दस लाख लिटर दूध अभाव

काठमाडौं, कात्तिक १३ । कोभिड–१९ का कारण दुग्ध तथा दूध पदार्थ बिक्री नहुँदा हैरान भएका डेरी उद्योगीहरूलाई अहिले दूधको अभाव भएको छ । होटल, विद्यालय, पार्टी प्यालेस, कलकारखानालगायत बजार सञ्चालनमा आएपछि दूध तथा दुग्धजन्य पदार्थको माग बढेको कारण दूधको अभाव भएको छ । कोभिड–१९ महामारीका कारण भएको बन्दाबन्दीका कारण बिक्री नभएको दूधबाट एसएनपी ९धुलो दूध०, […]

सम्बन्धित सामग्री

९ अर्ब ४१ करोडको दुग्ध पदार्थ मौज्दात

काठमाडौं । खपत घटेपछि दुग्ध पदार्थको मौज्दात झन् झन् बढेको छ । महीना दिनमै करीब साढे ३ अर्ब रुपैयाँको धूलो दूध र बटर मौज्दात थपिएर कुल मौज्दात ९ अर्ब ४१ करोड रुपैयाँभन्दा माथि पुगेको छ । दुग्ध विकास बोर्डले दिएको जानकारीअनुसार महीना दिन अघिसम्म ६ अर्ब रुपैयाँको धूलो दूध र बटर मौज्दात थियो ।  आर्थिक मन्दीका कारण दूधको खपत घट्नुका साथै उत्पादन पनि बढेकाले मौज्दात थपिँदै गएको हो । बोर्डका कार्यवाहक कार्यकारी निर्देशक डा. बालक चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) सँग ४० करोड, डेरी उद्योग संघसँग ७ अर्ब ६० करोड र नेपाल डेरी एशोसिएशनसँग १ अर्ब ४१ करोड रुपैयाँको धूलो दूध र बटर मौज्दात रहेको जानकारी दिए । एक महीनामै थपियो साढे ३ अर्ब रुपैयाँ बराबरको दुग्ध पदार्थ  उनका अनुसार सामान्यतया भदौ अन्त्यतिरबाट फागुनसम्म दूध उत्पादन बढ्ने सिजन हो । तर, यसवर्ष वैशाखदेखि नै उत्पादन बढेको थियो । यसले धूलो दूध र बटरको मौज्दात बढाएको देखिन्छ । पछिल्लो समय उन्नत नश्लका गाईभैंसीपालनमा किसानको सक्रियता, दूध उत्पादनमा स्थानीय र प्रदेश सरकारले देखाएको तदारुकता र वातावरणमा देखिएको उतारचढावका कारण समयअगावै दूध उत्पादन बढ्ने सिजन शुरू  भएको चौधरी बताउँछन् । ‘दूध उत्पादन बढ्नु राम्रो कुरा हो । तर, जसरी उत्पादनले उचाइ लिएको छ सोही अनुपातमा बजारमा खपत भइरहेको छैन । सामान्य अवस्थामा नेपालमा हरेक दिन करीब ७० लाख लिटर झोल दूध उत्पादन हुने गर्छ । यस वर्ष उत्पादन ४ प्रतिशतसम्मले बढेको देखिन्छ । बजारमा खपत भने १५ प्रतिशतले घटेको छ । यसले गर्दा मौज्दात दिन प्रतिदिन बढ्दो क्रममा छ,’ उनले भने । व्यवसायीहरू बजारमा झोल दूधको विक्री घट्दा पहिलेको मौज्दात धूलो दूध विक्री गर्न नसकेको र हाल किसानसँग किनेको झोल दूधलाई पनि धूलोमा परिणत गर्नुपर्ने अवस्था आउँदा मौज्दातको आकार बढेको बताउँछन् । पाँच महीना अघिसम्म विभिन्न डेरी उद्योगले दूध अभाव भएको भन्दै भारतबाट आयात गर्न दिन माग गरिरहेको अवस्थामा यति चाँडै आन्तरिक उत्पादनसमेत विक्री नहुने अवस्थामा पुग्नु नेपाली डेरी क्षेत्रका लागि चिन्ताको विषय रहेको सरोकारवाला बताउँछन् । अहिले बजारमा सबै वस्तुको मूल्य दिन प्रतिदिन बढ्दै गएको छ । यही बेला उपभोक्ताको आम्दानी स्थिर हुँदा क्रयशक्ति घटेर खपत कम भएको नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रह्लाद दाहाल बताउँछन् । उपभोक्ता पहिलेको जस्तो दिल खोलेर उपभोग गर्न सक्ने अवस्थामा नरहेको उनको बुझाइ छ । दूधको मौज्दात बढ्दै जाँदा एशोसिएशनले धूलो दूध र बटर बंगलादेश निर्यात गर्न अध्ययन गरेको थियो । यस क्रममा एशोसिएशनले विज्ञहरूको अध्ययन टोली बंगलादेश पठाएको थियो । हालसम्म बंगलादेशले दूध किन्ने/नकिन्ने विषयमा जवाफ नपठाएको दाहालले बताए ।

भारतबाट दैनिक १ लाख २० हजार लिटर दूध आयातका लागि सिफारिस

काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले भारतबाट दैनिक १ लाख २० हजार लिटर दूध आयात गर्न सिफारिस गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई बोर्डले बुझाएको प्रतिवेदनमा मागअनुसार दूध आपूर्ति हुन नसकेकाले ३ महिनाका लागि दैनिक १ लाख लिटरभन्दा बढी दूधको आयात खोल्न सुझाव दिइएको छ । गत कात्तिकमा पनि दूध अभाव भएपछि यसैगरी […]

दैनिक ५ लाख लिटर दूध नपुग

काठमाडौं । उत्पादन घटेसँगै बजारमा दैनिक ५ लाख लिटर दूध अपुग भएको छ । बजार माग यथावत् रहेको तर दुधालु पशुपालक किसानको संख्या घटेर दूध उत्पादनमा गिरावट आएपछि अभाव देखिएको हो । कोरोना महामारीका कारण थला परेको दुग्ध उद्योग अझै सम्हालिन नसक्दा दूध उत्पादन गर्ने किसानको संख्या घटेको हो । नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्र≈लाद दाहालका अनुसार कोरोना महामारी अघिसम्म देशभर दूध उत्पादनमा करीब ६ लाख घरपरिवार संलग्न थिए । महामारीकै प्रभावका कारण अहिले ५ लाख घरपरिवार मात्रै यसमा संलग्न छन् । दुधालु पशुपालनमा संलग्न किसान परिवारको संख्या घटेसँगै दूध उत्पादन पनि दैनिक ५ लाख लिटरका दरले घटेको दाहालले बताए । सामान्य अवस्थामा नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुन्छ । अचेल दैनिक उत्पादन ५७ लाख लिटरमा झरेको छ । कोरोना महामारी अघिसम्म बजारमा दैनिक ३१ लाख लिटर दूध आपूर्ति हुने गरेकोमा अहिले २६ लाख लिटर मात्रै आपूर्ति हुन्छ । गर्मी मौसम शुरू भएसँगै अहिले दही, मही, आइसक्रिमजस्ता दुग्ध पदार्थको खपत बढेको छ । दूधको अभाव भएकै बेला पाउडर प्लान्टहरूसँग धूलो दूधको मौज्दात समेत शून्यमा झरेको छ । भदौदेखि माघसम्म दूध उत्पादन बढी हुने समयमा यस वर्ष उत्पादन बढ्न नसकेपछि धूलो दूध र बटर मौज्दात रित्तिएको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले बताए । उनका अनुसार बजारमा दूधको अभाव देखापरेपछि व्यवसायीले सरकारसँग दूध आयातका लागि अनुमति मागेका छन् । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान, निजीक्षेत्रका नेपाल डेरी एशोसिएशन र डेरी उद्योग संघले कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डमा भारतबाट दूध आयात गर्ने अनुमति माग गर्दै निवेदन दिएको बोर्डले जानकारी दिएको छ । बोर्ड र मन्त्रालयले अहिलेसम्म अनुमति दिने/नदिने केही बताएका छैनन् । अहिले नेपालमा मात्रै नभई विश्वभर दूध अभाव छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको फूड एन्ड एग्रिकल्चर अर्गनाइजेशनको तथ्यांकअनुसार विश्वभर अहिले १५ प्रतिशत जतिले दूध उत्पादनमा कमी आएको छ । धूलो दूध उत्पादन गर्ने प्लान्टहरूले धूलो दूध मात्रै आयात गर्नुपर्ने तर्क गरिरहे पनि आफूहरूले धूलो र कच्चा झोल दूध दुवै आयात गर्नुपर्ने माग गरेको एशोसिएशनका अध्यक्ष दाहाल बताउँछन् । उनका अनुसार दूध अभावका कारण बिस्कुट कारखानादेखि कुखुराको दाना उत्पादन गर्ने उद्योगसम्म मर्कामा परेका छन् । गतवर्ष असोजमा पनि दूध अभाव भएपछि सरकारले १ महीनाका लागि भारतबाट आयात गर्ने अनुमति दिएको थियो । तर, चाडपर्वका बेला परेको भन्दै दुग्ध व्यवसायीले त्यस बेला पर्याप्त मात्रामा दूध आयात गरेनन् ।

आत्मनिर्भर घोषणाको डेढ वर्षमै दिनकै सवा लाख लिटर दूध आयात अनुमति

आत्मनिर्भर घोषणाको डेढ बर्षमै सरकारले दैनिक सवा लाख लिटर दूध आयातको अनुमति दिएको छ । बजारमा दूध अभाव रहेको निष्कर्षइसहित कृषि तथा पशुपन्छी बिकास मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले दूध आयात गर्न सहमति दिएको हो । दुग्ध बिकास संस्थान (डिडिसी)का लागि प्रतिदिन ४० हजार लिटर र निजी डेरीका लागि ८० हजार लिटर आयातको अनुमति दिएको हो ।

दूध बिक्री ४० प्रतिशत कटौती

दुग्ध विकास संस्थान (डीडीसी)लगायत निजी दुग्ध उद्योगलाई दूधको अभाव भएको छ । दूध सङ्कलन कम भएका कारण अहिले बजारमा दूध र दुग्धजन्य पदार्थको बिक्री ४० प्रतिशत कटौती भएको ती उद्योगले जनाएका छन् । मुलुकभर दैनिक डेढ लाख लिटर दूध अभाव रहेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले बताउनुभयो । डीडीसीलाई मात्रै दैनिक ४०–५० हजार लिटर दूधको अभाव छ । डीडीसीका महाप्रबन्धक सञ्जीव झाले अहिले दूधको अभाव हुँदा घिउ तथा बटर उत्पादन पूर्ण रूपमा बन्द रहको जानकारी दिनुभयो । “चाडपर्व सुरु भइसकेको छ तर बजारमा मागअनुसार दूध तथा दुग्धजन्य पदार्थ पु-याउन सकेको छैन,” उहाँले भन्नुभयो ।

डीडीसीलाई दूध अभाव

चार वर्षअघि दैनिक ४० हजार लिटर दूध सङ्कलन गरेर विराटनगर दुग्ध वितरण आयोजनाले दुग्धजन्य उत्पादन बजारमा पु-याउँदै आएको थियो । कोरोना महामारी सुरु भएपछि किसानले उत्पादन गरेको दूध किन्ने एक मात्र संस्था बन्न पुगेको दुग्ध विकास संस्थान (डीडीसी)को विराटनगर आयोजनाले दैनिक एक लाख लिटर दूध खरिद गरेको थियो । दैनिक एक लाख लिटरसम्म दूध खरिद गरेर त्यसको बजार व्यवस्थापन गर्न समस्या भएपछि प्रदेश सरकारले पाउडर प्लान्टलाई चौबीसै घण्टा सञ्चालन गर्न सक्ने गरी स्तरोन्नति गर्न र नयाँ आइस बैङ्क स्थापना गर्न पाँच करोड रुपियाँ अनुदान उपलब्ध गराएको थियो । दूध सङ्कलन बढ्ने अनुमान गरेर पाउडर प्लान्टको स्तरोन्नति गरेको विराटनगर आयोजना अहिले बजारको मागसमेत पूरा गर्न नसक्ने अवस्थामा पुगेको छ ।

दुर्गममा डेरी नजाँदा प्रतिदिन दुई लाख लिटर दूध अभाव

डेरी उद्योगहरूको रोजाइ सुगम क्षेत्रमा मात्रै हुँदा बजारमा दूध अभाव देखिएको छ । सडक यातायात, ढुवानी खर्च, चिस्यानलगायत अप्ठ्यारा देखाएर उद्योगीले दुर्गम क्षेत्रका किसानलाई बेवास्ता गर्दा बजारमा दूधको चरम अभाव भएको हो ।

आत्मनिर्भर घोषणा भएको १ वर्ष नपुग्दै दूध अभाव

चैत २, काठमाडौं । सरकारले पशुपन्छी र दूधमा आत्मनिर्भर भएको घोषणा गरेको १ वर्ष नपुग्दै बजारमा दूध तथा दुग्ध पदार्थको अभाव देखिन थालेको छ ।  गतवर्ष चैतमा सरकारले पशुपन्छीसहित दूध तथा दुग्ध पदार्थमा नेपाल आत्मनिर्भर भएको घोषणा गरेको थियो । तर, घोषणाको वर्ष दिन नपुग्दै बजारमा दूधको अभाव देखिएको हो ।  कोरोना महामारीका कारण सुस्ताएको बजार विस्तारै खुल्दै गएपछि माग एकाएक बढेर अभाव देखिएको हो । कोरोना महामारीको समयमा करीब ५० प्रतिशतले दूधको माग घटेर विक्री गर्नै समस्या भएपछि उद्योगहरूले दूध संकलन घटाएका थिए । त्यसपछि दूध उत्पादक किसान घट्दा अहिले अभाव सृजना भएको उद्योगी तथा व्यवसायीले बताएका छन् । ‘महामारीको प्रभाव कम हुँदै गएपछि अहिले बजारका सबै अंग खुले, जसले गर्दा बजारमा ह्वात्तै माग बढ्यो, माग एकाएक बढ्न थालेपछि हामीसँग मौज्दात रहेको बटर र धूलो दूधले बजारको माग धान्यौं । अहिले मौज्दात सकियो, त्यसैले अभाव बढेको हो,’ नेपाल डेरी एशोसिएशनका निवर्तमान अध्यक्ष सुमित केडियाले भने । उनका अनुसार महामारीको समयमा देशभर दैनिक करीब ४ लाख ५० हजार लिटर दूधको माग रहेको थियो । अहिले माग बढेर दैनिक करीब ८ लाख लिटरको हाराहारी पुगेको छ । तर, उत्पादन भने करीब ६ लाख २० हजार लिटर मात्र छ । बजारमा अझै १ लाख ८० हजार लिटर दूधको अभाव देखिएको छ ।  गतवर्ष यस समयमा नेपालमा ४१ हजार मेट्रिकटन धूलो दूध र २५ हजार मेट्रिकटन बटर मौज्दात थियो । दैनिक माग हुनेमध्ये करीब ८० प्रतिशत दूध प्याकेटमार्फत विक्री हुने र २० प्रतिशत दूध आइसक्रिम, दही, चिज, छुर्पीजस्ता वस्तुका रूपमा उत्पादन भई विक्री हुने गर्छ । गर्मी शुरू भएपछि चैतदेखि भदौ महीनासम्म दूध उत्पादन घट्दै जाने र त्यस समयमा दुग्धजन्य पदार्थ दही र आइसक्रिमको माग अन्य समयको तुलनामा करीब ३५ प्रतिशतले बढ्ने भएकाले बजारमा झनै अभाव देखिन सक्नेतर्फ उनले संकेत गरे ।  राज्यद्वारा आत्मनिर्भर घोषणा गरिएको वस्तुको अभाव हुनु हाम्रो उद्योग तथा बजारका लागि दुःखद भएको उनले बताए । अहिले बजारमा बटर र धूलो दूधको अभाव देखिइसकेको बताइएको छ । नेपाल दुग्ध विकास बोर्डका प्रवक्ता डा। बालक चौधरीले सुक्खा सिजन शुरू हुन थालेकाले बजारमा दुग्धजन्य पदार्थका केही वस्तुको अभाव शुरू भएको बताएका छन् ।  उनका अनुसार अहिले मौज्दात सबै सकिएपछि झोल दूध मात्र बजारमा उपलब्ध छ । त्यसले मात्र बजार माग धान्न समस्या भइरहेको उनले जानकारी दिए । बजारको माग धान्न समस्या हुँदै गएपछि उद्योगी तथा व्यवसायीहरूले भारतलगायत देशबाट झोल दूध आयात गर्न पाउनुपर्ने माग गर्दै डेरी उद्योग संघले बोर्डमा ज्ञापनपत्र बुझाएको छ ।  संघका अध्यक्ष राजकुमार दाहालले अभाव भएर उपभोक्ताले खानै नपाउने अवस्था सृजना हुनुभन्दा विदेशबाट आयात गर्दा समस्याको समाधान हुने बताए । तर, केही उद्योगी, व्यवसायी र दुग्ध विकास बोर्ड भने भारतबाट दूध आयात गर्नुभन्दा औपचारिक क्षेत्रमा जोडिन नसकेको र बजारमा आउन नसकेको दुर्गम क्षेत्रको दूध संकलन गरी माग धान्नेतर्फ लाग्नुपर्ने बताउँदै आएका छन् । बोर्डका प्रवक्ता चौधरीका अनुसार नेपालमा दैनिक करीब ६३ लाख लिटर दूध उत्पादन हुने भए पनि करीब ३१ लाख लिटर दूध मात्रै बजारमा आउने गर्छ र बाँकी सबै उत्पादक किसानले आफै प्रयोग गर्ने गरेको तथ्यांक छ । त्यसमध्ये पनि बजारमा आउने कुल दूधको १७ प्रतिशत मात्रै औपचारिक क्षेत्रमा संकलन हुने गर्छ भने बाँकी ३३ प्रतिशत अनौपचारिक क्षेत्रमा विक्रीवितरण हुँदै आएको छ । आर्थिक अभियान दैनिकको प्रिन्ट संस्करणबाट

चितवनमा दूधको उपभोग बढ्यो

चितवन (अस) । निषेधाज्ञा खुकुलो भएर विक्रीवितरण सहज भएसँगै चितवनमा दूधको उपभोग बढेको छ । माग बढ्दै गए पनि निषेधाज्ञाका कारण कतिपय किसानले गाईभैंसी पाल्न कम गर्दा पछिल्लो समय उत्पादन भने घटेको किसानले बताएका छन् । भरतपुर महानगरपालिका–५ का किसान इन्द्रमणि गैरे साउन लागेपछि दूधको खपत अनपेक्षित रूपमा बढेको बताउँछन् । ‘निषेधाज्ञा हुँदा न त घरवालाले माग्थे न त डेरी पसल नै दिनभर खुल्थे,’ उनले भने, ‘पहिले बजार आफैले लैजाँदा फर्काउनु पथ्र्यो, अहिले उत्तिखेरै विक्री हुन्छ ।’ हाल आफूले दैनिक ४० लिटर दूध विक्री गर्दै आएको उनले बताए । चितवनमा कतिपय किसानले सीधै डेरी, पसल, होटल, चिया पसल र घरमा दूध पु¥याउँदै आएका छन् । कतिपयले सहकारीमार्फत दूध विक्री गर्दै आएका छन् । भरतपुर महानगरपालिका–१६ उपकार दुग्ध सहकारीका व्यवस्थापक डिलाराम कँडेल भने अहिले दुग्ध खपत बढेको भन्दा पनि उत्पादन नै कम भएको बताउँछन् । ‘अहिले माग त छ, तर दूध उत्पादन छैन,’ उनले भने, ‘निषेधाज्ञाअघि दैनिक ३ हजार लिटर दूध संकलन हुन्थ्यो, अहिले १ हजार ५०० लिटर संकलन हुने गरेको छ ।’ राष्ट्रिय व्यावसायिक पशुपालक दुग्ध कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे उत्पादन कम हुँदा अभावकै अवस्था देखिएको बताउँछन् । ‘निषेधाज्ञाले किसान पनि घटे, दूध उत्पादन पनि घट्यो,’ उनले भने, ‘उत्पादनको तुलनामा खपत बढेपछि विक्री राम्रै जस्तो देखिएको मात्र हो ।’ विशेषगरी साउनमा चाडपर्व र व्रत बस्ने प्रचलन कारण दूधको उपभोग बढेको उनले बताए । साउनमा उत्पादन घट्ने र उपभोग बढ्ने भएकाले पनि दूधको माग र आपूर्तिमा सन्तुलन नभएको हो । चितवनमा अन्य समयमा दैनिक ३ लाख ३० हजार लिटरसम्म दूध उत्पादन हुने गरेकोमा हाल करीब ३ लाख लिटर उत्पादन हुने गरेको जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगालेले बताए । हाल घरघरमै दूधको माग र उपभोग बढी भएकाले पनि बजारमा दूध अभाव समेत देखिएको उनको भनाइ छ । उनका अनुसार अन्य समयमा चितवनमा कुल उत्पादनको ४५ प्रतिशत खपत स्थानीयस्तरमै हुने र बाँकी अन्य जिल्लामा पठाउने गरिए पनि अहिले आधा यहीँ खपत भएर बाँकी बाहिर पठाउने गरिएको छ । यसपटक ४५ दिनको निषेधाज्ञा अवधिमा मात्र चितवनमा ११ करोड ७ लाख ८१ हजार रुपैयाँ बराबरको नोक्सान बेहोर्नुपरेको गुनासो किसानको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध ११० ओटा दुग्ध सहकारी छन् । जिल्लाका ४० हजार किसानले दूध बेच्ने गर्दछन् ।