अनुप अग्रवाल नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जका अध्यक्ष हुन् । अर्थतन्त्रका आयामहरूमा युवाको सक्रिय सहभागिता नभई अपेक्षित विकास र समृद्धिको सपना पूरा नहुनेमा उनी स्पष्ट छन् । नेपालमा युवा उद्यमशीलताको अवस्था, चुनौती र सम्भावनाबारे आर्थिक अभियानका ओमप्रकाश खनालले अध्यक्ष अग्रवालसँग गरेको कुराकानीको सार :
नेपालमा युवाशक्तिको अवस्था कस्तो पाउनुभएको छ ?
नेपाल अहिले आर्थिक रूपमा सक्रिय जनशक्ति अधिक भएको देश हो । त्यसमा पनि अहिले युवाहरूकै बाहुल्य छ । तर, समग्रमा हेर्ने हो भने अधिकांश युवाशक्ति वैदेशिक रोजगारीका लागि विदेशमा छ । तीमध्ये मुश्किलले ४/५ प्रतिशतमात्रै दक्ष कामदारको रूपमा गएका छन् । अधिकांश अदक्ष श्रम बेचिरहेका छन् । बाहिरबाट पढेर आएका केही युवाहरूले परिवारकै पुस्तैनी उद्योग व्यापारलाई अघि बढाएका पनि छन् । जोसँग स्रोतसाधान सहज छ, उनीहरू सजिलै काम गरिरहेका छन् । नयाँ तरिकाले पनि काम विस्तार गरेका छन् ।
उद्यमशीलतामा इनोभेसनको कुरा धेरै हुन्छ । तर, व्यवहारमा रूपान्तरण किन नभएको होला ?
हामीकहाँ नीतिगत स्थिरता छैन । यो मुख्य समस्याको रूपमा रहेको छ । निकायपिच्छेका नीति र नियम कानूनले उद्यममा टिक्नु नै कठिन कामजस्तो भइसकेको छ । अहिले आयातमा कडाइ गरिएको छ । कस्ता कुरामा रोक लगाउने, त्यसको आन्तरिक उत्पादन र आपूर्तिको अवस्था कस्तो छ, त्यसमा कुनै तार्किक पक्ष छैन । जस्तै– नेपालमा सौन्दर्य प्रसाधनको उत्पादन अत्यन्त न्यून छ । त्यसमा पनि उपभोक्ताको ब्राण्ड रोजाइको कुरा हुन्छ । त्यसको आयातमा एलसीका लागि शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिएको छ । यो त उदाहरणमात्र हो । यस्ता अनेक वस्तुको आयात निरुत्साहित गरिएको छ । आयात घटाउनु सकारात्मक हो । तर, त्यसका लागि आन्तरिक उत्पादन पनि त बलियो हुनु पर्दछ । अब नगदमा ल्याएर उधारोमा बेच्ने अवस्था भयो । नगदमै बेच्न पाउने वातावरण भए त राम्रै हुन्थ्यो । आज हामीकहाँ कुनै व्यवसायीले व्यावसाय शुरू गर्दा पहिल्यै उधारो प्रोभिजन गर्ने मानसिकता छ । उपभोक्ताले उधारो किन्दैन भने बीचका तहलाई किन उधारो दिइरहेको छ ? यसमा सुधार आवश्यक छ । आयातलाई कस्ने सरकारले उधारो कारोबारलाई पनि कस्ने नीति ल्याउनु पर्दछ । तर, सरकारले यसमा चासो राखेको देखिन्न । यस्तो नीतिगत अन्योलमा कुनै पनि उद्यमीले जोखिम लिएर नयाँ काम गर्दैन । हरेक दिन नयाँ नीति आउँछ । नयाँ अवधारणाको योजनामा बैंकले पनि लगानी गर्न चाहँदैन । कम जोखिममा कसरी काम गर्ने भन्नेमात्रै छ । उद्यमीले त्यहीअनुसार सोच्ने गरेका छन् । युवाहरू शुरूमा नयाँ अवधारणासहित आउँछन् । वातारवरण बुझेपछि पुरानै ढर्रामा जान्छन् । अन्यथा उद्यमीले जोखिम लिन डराउँदैन । स्टार्टअपलाई राम्रोसँग बुझ्ने प्रयास नै भएको छैन । सानो आकारको व्यापार गर्नेलाई स्टार्टअप भनेर बुझिएको छ । तर, त्यो होइन, केही फरक गर्नु स्टार्टअप हो । रचनात्मक तरिका चाहिन्छ । पुरानै कुराहरू पनि नयाँ तरिकाले गर्न सकिन्छ । नेपालमा पनि स्टार्टअप शुरू भएको छ । यो सकारात्मक कुरा हो । सरकारले स्टार्टअपलाई प्रोत्साहन र संरक्षणको नीति लिनुपर्ने हो, त्यो भने भएको छैन ।
कस्ता नीतिगत समस्या छन् ?
स्टार्टअप, युवा, महिला उद्यमी र शैक्षिक प्रमाणपत्रमा सहुलियत कर्जाको नीति सुन्दा राम्रो लाग्छ । तर, कार्यान्वयन सहज छैन । त्यसमा पनि पहुँचवालाको मात्र काम भइरहेको छ । यस्तो समस्याका कारण परम्परागत काम र अरूले गरेको कामलाई नै अनुसरण गर्ने प्रवृत्ति विस्तार भएको छ । इनोभेसन हुन सकेको छैन । नयाँ खोजमा काम हुन सकेको छैन । सहज व्यापारको दृष्टिले मात्र हेरिएको छ । सुरक्षित क्षेत्र खोज्ने काम बढी भएको छ । आजको नीति हेरेर काम शुरू गरेको हुन्छ, भोलि के हुन्छ निश्चित हुँदैन । यस्ता समस्याको निकास हुनु पर्दछ । हामीले यसमा विभिन्न मञ्च र मौकामा सरोकारका पक्षको ध्यानाकर्षण गराउने, छलफल गर्नेलगायतका काम गरेका छौं ।
अर्थतन्त्रको उत्थानका लागि उत्पादनलाई जोड दिइन्छ । हामीकहाँ उत्पादनको अवस्था भने निकै कमजोर छ, किन होला ?
आत्मनिर्भर अर्थतन्त्रका लागि उत्पादन नै मुख्य कुरा हो । हामीकहाँ स्रोतको कमी होइन, सोचको कमी छ । २० वर्षअघिसम्म सिमेन्टमा आत्मनिर्भर हुने कुरा त सोचिएकै थिएन । तर, भयो नि त । सिमेन्ट आत्मनिर्भर उद्यम हो । बाहिरबाट कच्चा पदार्थ ल्याएर गरिएको उत्पादन आत्मनिर्भर होइन । कुन क्षेत्रमा उत्पादनलाई अघि बढाउने, त्यसमा स्पष्ट दृष्टिकोण राखेर काम गर्नु पर्दछ । कुन क्षेत्रमा कस्तो आयात छ, त्यसको कच्चा पदार्थ यहाँ छ कि छैन, यो उत्पादन वा आयात केमा तुलनात्मक लाभ छ, यो हेरेर काम गरौं न । उत्पादनमा उदाहरणीय काम गर्न सकिन्छ । आज सिमेन्टका ग्राण्डिङ युनिटहरू बन्द हुने अवस्थामा छन् । त्यसको जिम्मा कसले लिने ? हामीले मेड इन नेपाल र मेक इन नेपाललाई एकै ठाउँमा मिसमास गरेर बुझेजस्तो लाग्छ । मेक इन नेपाल पनि हुनु पर्दछ । तर, ती क्षेत्र यस्ता हुनु पर्दछ कि, ठूलो परिमाणमा लगानी चाहिने क्षेत्र छनोट गरेर आह्वान गर्नु पर्दछ । हाम्रो स्रोतसाधन र प्रविधि नपुग्नेमा त्यस्तो लगानी ल्याउनु पर्दछ । त्यस्तामा नेपाली लगानीकर्तालाई साझेदार बनाएर प्रविधि र दक्षता वृद्धिमा अगाडि बढ्न सकिन्छ । हामी भारत र चीनको बीचमा छौं । यसका चुनौती कम गर्दै अवसर उपयोगमा लाग्नु पर्दछ । जलविद्युत् र पर्यटन हाम्रो सम्भावना हो । यसको उपयोग कसरी गर्ने भन्ने स्रोत सीमित भएका देशले उदाहरणीय काम गरेर देखाएका छन् । दृष्टिकोण, योजना र इमानदारी भएमा हामी पनि विकासको नमूना पेश गर्न सक्छौं ।
युवा उद्यमशीलता विकासमा युवा उद्यमी मञ्च वीरगञ्जले कस्ता काम गरेको छ ?
यो युवा उद्यमीहरू आपसमा मिलेर आफैबाट सिक्ने संस्थागत अभ्यास हो । हामीले राष्ट्रिय कार्यक्रमअन्तर्गत काठमाडौं उपत्यकाबाहिर पहिलोपटक वीरगञ्जमा मेड इन नेपाल एक्स्पो आयोजना गर्ने योजना बनाएका छौं । त्यसका लागि आगामी फागुन १२ देखि १७ सम्म समय पनि तय भएको थियो । अहिले कोरोना महामारीको तेस्रो लहरले उत्पन्न गरेको जोखिमका कारण अहिलेलाई स्थगित अवस्थामा छ । यो यस्तो एक्स्पो हो, जसले स्वदेशी उत्पादनको प्रवर्द्धनलाई एकल उद्देश्यमा राख्दछ । यस्तो एक्स्पो उत्पादनको विक्रीभन्दा पनि भविष्यका लागि प्रवर्द्धनको अवसर हो । अहिले पनि एक्स्पोलाई कतिपयले विक्रीस्थलको दृष्टिले हेरेका छन् । यो दृष्टिकोणमा सुधारको खाँचो छ । यो त उपभोक्तालाई प्रत्यक्ष भेटेर उनीहरूको सुझाव संकलन गर्ने र आफ्नो उत्पादनको बारेमा बताउने ठाउँ हो । वस्तुका बारेमा जानकारी दिने/लिने ठाउँ हो । यस्तोमा उद्योगले कम खर्चमा सहज रूपमा उत्पादनको बारेमा सर्वेक्षण गर्न पाउँछ । उद्यमीले यस्ता अवसरको उपोग गर्नु पर्दछ । यसमा विश्व अर्थतन्त्र र बजार कता गइरहेको भन्ने थाहा हुन्छ । पहिला साझेदारीमा काम गर्न हच्किने अवस्था थियो । आज उद्यमीहरू समूह बनाएर साझेदारीमा काम गरिरहेका छन् । यो सकारात्मक कुरा हो । यसबाट लगानी र जोखिम विभाजन हुने भयो । आज कुनै पनि मानिसले एक्लै काम गर्न सक्दैन । केही नयाँ काम गर्न र रचनात्मक तरिकाले गर्न यस्ता अवसर उपयोगी हुन्छन् । वीरगञ्जमा महिला उद्यमी सम्मेलन, क्षमता विकास तालीम, अर्थतन्त्रमा महिलाको सक्रिय सहभागिताबारे कार्यशालाजस्ता कार्यक्रम सम्पन्न गरेका छौं । विभिन्न औद्योगिक प्रतिष्ठानहरूमा स्थलगत अवलोकनको अवसर पनि मिलेको थियो । यस्ता कार्यक्रमबाट उद्यमीहरूको दृष्टिकोण परिवर्तनमा सहयोग पुग्दछ । कोरोना महामारीको समयमा स्वास्थ्य तथा सतर्कता अभिवृद्धिका अभियान सञ्चालन भए ।