काठमाडौं । सानिमा बैंक लिमिटेडले प्रस्ताव गरेको कुल १४ दशमलव ७० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले प्रस्तावित लाभांश पारितका लागि कात्तिक २ गते १९औं वार्षिक साधारण सभा बोलाएको छ । असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौं, चण्डोलस्थित कुण्डलिनी दरबार ब्यान्केटमा उक्त दिन बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ५ दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । हाल बैंकको चुक्ता पूँजी १२ अर्ब ४६ करोड १ लाख १५ हजार रुपैयाँ छ ।
लाभांश प्रस्तावसहित विविध प्रस्ताव पारितका लागि बोलाएको साधारण सभा प्रयोजनका लागि बैंकले असोज २२ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज २१ गतेसम्म कायम इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।