किन सधैं बदनाम छ सिंहदरबार ?

आजभन्दा ११८ वर्ष अगाडि राणा प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गरेका थिए सिंहदरबार । सिंहलाई वनको राजा मानिन्छ । वनमा सिंह जस्तै नेपालको शासन व्यवस्थामा सिंहदरबार । प्रशासनिक केन्द्रको रूपमा रहेको सिंहदरबारभित्र नेपाल सरकारको स्वास्थ्य मन्त्रालय बाहेक सबै मन्त्रालय रहेका छन् । यसका अतिरिक्त योजना आयोग, वित्त आयोग, संघीय संसद सचिवालयका साथै सुरक्षा निकायका कार्यालयहरू पनि रहेका […]

सम्बन्धित सामग्री

कसो नआउला समाजवाद

यसै हप्ता आठौं संविधान दिवस देशभरि राष्ट्रिय छुट्टी गरेरै मनाइयो । संविधानको एउटा मूल लक्ष्य समाजवाद भनेर लेखिएको छ । तर संविधानमा लेखेर के गर्नु ? समाजवाद हामीलाई निकै महँगो पो भइराछ त । अझ समाजवादले धनीलाई भन्दा गरीबलाई पो रुवाइराछ । दुई–चार वर्ष अघिसम्म त ठीकै थियो । सरकारले भन्थ्यो कि हामीसँग पर्याप्त स्टक छ र यथासमय आवश्यकता अनुसार बजारमा सामान पठाउँछौं । हिजो बजार गुल्जार नै थियो । कुनै पनि पसलमा गएर समाजवाद माग्यो भने उसले तौलेर धेरै थोरै दिन्थ्यो नै । ठूलो प्याकेटदेखि सानासम्म उपलब्ध थियो । देशमा उत्पादन पनि भइरहेको थियो र खपत धेरै थिएन । मन्त्रीहरू पनि भाषण गर्दै हिँड्थे कि ‘हामी समाजवादतर्फ उन्मुख छौं र चाँडै देशबाट निर्यात पनि गर्छौं ।’ माक्र्सले पूँजीवादपछि समाजवाद आउँछ भन्थे । माओले सामन्तवादपछि समाजवाद आउँछ भन्थे । तर हाम्रा समाजवादीले सीधै समाजवाद ल्याउने ट्याक्टिस सिकेजस्ता छन् । अर्थात् नेतृत्व वर्गजति सबैलाई धनी बनाइसकेपछि आउने समाजवाद क्या ! तर हिजोआज समाजवादलाई रोग लागेको हो कि भोग लागेको हो वा षड्यन्त्रमा परेको हो, बत्ती बालेर खोज्दा पनि कतै भेटिइरहेको छैन । समाजवादका ठेकेदारहरूका कार्यालयहरू पनि हिजोआज सुनसान छन् । माक्र्स, लेलिन, स्टालिन र माओका तस्वीरका ठाउँमा व्यापारी र बिचौलियाहरूका फोटा टाँगिएका छन् । सिंहदरबार जो समाजवादका उत्पादन र वितरणको सबैभन्दा ठूलो केन्द्र हो, त्यहाँ पनि मूर्दा शान्ति छ । कसैले समाजवादको माग गर्‍यो भने उसलाई ‘महँगी, भ्रष्टाचार र गरीबी निवारण कसरी गर्ने’ भन्ने भाषणको किताब वा ‘फलानो सरकारको उपलब्धि’ भन्ने किताब थमाइन्छ । हिजोआज समाजवादलाई रोग लागेको हो कि भोग लागेको हो वा षड्यन्त्रमा परेको हो, बत्ती बालेर खोज्दा पनि कतै भेटिइरहेको छैन । समाजवादका ठेकेदारहरूका कार्यालयहरू पनि हिजोआज सुनसान छन् । माक्र्स, लेलिन, स्टालिन र माओका तस्वीरका ठाउँमा व्यापारी र बिचौलियाहरूका फोटा टाँगिएका छन् । मैले समाजवादका एक प्रमुख वितरकलाई सोधेँ, ‘खोइ त समाजवाद कहाँ छ ? अलिकति पाउन सक्छु ?’  उनले भने, ‘शुद्ध समाजवाद त विश्व बजारमै कतै छैन । यहाँ तपाईंलाई कहाँबाट ल्याएर दिम् ?’ मैले फेरि सोधेँ, ‘समाजवाद त सबै तपाईंहरूले चुनावमा मात्र वितरण गर्ने भनेर स्टक लुकाएर राख्नु भा छ रे नि त ?’ उनले भने, ‘हेर्नुस्, गोदाममा स्टक आउट छ । किनकि हिजोआज विदेशबाट कागज आयात रोकिएको छ । कागजको कमीकै कारण समाजवादका उत्पादनहरूमा ठूलो धक्का लागेको छ । किनकि वास्तविक समाजवाद त कागजमै त अडेको हुन्छ । कागजको कमी भएकाले सबै उत्पादन नै बन्द भयो । कागज आउनासाथ फेरि समाजवाद बजारमा आउँछ ।’ तर, समाजवाद लागू गर्ने समाजवादी तरीका पनि खतरा छ भन्या । महँगीले भाउ बढ्दै गैराछ, मान्छे घट्दै गैराछन् । सरकारको राम्रो बानी यो छ कि महँगीसँग लड्न भनेर थप कर लगाउँछ । तर कर लगाउने बेला सर्वसाधारण, गरीब, निमुखाको खुब ख्याल गर्छ । त्यसो त सरकारले बजेट बनाउँदा पनि गरीबलाई ध्यान दिएरै बनाउँछ । गरीबलाई कर नै लगाउँदैन । धनीलाई मात्र लगाउँछ । तर खर्च बढेको देखेपछि धनीले आफ्ना उत्पादनका भाउ बढाइदिन्छन् । त्यसको मूल्य भने फेरि गरीबले नै चुकाउँछन् । यसरी गरीब झन् गरीब हुँदै जान्छ, अनि सरकार पनि पक्का समाजवादीमा दरिँदै जान्छ । तर बदनाम भने पूँजीवाद हुन्छ । यता मूल्य बढ्दै जान्छ, उता समाजवाद बलियो हुँदै जान्छ र व्यापारी अझ प्रसन्न बन्दै जान्छन् । वास्तवमा समाजवादको तीनखम्बे अर्थनीति भनेको शायद यही होला । दशैं नजिकिँदै छ । उपभोक्ताहरू चिनी, नून, खाद्यान्नका लागि लाइनमा छन् । त्यसो त नेपालीहरू सधैं कुनै न कुनै लाइनमै रहन्छन्, कि त लाइसेन्स लिने लाइनमा, कि पासपोर्टको, कि राष्ट्रिय परिचयपत्रको, कि पेट्रोलियमको, कि विदेश जाने लाइनमा । वास्तवमा पूरा देश अनुशासित, पंक्तिबद्ध र लामबद्ध भएर समाजवादलाई सफल बनाउन प्रतिबद्ध छ । यसरी समाजमा एकता छाएको छ । झीनामसिना झगडाहरू समाप्त भएर गएका छन् । अनेकतामा एकता आएको छ । किनकि के यो वा त्यो जात वा धर्म, सबै एउटै लाइनमा जो छन् । अहिले त केवल महँगी बढिरहेको छ । महँगी पनि त नेपाली समाजवादको उपलब्धि हो नि । दलहरूको साना दु:खले अज्र्याको हो र ? महँगी बढेकै कारण सर्वसाधारणका घरहरूमा चियामा चिनी कम हुँदै गइरहेको छ । यो सुगरको रोगी घटाउने समाजवादी टिडिक हो नि । मोटरसाइकलमा पेट्रोल कम हुँदै गइरहेकोे छ भने अखबारमा कागज कम । किचेनबाट तरकारी, फलफूल गायब हुँदै छन्, बाथरूमबाट साबुन । सबैतिर समाजवाद आउँछ, देशले प्रगति गर्छ अनि मन खोलेर लाउँला, खाउँला भनेर प्रतिक्षारत छ देश । सर्वसाधारण त सरकारको हालत देखेर चिन्तित पनि छ । ऊजस्तै सरकारले पनि आफ्नो खर्च धान्न सकिरहेको छैन । समाजवाद आउने त पछिको कुरा भयो । अहिले त सरकारलाई नै कर्मचारीको तलब र अफिसको खर्च जुटाउनै धौ धौ परिसकेको छ । त्यसैले सरकारले जनतामाथि करमाथि कर लगाउँदै गइरहेको छ, ताकि पैसा आओस् । सर्वसाधारण करको बोझ उठाउँछ । तर करको वजन धेरै भएका कारण उसले आफ्नो किनमेल कम गर्छ । यसबाट फेरि सरकारलाई नै नोक्सानी हुन्छ । अनि सरकारलाई खर्च पुग्दैन र ऊ फेरि थप कर लगाउँछ । सरकारले यो सबै जनताप्रति हार्दिक सद्भावनाका कारण नै गरिरहेको छ । सहानुभूति, कर र बढ्दो भाउ । सहानुभूति, कर र फेरि बढ्दो भाउ । यो एउटा राष्ट्रिय चक्कर भएको छ, जो वर्षौंदेखि चलि नै रहेको छ । सर्वसाधारण यै चक्करमा दाइँमा घुम्ने गोरु झैं घुमेको घुम्यै गरिरहेका छन् । हिजोआज पृथ्वीले चक्कर लाउने कार्य बन्द गरेको छ । मान्छेहरू चैं चक्कर लाउन थालेका छन् । यो घनचक्कर केवल अर्को एक दिन कसरी गुजारा गर्ने भन्नेमा सीमित छ । यसरी अभाव र महँगीमा मान्छेहरूले समाजवाद पनि बिर्सन सक्छन् भन्ने कुरा काका कार्लमाक्र्सले कल्पना पनि गरेका थिएनन् होला । तैपनि देशमा समाजवादको गीत हिट भइराको छ भन्या ! यो देखेर ताज्जुब लाग्छ, गज्जब लाग्छ । समाजवादले कस्तो लठ्याएको क्या ! आफ्नो दुनो सोझ्याउने अनि दुनियाँको दुनामा समाजवाद पस्कने ? अब यसै भएन । बरु तपाईं पनि आउनुस् समाजवादी बन्ने र बनाउने लाइनमा । अनि बेच्न थाल्नुस् समाजवाद । समाजवादमै सुत्नुस्, समाजवादमै उठ्नुस् । यति गरेपछि संविधानमा लेखेको समाजवाद कसो नआउला त हँ ?