चितवन (अस) । चितवनको रत्ननगरमा ११ औं संस्करणको रत्ननगर महोत्सव हुने भएको छ । महोत्सव पुस २७ देखि माघ ८ गतेसम्म हुने भएको हो । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा रत्नगरको टिकौलीचौरमा महोत्सव हुनेछ । उद्योग वाणिज्य संघ रत्ननगरले पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको हो ।
रत्ननगर उवासंघ अध्यक्ष अनिल श्रेष्ठले उद्योग, व्यापार, कृषि, पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव गर्न लागिएको जानकारी दिए ।
उनका अनुसार महोत्सवमा स्थानीय कला–संस्कृतिसहितका गरी करिब ३५० स्टल रहनेछन् । महोत्सव करिब ३ लाखले अवलोकन गर्ने र १५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको मूल आयोजक समिति संयोजकसमेत रहेका श्रेष्ठले बताए । महोत्सवमा स्थानीय खाना परिकार तथा पोल्ट्री प्रवद्र्धन गर्न पुसा २९ देखि माघ ३ गतेसम्म रत्ननगरको टाँडी बजारमा चिकेन एन्ड एग फुड फेस्टिबल गरिने श्रेष्ठले जानकारी दिए । त्यस्तै, महोत्सवमा पहिलो पटक राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गरिनेछ । महोत्सवमा पर्यटन प्रचार–प्रसार गर्न चितवनका प्रमुख पर्यटकीय गन्तव्य समेटेर सूचना केन्द्रको व्यवस्था गरिएको छ ।