काठमाडौं (अस) । सिप्रदी ट्रेडिङ प्रालिको सामाजिक उत्तरदायित्व विङ सिप्रदीयन सहायता संस्थाको सहकार्यमा सञ्चालन भएको ६ महिने निःशुल्क अटो–इलेक्ट्रिसियन पाँचौं समूहगत तालिम सम्पन्न भएको छ । तालिम समापन अवसरमा कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष राजनबाबु श्रेष्ठ र प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले उत्कृष्ट प्रशिक्षार्थीलाई प्रमाणपत्र र पुरस्कार वितरण गरे ।
प्रशिक्षार्थीलाई बधाइ दिँदै प्रमुख कार्यकारी अध्यक्ष श्रेष्ठले अटोमोबाइल क्षेत्रमा द्रुत गतिमा नयाँ प्रविधि प्रवेश भइरहेको अवस्थामा अटो–इलेक्ट्रिसियनका लागि रोजगारको उत्कृष्ट अवसर रहेको बताए । १० प्रशिक्षार्थीले सिप्रदीको नेपालभर रहेका वर्कसपमा रोजगारी अवसर प्राप्त गरेको कम्पनीले बताएको छ । ६ महिने अटो–इलेक्ट्रिसियन तालिम सिप्रदी ट्रेनिङ सेन्टरले निःशुल्क दिँदै आएको छ ।