काठमाडौं (अस) । स्कोडा नेपालले पोखराको नयाँ बजारमा सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । युरोपियन लिडिङ ब्रान्ड स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले पोखरामा स्कोडा कार र एसयूभी बिक्री वितरणका लागि एसएसएल मोटर्सलाई डिलर नियुक्त गरेको हो ।
एमएडब्लुले सन् २००८ देखि स्कोडा कारलाई नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । देशभर स्कोडा कारको उपलब्धतता सहज बनाउन डिलर डेभलपमेन्टलाई प्राथमिकतामा राखेर काम गर्दै आएको कम्पनीले बताएको छ । एमएडब्लुले पोखरामा युरोपियन मापदण्डको नयाँ शोरुम स्थापना गरेको हो ।
नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष ध्रुव थापा र स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले शोरुम र वर्कसपको संयुक्त रूपमा उद्घाटन गरे ।
कार्यक्रममा कार्यकारी निर्देशक अग्रवालले देशभर डिलर विस्तार गर्ने क्रममा पोखरामा पनि सुविधासम्पन्न शोरुम र वर्कसप स्थापना गरिएको बताए । ‘हामी निरन्तर आफ्नो डिलर नेटवर्क स्थापना गरी देशभर सहज रूपमा ग्राहकलाई युरोपियन कारको सहज पहुँच पुर्याउन प्रतिबद्ध छौं,’ उनले भने ।
पोखरामा शोरुम उद्घाटन अवसरमा फागुन २४ र २५ गते विशेष टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरिने एसएसएल मोटर्सका प्रबन्ध निर्देशक सूर्य बरालले जानकारी दिए ।