नेपालमा बर्खायाममा माग धान्नेगरी र अझ बढी बिजुली उत्पादन हुन थालेको छ । तर, अधिकांश जलविद्युत आयोजना नदी बहावमा आधारित (रन अफ रिभर–आरओआर) प्रकृतिका भएकाले पानीको मात्रा घट्नासाथ बिजुली उत्पादन पनि स्वतः घट्छ । यसको सीधा असर ऊर्जा उपलब्धतामै पर्छ । बर्खामा बिजुली खेर फालेको नेपालमा अहिले सोही समस्या दोहोरिएको छ । आन्तरिक उत्पादन र भारतबाट हुने आयातबाट विद्युत् कटौती (लोडसेडिङ) अन्त्य भएकोमा समस्या फेरि दोहोरिँदैछ । कोइलाको भाउ आकासिएका कारण भारतीय बजारमा बिजुलीको भाउ महँगिएको छ ।