेशमा सांस्कृतिक परम्परा सदुपयोग गरी चियापान कार्यक्रम आयोजना गर्नुको गूढार्थ थियो मुलुकको स्वाधीनता । बिपी कोइरालाले चाहेका भए भारतमै शासकीय मेजमानी खाएर बसी नेपालको राजतन्त्रलाई प्रजातान्त्रिक लेपन लगाउन सक्नुहुन्थ्यो । तर उहाँले जोखिम मोल्नुभयो । फाँसीको खतरा भए पनि २०३३ सालमा राष्ट्रिय मेलमिलापका नीति लिएर स्वदेश आउनुभयो । मेरो घाँटी पनि राजासँगै जोडिएको छ भन्दै हामी नेपाली विभाजित छैनौँ, हुन्नौँ भन्ने स्वाभिमान प्रदर्शन गर्नुभयो । त्यो राष्ट्रिय स्वाभिमान अजेय, अभेद्य हुनु पर्छ । अहिले मुलुकले समृद्धिका लागि अख्तियार गरेको राजनीतिक प्रणाली, यसका संस्थापक राजनीतिक दलहरू अनि राज्य संस्था, निकायप्रति संशय विस्तारका प्रयत्न भइरहेका छन् । सोझो राजनीतिक बुझाइमा यो संशय जायज देखिए