गोरखा । गोरखाको शहीद लखन गाउँपालिका–७, मा गर्भवती, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सेवाको शुरुआत गरिएको छ । वडा कार्यालयले चालू आर्थिक वर्षदेखि वडाभित्रका ७० वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती र अपांगता भएका व्यक्तिलाई उपचारका लागि गोरखा अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्स सेवा शुरू गरेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।
‘आव २०७८÷७९ वडागत कार्यक्रमअनुसार निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ,’ उनले भने, ‘अब बिरामीले उपचारका लागि जिल्ला सदरमुकाममा पुग्न परे पनि एम्बुलेन्स भाडा तिर्नु पर्दैन ।’ बुंकोट स्वास्थ्य चौकीमा उपचार सम्भव नहुने बिरामीलाई जिल्ला अस्पतालमा पठाउनुपरेमा स्वास्थ्यकर्मीका सिफारिशका आधारमा वडाबाट निःशुल्क सेवा पाउने उनले बताए । स्वास्थ्यकर्मीको सिफारिसका आधारमा अस्पतालमा लैजानुपर्ने भए पनि तोकिएका व्यक्तिलाई आउजाउका लागि एम्बुलेन्स भाडा बिरामीले तिर्नु नपर्ने गरी व्यवस्था मिलाइएको छ । बुंकोट स्वास्थ्यचौकीलाई ‘सम्भव छ नेपाल’ नामक संस्थाले हालै एम्बुलेन्स उपलब्ध गराएको थियो । रासस