चालू आर्थिक वर्षको पछिल्लो ५ महीनामा साढे २ अर्ब रुपैयाँभन्दा बढीको प्याज आयात भएको छ । नेपालमै प्याज उत्पादनको सम्भावना भए पनि उचित नीति र सहयोगको अभावमा व्यावसायिक रूपमा प्याज उत्पादन हुन नसक्दा नै ठूलो परिमाणमा भारतलगायत मुलुकबाट आयात गर्नुपरेको हो । प्याज उत्पादन बढाउन ल्याइएको कार्यक्रमको असफलताका कारण पत्ता लगाएर नयाँ कार्यक्रम ल्याउनुपर्नेमा सरकारले त्यसलाई बेवास्ता नै गरेको देखिन्छ ।
तराईदेखि मध्य पहाडसम्म खेती गर्न अनुकूल भएकाले स्वदेशमै यसको उत्पादन गरेर परनिर्भरता घटाउन सकिन्छ । तर, उत्पादन र उत्पादकत्व दुवै न्यून भएकाले आयातमा भर पर्नु परेको हो । सरकारले प्याज उत्पादन बढाउन १ दशकअघि ‘मिशन प्याज’ कार्यक्रम अघि सारेको थियो । त्यस्तै कार्यक्रम ४ वर्षअघि पनि ल्याएको थियो ।
किसानलाई प्याजको उन्नत बीउबिजन, मल र सिँचाइमा अनुदान दिनेलगायत प्रोत्साहन दिने भनिए पनि विभिन्न कारणले यो असफल भयो । यो कार्यक्रम असफल हुनुका विभिन्न कारणमध्ये बीउको अभाव एउटा थियो । प्याज उत्पादनका लागि नेपालमा उन्नत बीउ उत्पादन हुन सकेन । बीउ आयात पनि हुन सकेन । यसका लागि तरकारी बाली विकास केन्द्र खुमलटारले पनि काम गर्न सकेन । सरकारले सबैभन्दा पहिले किसानलाई उन्नत जातको प्याजको बीउ उपलब्ध हुने वातावरण बनाउनुपर्छ ।
दोस्रो नेपाली किसानले प्याज उत्पादन गरेका बेला बजारमा यसको मूल्य निकै सस्तो हुन्छ । प्याजको भण्डारण गरेर राख्ने क्षमता किसानसँग नहुँदा उनीहरूले सस्तैमा विक्री गर्नुपर्ने बाध्यता छ । विक्री नगरे वर्षामा कुहिन थाल्छ । भण्डारणको सुविधा भए महँगो हुँदा आफ्नो उत्पादन बेच्न पाउँथे । त्यही भएर किसानहरू प्याज खेतीतर्फ आकर्षित हुन नसकेका हुन् । बजारमा भारतीय प्याजले बजार पाउनु तर नेपाली उत्पादन सहजै विक्री हुन नसक्नु पनि समस्या हो । त्यसैले सरकारले प्याज उत्पादनका लागि व्यावहारिक नीति लिनु आवश्यक छ ।