रोजगारी वृद्धिमार्फत विकास : तालीम दिएर मात्र वैदेशिक रोजगारीमा पठाउन आवश्यक

वर्तमान नेपालको विकासको प्रमुख चुनौती रोजगारीका अवसरहरूको उपलब्धतालाई सुनिश्चित गर्नु रहेको छ । यसका लागि स्वदेश र विदेशमा उत्पादनशील र मर्यादित रोजगारी सृजना गर्नु जरुरी छ । श्रमशक्ति सर्वेक्षण २००८ का अनुसार ३० प्रतिशत श्रमशक्ति अर्धबेरोजगार रहेको पाइन्छ । अर्धबेरोजगारभित्र पूर्ण बेरोजगार, अल्परोजगार र अदृश्य बेरोजगारलाई पनि समावेश गरिएको हुन्छ । यी कुनै पनि प्रकारका बेरोजगारी रहनु समग्र विकासका लागि अत्यन्तै प्रत्युत्पादक अवस्था हो । श्रमबजारमा प्रतिवर्ष प्रवेश गर्ने करीब ५ लाख श्रमिकमध्ये करीब १ लाख श्रमिकलाई मात्र कमजोर अवस्थामा रहेको नेपालको अर्थतन्त्रले रोजगारी दिन सकेको छ । बाँकी रहने ४ लाख युवा रोजगारीका लागि विदेशिनुपर्ने वा बेरोजगार रहनुपर्ने बाध्यता छ । बढ्दो आयातले देशको रोजगारी खाएको छ । आन्तरिक उत्पादन घटेपछि बेरोजगारी बढ्ने नै भयो । सन् १९८० को दशकबाट शुरू गरिएको अपरिपक्व तथा लहडमा आएको आर्थिक उदारीकरणको नीतिले आयात बढाएर उपभोग बढाए तापनि देशमा औद्योगिकीकरण र रोजगारी बढाएन । मुलुकलाई किनेर खाने देश बनायो । अब कसरी किन्ने समस्या आएको छ । मूलत: राजनीतिक अस्थिरताले घटाएको आर्थिक वृद्धिले अहिले देशका ८८ प्रतिशत युवा श्रमिक कुशासनमा रहेको वैदेशिक रोजगार व्यवस्थाभित्र शोषित र पीडित हुन बाध्य छन् ।  कतिले त युद्ध क्षेत्रमा मृत्युवरण गरेका छन् । स्वदेश र विदेशमा रोजगारीका अवसर बढाउने र कामलाई मर्यादित बनाउन विभिन्न नीतिगत, संस्थागत, व्यवस्थापकीय र प्रक्रियागत सुधारका प्रयासहरू विगत केही समययता गरिएको भए तापनि नतिजा सन्तोषजनक छैन । अन्यायपूर्ण अन्तरराष्ट्रिय अर्थराजनीति र देशको कमजोर अर्थतन्त्रलाई सुधार नगरेसम्म नेपालीले स्वदेश र विदेश कतै पनि पर्याप्त र मर्यादित रोजगारी प्राप्त गर्न सक्ने अवस्था देखिँदैन । अर्थशास्त्रका थोत्रा सिद्धान्तले देशमा बेरोजगारीमात्रै बढाउने स्पष्ट भइसकेको छ । रोजगारीको पहिलो चुनौती हो : स्वदेशमै पर्याप्त रोजगारीका अवसरहरू सृजना गर्नु । नेपालले अहिले अर्थतन्त्र र रोजगारीका बीचमा सन्तुलन कायम गर्न सकेको छैन । कृषिक्षेत्रले कुल गार्हस्थ्य उत्पादनको २३ दशमलव ९ प्रतिशत योगदान गर्छ तर यो क्षेत्रमा ७६ प्रतिशत घरपरिवार आश्रित छन् । अर्थतन्त्रमा सेवाक्षेत्रको योगदान ५६ प्रतिशतको हाराहारीमा भए तापनि रोजगारीमा ५/६ प्रतिशतको योगदान मात्र छ । अर्थतन्त्रमा निरन्तर घटिरहेको उद्योग क्षेत्रको योगदान र रोजगारीका बीचमा तादात्म्य देखिए तापनि औद्योगिकीकरणजिना रोजगारीका प्राप्त अवसर सृजना हुने सम्भावना अत्यन्तै कम देखिन्छ । सन् १९८० को दशकसम्म अन्न निर्यात गर्ने नेपालले गत आवमा ३ खर्बको खाद्यान्न मात्रै आयात गरेको छ ।  कृषिक्षेत्रमा काम गर्ने आकर्षक वातावरणको अभावले युवा कृषिकार्यमा लाग्नुभन्दा वैदेशिक रोजगारीमा जाने बढ्दो प्रवृत्तिका कारण खेतीयोग्य जमीन बाँझो रहने र स्वदेशी कृषि उत्पादनको कमीलाई आपूर्ति गर्न विदेशबाट खानेकुरा आयात गर्नुपर्ने बाध्यता सृजना भएको छ । युवालाई कृषिमा आकर्षित गर्ने व्यवस्था सुनिश्चित गर्नु अहिलेको सबभन्दा ठूलो चुनौती रहेको छ । उदारीकरणको बोनसका रूपमा प्राप्त तुलनात्मक रूपमा कम मूल्यका सामानको उपभोग गर्न पाउनु उपभोक्ताको पक्षबाट फाइदाजनक भए तापनि विदेशी सस्ता सामानको उपयोग नै देशमा औद्योगिकीकरणको बाधक तत्त्वको बनेको छ । आयातित सामानको प्रयोगले स्वदेशी रोजगारीलाई विदेश पठाउँछ भन्ने न्यूनतम आर्थिक चेतना हाम्रा कमैमात्र राजनीतिज्ञ र नीतिनिर्मातालाई छ । व्यापारीहरूले मार्जिन खाने गरेका छन् । सेवाक्षेत्रको अर्थतन्त्रमा योगदान बढे तापनि यसको रोजगारीमा योगदान बढाउन प्रतिस्पर्धी, दिगो, श्रमप्रधान र निर्यातमूलक बनाउनुपर्ने देखिन्छ । समग्रमा अर्थतन्त्रका तीनओटै क्षेत्रको सन्तुलित विकास गरी बढीभन्दा बढी आन्तरिक रोजगारी सृजना गर्ने सटिक नीतिगत व्यवस्था सुनिश्चित गर्नु हाम्रो अहिलेको ठूलो चुनौती हो ।  साथै कृषि, उद्योग, सेवा र पूर्वाधारका उपक्षेत्रमा छिमेकी भारतमा जस्तो गरीब लक्षित न्यूनतम रोजगारी प्रत्याभूति गर्ने देशव्यापी परियोजनाहरू सञ्चालन गरी गरीबी र बेरोजगारीका अन्तरसम्बद्ध समस्यालाई एकैचोटि समाधान गर्ने नीतिगत र कानूनी व्यवस्था कार्यान्वयनमा लैजानुपर्छ । अर्थतन्त्रका विभिन्न क्षेत्रमा कहाँ, कसरी र कुन प्रकृतिका रोजगार सृजना गर्न सकिन्छ भनी अध्ययन अनुसन्धान गरी विगतमा जस्तो अँध्यारोमा ढुंगा हान्ने प्रवृत्तिलाई अनुसन्धानको निष्कर्षको आधारमा मात्र नीति, योजना र कार्यक्रम तर्जुमा गर्ने र कार्यान्वयन, अनुगमन, मूल्यांकन गर्ने प्रमाणमा आधारित प्रवृत्तिले प्रतिस्थापन गर्नुपर्छ ।  रोजगार चुनौतीको दोस्रो पक्ष वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउनु हो । नेपाली श्रमबजारमा मागको तुलनामा आपूर्ति धेरै भइरहेको वर्तमानमा वैदेशिक रोजगार अझै केही समयका लागि विकल्पविहीन विकल्पका रूपमा रहेको छ । रोजगार चुनौतीको दोस्रो पक्ष वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउनु हो । नेपाली श्रमबजारमा मागको तुलनामा आपूर्ति धेरै भइरहेको वर्तमान अवस्थामा वैदेशिक रोजगार अझै केही समयका लागि विकल्पविहीन विकल्पका रूपमा रहेको छ । दैनिक करीब २ हजार ५०० युवा वैदेशिक रोजगारीमा जाने गरेको सरकारी तथ्यांक छ । विदेशमा काम गर्ने नेपालीहरूबाट अहिले वार्षिक करीब रू.१०–१२ खर्ब बराबरको विप्रेषण प्राप्त हुने गरेको छ । यसले व्यापारघाटालाई पूर्ति गरी भुक्तानी सन्तुलन कायम गर्न उल्लेख्य भूमिका निर्वाह गरेको छ ।  विश्वमा आप्रवासन गर्नेको संख्या ३ प्रतिशत रहने गरेकोमा हाम्रो ७ प्रतिशत जनसंख्या अहिले वैदेशिक रोजगारमा छ । विप्रेषणले गरीबी घटाएको सरकारी दाबी पनि छ । यस अर्थमा वैदेशिक रोजगार आदिले अर्थतन्त्र र रोजगारको प्रमुख क्षेत्रको रूपमा (कृषिक्षेत्रपछि) उदाएको छ ।  आकर्षण गर्ने तत्त्वहरूको भन्दा पनि हाम्रा घचेट्ने तत्त्वहरूका कारण अहिले करीब ५० लाख नेपाली विश्वका विभिन्न देशमा मूलत: असुरक्षित र अमर्यादित काम गर्न बाध्य छन् । अर्थतन्त्रको करीब २५ प्रतिशत अंश विप्रेषणबाट प्राप्त भइरहेको वर्तमान परिप्रेक्ष्यमा वैदेशिक रोजगारीलाई अल्पकालकै लागि भए तापनि राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रका रूपमा लिई यसका नीतिगत, कानूनी, व्यवस्थापकीय, मानवीय र आर्थिक/वित्तीय पक्षमा आमूल परिवर्तन ल्याउनु जरुरी छ । स्पष्ट नीतिगत व्यवस्थासहित यसभित्र असल शासन कायम गर्नु चुनौतीपूर्ण कार्य हो ।  यसका लागि आप्रवासन नीति चाहिन्छ । अहिले वैदेशिक रोजगारीमा जानेमध्ये करीब ६० प्रतिशत अदक्ष छन् । उनीहरूलाई विभिन्न किसिमका व्यावसायिक तथा रोजगारमूलक तालीम प्रदान गरी पठाउन सकेमा उनीहरूले स्तरीय र बढी पारिश्रमिक पाइने काम पाउने थिए । अहिलेसम्म तर्जुमा हुन नसकेको राष्ट्रिय मानव संसाधन विकास नीति अविलम्ब तर्जुमा गरी स्वदेश र विदेशमा आवश्यक पर्ने शीपयुक्त जनशक्ति उत्पादन गरी अन्तरराष्ट्रिय श्रमबजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति सुनिश्चित गर्न सकेमा वैदेशिक रोजगारमा जाने सम्बद्ध परिवार र समग्रमा देशकै आय वृद्धि हुने देखिन्छ । अहिले वैदेशिक रोजगारीमा महिलाहरूको संख्या बढेकाले फिलिपिन्सले जसरी शीपयुक्त एवम् सशक्त बनाई पठाउन सकेमा उनीहरूमाथि भइरहेका शारीरिक, मानसिक र यौनिक हिंसा कम गर्न सकिन्थ्यो । चेलीको चित्कार सुन्नुपर्ने थिएन । वैदेशिक रोजगारलाई थप आयमूलक, सुरक्षित र मर्यादित बनाउन स्थानीय साहूहरूले लिने चर्को ब्याजदर, एजेन्ट र म्यानपावर कम्पनीले लिने कमिशन, रोजगारदाताले दिने ज्याला/तलब आदि समग्र पक्षमा सरकारको अगुवाइमा सुधार हुनु आवश्यक छ । लागत घटनुपर्‍यो । साथै श्रमिकहरूको हक र सामाजिक सुरक्षा पनि करारमै उल्लेख हुने गरी द्विपक्षीय श्रम सम्झौता हुनुपर्ने देखिन्छ । वैदेशिक रोजगार व्यवसायीहरूलाई पनि पारदर्शी र उत्तरदायी बनाउनुपर्छ । विप्रेषणको उत्पादनमूलक क्षेत्रमा उपयोगद्वारा स्वदेशमै रोजगारी सृजना गर्ने नीतिगत आकर्षण सृजना गरिनुपर्छ । पारिवारिक विखण्डनलगायत विकृतिहरू बढिरहेकाले वैदेशिक रोजगारको सामाजिक लागत घटाउने ठोस कार्यक्रम ल्याउन अब ढिला गर्नु हुँदैन । स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने र वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन विभिन्न नीतिगत, कानूनी, संरचनागत, संस्थागत र व्यवस्थापकीय प्रयास सरकारले गरिरहेको भए तापनि ती पर्याप्त र प्रभावकारी हुन सकेका छैनन् । नि:शुल्क भिसा र टिकटको व्यवस्थाजस्ता ठोस थप सुधारहरूको आवश्यकता छ । यस्ता कतिपय सुधार निकै माथिल्लो तहबाट आउनुपर्ने हुन्छ । जस्तो उदारीकरणको अपरिपक्व अवलम्बनलाई सच्याउन अन्तरराष्ट्रिय अर्थराजनीतिक प्रणालीमै सुधार ल्याउनुपर्छ । तर, माथि उल्लेख गरिएका अन्य कतिपय आन्तरिक पक्ष हामीले अलिकति मेहनत र प्रतिबद्धता गर्दा सुधार गर्न सकिन्छ । स्वदेशमै रोजगारी सृजना गर्न कृषि, उद्योग र सेवाक्षेत्रलाई रोजगारमूलक बनाउन, न्यूनतम रोजगार प्रत्याभूत कार्यक्रम सञ्चालन गर्न र पूँजीगत खर्च बढाउन कतिपय अवस्थामा बाह्य पक्षहरूले सहयोग गर्ने नै हुन्छ । त्यसैगरी वैदेशिक रोजगारीलाई मर्यादित बनाउन गरिनुपर्ने धेरैजसो सुधारका कार्य पनि हाम्रै नियन्त्रणमा छन् ।  वैदेशिक रोजगारमा जानेलाई शीपयुक्त बनाउने, अभिमुखीकरण तालीम दिने र समग्र वैदेशिक रोजगार प्रशासनलाई व्यवस्थित र ठगीविहीन बनाउने क्षमता र पूर्वाधार हामीसँग छ । वैदेशिक रोजगार र राष्ट्रिय रोजगार नीतिको प्रभावकारी कार्यान्वयन गर्न सकेमा मात्र पनि स्वदेशमा रोजगारीका पर्याप्त अवसर सृजना हुने र वैदेशिक रोजगारसमेत सुरक्षित, व्यवस्थित र मर्यादित हुने देखिन्छ । युवालाई काममा लगाउनु नै देश विकासको कडी हो । लेखक राष्ट्रिय योजना आयोगमा कार्यरत छन् ।

सम्बन्धित सामग्री

एकैपटक ७१ देशमा वैदेशिक रोजगारी खुला गरिँदै

सरकारले दौंत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ। योजनाअनुसार नेपालीहरू वैदेशिक रोजगारीका लागि थप ७१ सहित जम्मा १७९ वटा देशमा जान पाउने दाबी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ।...

वैदेशिक रोजगारी सम्बन्धी विज्ञापन कम्पनीको वेबसाइटमा अनिवार्य राख्नुपर्ने

१६ फागुन, काठमाडौं । वैदेशिक रोजगारी सम्बन्धी विज्ञापन राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित भएपछि अब म्यानपावर कम्पनीको वेबसाइटमा समेत अनिवार्य राख्नु पर्ने भएको छ । वैदेशिक रोजगार विभागले सोमबार एक सूचना प्रकाशित गर्दै यस्तो व्यवस्थाबारे जानकारी गराएको हो । विभागका अनुसार इजाजत प्राप्त संस्थाबाट हुने वैदेशिक रोजगार सम्बन्धी विज्ञापन ‘अटो अप्रुभ’ हुने व्यवस्था गरिएको छ । […]

सरकारले वैदेशिक रोजगारी रोक्ने योजना ल्याउनुपर्छ : श्रममन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले वैदेशिक रोजगारी रोक्न रोजगारमैत्री योजना ल्याउनुपर्ने बताएका छन् ।

वैदेशिक रोजगारी र श्रम बजार पुरानै लयमा फर्कियो : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कोरोना भाइरस महामारीले बिथोलेको वैदेशिक रोजगारी र श्रम बजार पुरानै लयमा फर्केको बताए छन् ।आइतबार राष्ट्रिय सभामा बिनियोजन विधियक २०७९ को श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेटबारे सांसदहरुले गरेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले पछिल्लो समय वैदेशिक रोजगारी पुरानै लयमा फर्किसकेको उल्लेख गरेका हुन् । वैदेशिक […]

वैदेशिक रोजगारी ठगी कसुरका फरार प्रतिवादी पक्राउ

बागलुङ : वैदेशिक रोजगारी ठगी कसुरमा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय बागलुङले वैदेशिक रोजगारी ठगी कसुरमा बागलुङ १२ अमला चौरका ४२ वर्षीय प्रकाश शर्मालाई पक्राउ गरेकाे हाे।शर्मालाई वैदेशिक रोजगार न्यायाधीकरणको इजलास काठमाण्डौंबाट २०७७ चैत १७ गते एक वर्ष ५ महिना कैद र एक लाख ५० हजार जरिवाना फैसला सुनाइएको थियो।फैसला सुनाइएका फरार प्रतिवादी घरमै लुकेर बसेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार घरबाटै उनलाई पक्राउ गरेको हाे।पक्राउपछि उनला

रोजगारीको बाध्यता: युवालाई महामारीभन्दा वैदेशिक रोजगारी प्यारो

विज्ञहरूले युवालाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना हुन नसक्दा कोरोनाको डरभन्दा वैदेशिक रोजगारी प्यारो भएको बताउने गरेका छन्।...

बौरिन थाल्यो वैदेशिक रोजगारी, दैनिक १७ सयभन्दा बढी विदेशिँदै

७ मंसिर, काठमाडौं । कोरोना महामारीका कारण दुई वर्षयता धेरै नेपालीले विदेशमा काम गुमाए भने वैदेशिक रोजगारीमा जाने अवसर पनि पाएका थिएनन् । तर, कोरोना महामारीको असर घट्दै गएपछि पछिल्लो केही महिनायता वैदेशिक रोजगारी फेरि पुरानै लयतर्फ उन्मुख भएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत जेठयता लगातार उकालो लागिरहेको छ । वैदेशिक रोजगार […]

वैदेशिक रोजगारी : दैनिक एक हजार श्रमिक विदेसिँदै

कोरोना महामारीका कारण शून्यमा झरेको वैदेशिक रोजगारी लयमा फर्कन थालेको छ । दसैँपछि वैदेशिक रोजगारीमा जानेको संख्या निकै बढेको छ । वैदेशिक रोजगार विभागका निर्देशक तथा प्रवक्ता कमल ज्ञवालीले वैदेशिक रोजगारीमा जानेको संख्या दिनदिनै बढिरहेको बताए । उनका अनुसार विदेशबाट नेपाली कामदारको माग बढ्न थालेपछि श्रम स्वीकृति लिने र वैदेशिक रोजगारीका लागि उड्नेको संख्या बढ्न थालेको हो ।विभागले मातहतका ७ वटा कार्यालयमार्फत वैदेशिक रोजगार निम्ति श्रम स्वीकृति दिँदै आएको छ । जसमध्ये ६ वटा कार्यालयले पुनः श्रम स्वी

सामान्य बन्दै वैदेशिक रोजगारी

काठमाडौं, असोज १२ । कोरोनाका कारण निकै प्रभावित वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्कन लागेको देखिएको छ । कोरोना महामारी शुरू भएपछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ह्वात्तै घटेको थियो । तर, पछिल्लो समय वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभागबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार […]

धादिङमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी दुई दिने तालिम

धादिङ – आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङका पदाधिकारीहरूको लागि सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी दुई दिने तालिम सुरु भएको छ ।  सुरक्षित वैदेशिक रोजगारीका सवाल, आप्रवासी कामदारका हकहित तथा संस्थागत विकास सम्बन्धी जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।  तालिमको पहिलो दिन जिल्ला समन्वय समिति धादिङका जिल्ला समन्वय अधिकारी हरी प्रसाद अर्यालले वैदेशिक रोजगारको वर्तमान अवस्था र अवसर तथा मुख्य सवालहरूको बारेमा जानकारी गराउनुभयो । यसै गरी कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकार...