विराटनगर । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सरकारले बन्द गरेपछि प्रदेश १ मा काठ आपूर्ति प्रभावित भएको छ । काठ उत्पादनमा कमी आएसँगै आन्तरिक माग पूर्तिका लागि विदेशबाट आयात बढेको छ ।
गत आर्थिक वर्ष २०७७/७८ मा आयात भएको भन्दा बढी काठ चालू आर्थिक वर्षको पहिलो सात महीनामै आयात भएको भन्सार कार्यालयको तथ्यांक छ । आन्तरिक उत्पादन रोकिएकाले काठ आयात बढेको हो । त्यसबापत ठूलो धनराशी विदेशिएको छ ।
प्रदेश नम्बर १ मा गत आवमा २ लाख ७७ हजार २३० क्युबिक फिट काठ आयात भएको थियो । चालू आवको सात महीनामा २ लाख ७९ हजार २३४ क्युबिक फिट काठ आयात भइसकेको छ । जोगबनी भन्सारबाट मात्र सो अवधिमा २ लाख १२ हजार ५६८ क्युबिक फिट काठ आयात भएको छ, जसका लागि ४५ करोड रुपैयाँ विदेशिएको छ ।
यस अवधिमा मलेसिया, इन्डोनेसिया, लाइबेरिया, म्यान्मा र भारतबाट साल लगायत प्रजातिका गोलिया काठ आयात गरिएको छ ।
प्रदेश १ को ४३ प्रतिशत भूभाग वनक्षेत्रले ढाकिएको छ । प्रदेशको २५ लाख ८९ २८३ हेक्टर क्षेत्रफलमध्ये ११ लाख २२ हजार १२६ हेक्टर वनक्षेत्रबाट काठ तथा गैरकाठजन्य वस्तु उत्पादन हुने गरेको छ । कुल वनक्षेत्रको ४ लाख २४ हजार ७१४ हेक्टर क्षेत्रफल सामुदायिक वनले ओगटेको छ भने साझेदारी वनले ७ हजार २७६ हेक्टर क्षेत्रफल ओगटेको छ । राष्ट्रिय वन क्षेत्रबाहेक कबुलियती वन, धार्मिक वन, साझेदारी वन, निजी वन र चक्ला वनमा विभाजन गरेर संरक्षण र काष्ठ वस्तु उत्पादनको काम भइरहेको छ । प्रदेश १ मा आर्थिक वर्ष २०७७/७८ मा १ करोड ३६ लाख ७९ हजार ८०० क्युबिक फिट काठ उत्पादन भएको वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयले बताएको छ । त्यसमध्ये निजी वनको योगदान १ करोड ३० लाख ९८ हजार ८५२ क्युबिक फिट छ । निजी वनबाट उत्तिस, सिमल, कदम, मसला आदि प्रजातिका काठ बढी उत्पादन भएको छ ।
चालू आवको पहिलो चौमासिकमा ३३ लाख ८४ हजार ७४५ क्युबिक फिट काठ उत्पादन भएको छ, जसमध्ये निजी वनबाट ३२ लाख ४५ हजार ४११ क्युबिक फिट उत्पादन भएको मन्त्रालयको तथ्यांक उल्लेख छ । मन्त्रालयको विवरणले प्रदेश १ मा कुल काठ उत्पादनको ९० प्रतिशत हिस्सा निजी वनमा आधारित रहेको देखाएको छ । तर, निजी वनबाट नरम जातका काठ उत्पादन हुने भएकाले घरसारमा प्रयोग हुने कडा काठका लागि भने उपभोक्ता अन्य वनक्षेत्रमा निर्भर छन् ।