काठमाडौं (अस) । शुक्रवार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना सुस्त गतिमा भइरहेको छ । मतगणना सुस्त हुँदा अन्तिम परिणाम आउन धेरै दिन लाग्ने देखिएको छ ।
शनिवार बेलुका ८ बजेसम्ममा देशभरका १२ गाउँपालिकाको मतगणना सकिएको समाचार सञ्चार माध्यमहरूले सार्वजनिक गरेका छन् । तर, निर्वाचन आयोगको वेबसाइटमा यो समाचार तयार गर्दासम्म मतगणनाको नतीजा राखिएको छैन ।
यसैबीच, वीरगञ्जबाट अभियान संवाददाताले पठाएको समाचारमा मधेश प्रदेशको एकमात्र महानगर वीरगञ्जमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकर्ताबीचको विवादले मतगणनामा ढिलाइ भएको छ ।
वीरगञ्जको नृसिंह माविमा बिहान ११ बजेदेखि मतगणना शुरु गर्ने दलीय सहमति भए पनि गणनास्थलमा एमाले र जसपाका कार्यकर्ताबीच विवाद भएको थियो ।