भूकम्पपछिका वर्षमा जाजरकोटमा खानेपानीको समस्या हुन थालेको छ । यहाँको भेरी र नलगाड नगरपालिका तथा कुसे, बारेकोट गाउँपालिकाका विभिन्न बस्तीका पानीको मुहान सुकेपछि यहाँका बस्तीमा खानेपानीको समस्या हुन थालेको हो । गत कात्तिक १७ गते गएको भूकम्पले धर्ती हलचल भएपछि धेरै जसो मुहान सुकेका छन् । मुहान सुकेपछि खानेपानी समस्या बढ्दै गएको छ । बस्ती नजिकका मुहान सुकेपछि यहाँका बासिन्दा घण्टौँ टाढाबाट पानी बोकेर खान बाध्य भएका छन् ।