भदौ २८, काठमाडौं । नेपाल डिजिटल पेमेन्ट कम्पनीले मंगलवारदेखि अनलाइन भुक्तानी सेवा शुरु गर्ने भएको छ ।
स्रोतका अनुसार शुरुवाती समयमा केही सीमित भुक्तानीका विकल्प मात्र उपलब्ध हुनेछन् ।
कम्पनीमा नेपाल टेलिकमको मुख्य लगानी रहेको छ । नमस्ते पे एप केही महीनादेखि आन्तरिक परीक्षणमा रहेको थियो । कम्पनीले थप तयारी पुरा गर्दै ‘नमस्ते पे’ को सेवा सञ्चालनमा ल्याउन लागेको हो ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले ट्वीटरमार्फत नमस्ते पे मंगलवारदेखि सञ्चालनमा आउन लागेको उल्लेख गरेका छन् । वालेटमा रकम लोड गर्न सकिने गरी केही बैंकलाई जोडिएको छ । प्रयोगकर्ताले मोबाइल एप तथा यूएसएसडी कोडमार्फत भुक्तानी गर्न सक्नेछन् ।
शुरुवाती चरणमा मोबाइल तथा इन्टरनेट सेवाको भुक्तानी, विद्युत् तथा पानीको बिल भुक्तानी लगायतका सेवा उपलब्ध हुनेछन् ।