चैत ४, काठमाडौं । सरकारी होस् वा निजी । कार्यालय कोठा वा कुनै कर्मचारीको कार्यकक्ष भन्नेबित्तिकै कर्मचारी बस्नका लागि कुर्सी, साथमा टेबल, दराज र सेवाग्राहीका लागि बस्ने मेच वा सोफासहितको सामग्री स्मरणमा आउँछ । अझ सरकारी कार्यालयका कार्यकक्ष सम्झँदा असरल्ल रहेका कागजात, फाइल पोको पारिएका गुन्टा पनि सम्झन्छौं ।
अधिकांश कार्यालयमा यस्तै वातावरण बनाउन सम्बन्धित कर्मचारी आफूलाई तोकिएको जिम्मेवारीअनुसार खटिइरहेको पाइन्छ । पछिल्लो समय विशेषगरी निजी क्षेत्रका कम्पनी, उद्योग, वित्तीय संस्था, शिक्षालयमा कार्यालयलाई सकेसम्म आकर्षक देखाउन सरसफाइ, फर्निचरको गुणस्तरमा ध्यान दिनुका साथै गमलामा इन्डोर प्लान्टसमेत राखेर सजाउने चलन पनि बढ्दै गएको पाइन्छ ।
व्यावसायिक कार्यक्षमता विकाससम्बन्धी विभिन्न लेख प्रकाशित हुने बी वर्क डटकममा प्रकाशित एक लेखअनुसार सन् २०१४ मा इंग्ल्यान्ड, नेदरल्यान्ड र अस्ट्रेलियामा महिनौं लगाएर सम्पन्न गरिएको एक अध्ययनले हरियालीयुक्त वातावरणमा काम गर्ने व्यक्तिमा सामान्य अवस्थामा काम गर्नेमा भन्दा बढी आत्मसन्तुष्टि र काममा एकाग्रता रहेको पाइएको उल्लेख गरिएको छ । सोही अध्ययनले हरियालीयुक्त वातावरणमा काम गर्नेहरू कम्तिमा १५ प्रतिशत बढी परिणाममुखी रहेको देखाएको छ ।
हरियालीले बढाउँछ काममा ऊर्जा
यसबाट कार्यकक्षमा उपयुक्त खालको वनस्पतिसहितको प्राकृतिक हरियाली हुनुले सम्बन्धित कार्यालयको शोभा बढ्नुका साथै काम गर्ने व्यक्तिको ऊर्जाशीलतामा पनि सहयोग पुग्ने देखिन्छ । त्यसैले कार्यालय कोठाको डिजाइन गर्दा आफू बस्ने कुर्सी टेबल, दराज आदि फर्निचर मात्र नभई उपयुक्त स्थानमा हरियालीको लागि पनि व्यवस्था गरिनु उपयुक्त हुन्छ । हिजोआज कार्यालय कोठा कस्तो बनाउने र त्यसलाई कसरी सजाउने भन्ने कामकै लागि व्यावसायिक इन्टेरियर डिजाइनरको सहयोग लिने चलन छ । कार्यकक्षमा प्राकृतिक हरियालीलाई ठाउँ दिन उनीहरूसँग अनेक जुक्ति हुन सक्छन् । साथै, कस्तो खाले वनस्पति राख्दा उपलब्ध स्थान र हेरचाहका लागि सहज हुन्छ भन्नेबारे विज्ञहरूको सहयोग लिन सकिन्छ ।
कार्यकक्षमा आफ्नो उपस्थिति कार्यालय समय मात्र हुने, बिदा तथा काम नभएको समय त्यहाँ आफ्नो उपस्थिति नहुने हुँदा कार्यकक्षमा राख्न इन्डोर प्लान्ट नै उपयुक्त हुन्छ । प्रकाश कम भए पनि हुने, केही दिन बिराएर पानी हाले पनि हुने र स्याहारसम्भारका लागि कम समय दिए पुग्ने प्रकृतिका थुप्रै प्रजातिका वनस्पति नर्सरीमा पाइन्छन् । घरसंसारकैै विगत अंकमा घरभित्रै हुर्काउन मिल्ने, अक्सिजन पनि धेरै दिने र हेर्दा पनि आकर्षक वनस्पतिबारे उपयोगी सामग्री पस्किइसकेका छौं । कार्यालय कोठामा पनि त्यस्तै किसिमका इन्डोर प्लान्ट राख्नु बढी उपयुक्त देखिन्छ ।
कार्यालय कोठामा राख्न उपयुक्त वनस्पति
क्याक्टस :
सामान्य गमलाभन्दा धेरै सानो भाँडोमा पनि आकर्षक किसिमले सजाउन सकिने हुँदा सानै ठाउँमा क्याक्टसलाई राख्न सकिन्छ । यसलाई पानी, मल र स्याहारसम्भारका लागि धेरै लगानी गर्नैपर्दैन । यो मरुभूमितिर मात्र पाइने हुँदा हेर्दा नौलो साथै आकर्षक पनि देखिन्छ ।
बाँस वा लक्की बाम्बु :
चिनियाँहरूमाझ शौभाग्यको प्रतीक भनिने लक्की बाम्बु (बाँस) पनि आकर्षक तरिकाले कार्यालयका टेबल तथा उपयुक्त स्थानमा राख्न सकिन्छ । यसका लागि गमलाको सट्टा काँचको पारदर्शी वर्तन प्रयोग गरिने हुनाले थप आकर्षक हुन्छ । लक्की बाम्बुलाई करिब एक साताको अन्तरमा थोरै पानी थप्ने र १–२ महिनाको अन्तरमा थोरै मल हालिदिए अन्य विशेष स्याहार गरिरहनु पर्दैन ।
एलोभेरा :
नेपालीमा घिउकुमारी नामले प्रख्यात यो वनस्पति आगोले पोलेको, सानातिना घाउ, छालासम्बन्धी अन्य समस्याका लागि अत्यन्त लोकप्रिय औषधीय गुणयुक्त वनस्पति हो । एलोभेरालाई पनि कुनै खास किसिमको स्याहार आवश्यक पर्दैन । उपयुक्त साइजको गमलामा लगाएर केही दिनको अन्तरमा थोरै पानी र केही महिनाको अन्तरमा थोरै मल राखिदिए पुग्छ । माथि उल्लेख गएिका छालासम्बन्धी वा सानातिना घाउ भए प्राथमिक उपचारका लागि यसको पात काटेर तत्कालै औषधीको रूपमा प्रयोग गर्न सकिन्छ ।
मनीप्लान्ट :
आकर्षक लहराको रूपमा फैलिने मनीप्लान्ट वा पोथसको बिरुवाले कार्यालय कोठालाई हरियालीयुक्त र स्वस्थ देखिनमा मद्दत गर्दछ । आफूले रोपेको मनीप्लान्ट जति फैलियो त्यति नै व्यापार व्यवसाय सफल भई आर्थिक आम्दानी बढ्छ भन्ने विश्वास कहीँ–कतै रहेको पाइन्छ । सोही कारण यो बिरुवालाई मनीप्लान्ट भनिएको हुन सक्छ । यसलाई पनि गमला वा पारदर्शी काँचको भाँडोमा पानी राखेर कार्यालय कोठामै हुर्काउन सकिन्छ ।
माथि उल्लिखित केही प्रतिनिधि वनस्पति तपाईं–हाम्रा छिमेक वा नर्सरीमा सहजै र सस्तैमा पाइन्छन् । यिनलाई हाम्रो कार्यकक्षमा सजिलै रोप्न र हुर्काउन अनि आफ्नो कार्यालयलाई थप आकर्षक रूप दिन सक्छौं । आफूलाई पायक पर्ने नर्सरी वा इन्टेरियर डिजाइनर वा वनस्पति विज्ञको सल्लाह लिई अरू विभिन्न थरी वनस्पतिलाई हामी आफ्नो कार्यालयमा राख्न सक्दछौं । यसबाट कार्यव्यस्तताको समय मन बहलाउन र स्वस्थ वातावरणमा काम गर्न सहज हुन्छ ।