चैत १६, काठमाडौं । भारतमा विगत ९ दिनमध्ये ८ दिनमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।
बुधवार पनि त्यहाँ पेट्रोल र डिजेल दुबैको भाउ ८०/ ८० पैसा बढाइएको छ । यो विगत ९ दिनमा भएको आठौं मूल्य वृद्धि हो । पछिल्लो भाउ वृद्धिसँगै दिल्लीसमेत देशका प्रमुख शहरहरुमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १०० रुपया नाघेको छ । दिल्लीमा एक लिटर पेट्रोलको खुद्रा मूल्य १०१ रुपैया १ पैसा कायम भएको छ । अर्थात् दिल्लीबासीहरुले एक लिटर पेट्रोलका लागि १०१ रुपैयाभन्दा धेरै खर्च गर्नु पर्नेछ ।
त्यस्तैगरी, डिजेलको भाउ पनि लिटरकै ९२ रुपैया २७ पैसा पुगेको छ । देशभरमा पेट्रोलियम पदार्थ सबैभन्दा महँगो मुम्बईमा छ । त्यहाँ एक लिटर पेट्रोलको भाउ ११५ रुपया ८८ पैसा पुगेको छ । डिजेलको भाउ पनि १०० रुपैया १० पैसा कायम भएको छ । पेट्रोल र डिजेल दुबैको भाउ क्रमशः ७५ र ७६ पैसा बढाइएको चेन्नईमा यी दुई इन्धनको भाउ क्रमशः १०६ रुपया ६९ पैसा र ९६ रुपया ७६ पैसा पुगेको छ ।
मार्च २२ यता भारतमा इन्धनको भाउ लिटरमा करीब ५ रुपैया ६० पैसा बढिसकेको छ । केही राज्यमा विधान सभाको निर्वाचनलाई लक्षित गरेर सरकारले १३७ दिनसम्म पेट्रोलियम पदार्थको दैनिक मूल्य संशोधन स्थगित गरेको थियो । मूल्य संशोधन स्थगन शुरुमा बताइएकोभन्दा २ हप्ता धेरैसम्म गरिएको छ ।
पछिल्लो समय दैनिक रुपमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य बढ्न थालेपछि झन्डै साढे चार महीनासम्म रोकिएको मूल्य वृद्धि संसोधनको विरोध बढेको छ । यस्तोमा अर्थमन्त्री निर्मला सितारमणले भने सरकारको सो निर्णयको बचाउ गर्दै युक्रेनमाथि रुसले गरेको आक्रमणका कारण विश्व भर आपूर्ति शृङ्खलामा देखिएको अवरोध र विश्व बजारमा कच्चा तेलको भाउमा भएको वृद्धिका कारण भाउ बढेको र यो अस्थायी प्रवृत्ति भएको बताएकी थिइन् ।
युक्रेनमाथिको आक्रमणपछि विश्व बजारमा कच्चा तेलको भाउमा तीव्र उतारचढाव आइरहेको छ । बुधवार कच्चा तेलको भाउ बढेको छ । पेट्रोलियम तेल निर्यातकर्ता देशहरुको समूह ओपेक र समूह बाहिरका शीर्ष तेल उत्पादकहरुबीचको बैठकअगाडि आपूर्ति चिन्ताबीच बुधवार विश्व बजारमा कच्चा तेलको भाउ बढेर प्रतिब्यारेल ११३ डलरमाथि उक्लिएको छ ।
यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ८ः२० बजे लन्डनस्थित आईसीईको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ३ दशमलव ५ प्रतिशतले बढेर शून्य ९ सेन्टमा पुगेको थियो ।
सोही समयमा न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा पनि वेष्ट टेक्सस इन्टरमिडियटको भाउ प्रतिब्यारेल २ दशमलव २४ प्रतिशतले बढी १०७ डलर ६५ सेन्टमा किनबेच भइरहेको थियो ।अघिल्लो दिनको कारोबारमा भने दुबै बेञ्चमार्क २ प्रतिशतले घटेका थिए ।
रुसले किभमा सैन्य गतिविधि घटाउने वाचा गरेपछि तेल बजारमा सुधार आएको छ भने शेयर बजार पनि हरियालीमा आएका थिए । विश्व बजारमा कच्चा तेलको भाउ बढेसँगै हालैका दिनमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ ।
इण्डियन आयल कर्पोरेशनले नयाँ मूल्य सूची पठाउँदा पेट्रोलियम पदार्थको भाउ बढाएर नेपाल आयल निगमलाई पठाउने देखिएको छ । यसो भयो भने नेपाली बजारमा इन्धनको भाउले नयाँ उचाई छुनेछ ।