काठमाडौं । आईएमएस ग्रूपले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए)को नयाँ आगमन कक्षमा सुरक्षा एवं आगमन सरल बनाउने भएको छ । आगमन कक्षको व्यवस्थापन गरिरहेको आईएमएस ग्रूपले टीआईएको आगमन कक्षको समस्याबारे केही दिनअघि सार्वजनिक भएको गुनासोप्रति ध्यानाकर्षण भएको भन्दै अब सुरक्षित र सरल आगमन बनाउने जानकारी गराएको हो । ‘आगमन कक्षको ट्राभलेटरसँग सम्बन्धित सार्वजनिक भएको घटना, जनगुनासो तथा समस्याबारे आईएमएस ग्रूप व्यवस्थापनको गम्भीर ध्यानाकर्षण भएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘यो समस्याको समाधान गर्दै विमानस्थलबाट यात्रु बाहिर निस्किने मार्ग, प्रतीक्षा कक्ष तथा पार्किङ क्षेत्रलाई सहज, सुरक्षित बनाउन प्रतिबद्ध छौं ।’
यात्रुको सहज र सुरक्षित यात्रालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको कम्पनीले बताएको छ । यात्रुले भोग्नु परेको समस्या सम्बोधन गर्न तथा आगमन सरल, सहज र सुरक्षित बनाउन आईएमएस एयरपोर्ट सर्भिसेजले तत्कालै १० जना यात्रु क्षमताको नयाँ एलिभेटर थप गर्ने बताएको छ । त्यसले आगमन कक्षको उक्त क्षेत्रमा हुने भीडभाड व्यवस्थापनमा सहज हुने र समस्या न्यूनीकरणमा सहयोग पुग्ने कम्पनीले बताएको छ ।