साउन २७, काठमाडौं । सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडले वार्षिक साधारण सभा भदौ ८ गते गर्ने भएको छ ।
कम्पनीले सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा कामनपा वडा नं ४ स्थित बालुवाटारमा भर्चुअल माध्यमबाट गर्ने बताएको छ ।सभाले कम्पनीले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ५० प्रतिशत अर्थात् २ बरावर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी ७३ करोड ३२ लाख ५० हजार रहेको छ । १० प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको पूँजी रू. ८० करोड ६५ लाख ७५ हजार पुग्नेछ ।
सोही पूँजीको आधारमा कम्पनीले हकप्रद शेयर जारी गर्ने योजना बनाएको छ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका भदौ ४ गतेदेखि १८ गतेसम्म बन्द रहनेछ । यस आधारमा भदौ ३ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
कम्पनीको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।