मीरगञ्ज पुल आंशिक सञ्चालन

विराटनगर । विराटनगर नाका जोड्ने भारतको बथनाहास्थित परमाणा नदीको पुल बिहीवारदेखि सञ्चालनमा आएको छ । निर्माणाधीन नयाँ चार लेनको पक्की पुल सञ्चालनमा आएसँगै विराटनगरका उद्योगी–व्यवसायी उत्साहित बनेका छन् । पुरानो बेलिब्रिज पुसमा भासिएपछि जोगवनीबाट विराटनगर भन्सार आउने सामग्री सुनसरीको भण्टाबारी नाका हुँदै ल्याउने गरिएको छ । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले लामो समयदेखि मीरगञ्ज पुल जीर्णोद्वारको लागि गरिएको पहल सार्थक भएको प्रतिक्रिया दिए । भारतले नयाँ निर्माण गरेको पुल आंशिक रूपमा सञ्चालनमा आएको संघका अध्यक्ष रिजालले जानकारी दिए । मोरङ–सुनसरी औद्योगिक कोरिडोरका औद्योगिक प्रयोजनका सवारीसाधन व्यवस्थापन अब सहज हुने अपेक्षा राखिएको छ । गत पुसमा पुरानो पुल भत्किएपछि सुनसरीको भण्टाबारीस्थित सेतुबन्ध नाकाबाट मालवाहक सवारी रि–रुट गर्ने गरिएको थियो । १६ वर्षदेखि मीरगञ्ज पुलले कोरिडोरका उद्योगी–व्यवसायीलाई हैरान दिँदै आएको छ । पुरानो जीर्ण अवस्थाको पुललाई मर्मत गर्दा पनि दीर्घकालीन रूपमा त्यसले समाधान दिएको छैन् । जसले गर्दा व्यवसायीहरू वर्षेनि झन्झट बेहोर्न बाध्य छन् । भारतबाट विराटनगर भन्सार कार्यालय आउने मालवाहक सवारीसाधनले मीरगञ्ज पुल (पुरानो) अवरुद्ध भएका कारण भीमनगर–भण्टाबारी नाका प्रयोग गर्दै आएका छन् । यसो गर्दा नेपाली आयातकर्ताले प्रतिसवारीसाधन करिब २५ हजार रुपैयाँ थप व्ययभार बेहोर्नुपर्छ । पुल सञ्चालन गर्न विराटनगरका उद्योगीले भारतको सडक, राजमार्ग मन्त्री, अररियाका डीएम, फारबिसगञ्जका एसडीओ, पटनाका कस्टम्स कमिशनर लगायत नेशनल हाइवे अथोरिटी अफ इन्डियाका अधिकारीलाई आग्रह गरेका थिए ।

सम्बन्धित सामग्री

भारतको मीरगञ्ज पुल तेस्रो मुलुकका कार्गोका लागि पनि खुला

विराटनगर । भारतको बथनहास्थित मीरगञ्ज पुलबाट मालवाहक सवारी आवतजावत गर्न भारतीय पक्षले अनुमति दिएपछि नेपालका व्यापारी खुशी भएका छन् ।  लामो समयदेखि उक्त पुलमा नेपाली व्यापारी एवं उद्योगीलाई आवतजावत गर्न प्रतिबन्ध लगाएपछि सुनसरीको भण्टाबारीबाट माल आयात गर्ने गरेका थिए । चार लेन सडकसहित मीरगञ्जको परमान नदीमाथि पक्की मोटरेबल पुल बनेपछि भारतीय पक्षले एक वर्षपछि आधिकारिक रूपमा शुक्रबार सूचना जारी गर्दै पुलबाट आवतजावत गर्न सकिने अनुमति दिएको छ ।  मोरङ व्यापार संघको पहलमा दुवै देशका नेता तथा अधिकारीलाई पुल सञ्चालन गर्न दिइएको दबाबका कारण अनौपचारिक रूपमा पुल सञ्चालनमा आएको हो । यो अनुमतिले भारतलगायत तेस्रो मुलुकबाट आउने कच्चा पदार्थलगायतको सामग्री बोकेका मालवाहकलाई सुनसरीको भण्टाबारी नाकाबाट आउनुपर्ने बाध्यता हटेको छ । उक्त पुल सञ्चालनपछि ११६ किलोमिटरको दूरी अब चार किलोमिटरमा झरेको छ । भारतको पटनास्थित कमिस्नर अफ कष्टम पटनाका अधिकारी प्रदीप कुमारले सूचना जारी गरी नयाँ मीरगञ्ज पुल सञ्चालनमा आएको र त्यसबाट मालवाहक आवतजावत गर्ने अनुमति दिइएको जनाएका छन् ।  यसअघि भारतका जोगबनीस्थित ल्याण्ड कष्टम र आईसीपीबीच समन्वय हुन नसक्दा आंशिक रूपमा मात्रै मालसामानको कार्गो आयात निर्यात भइरहेको थियो ।  विभागले अब तेस्रो मुलुकबाट आयात निर्यात हुने सामानका लागि भण्टाबारी नाका पुग्नु नपर्ने जनाउँदै मातहतका सबै निकायलाई बोधार्थ दिँदै सूचनालाई तत्काल कार्यान्वयन गराउन निर्देशन दिएको छ । सूचनासँगै विराटनगरको आईसीपीबाटै आयात र निर्यात औपचारिक रूपमा शुरू भएको छ । व्यापार संघका अध्यक्ष नवीन रिजालको अगुवाइमा पटक–पटक नेपाल र भारतीय अधिकारीलाई पुल सञ्चालनका लागि अनुरोध गरेपछि अनौपचारिक रूपमा दुई महीनादेखि पुल सञ्चालनमा आएको थियो । पुल सञ्चालनमा आए पनि भारत र नेपालका लागि मात्र कार्गो त्यस मार्गबाट ढुवानी गर्न मिल्थ्यो । तेस्रो मुलुकबाट आउने सामानको हकमा सुनसरीको भण्टाबारी नाका प्रयोग हुँदै आएको थियो । यसअघि २०२२ जनवरी ११ मा मीरगञ्ज पुल भासिएकाले सम्पूर्ण कार्गोको आवतजावत यो नाकाबाट बन्द गरी भीमनगर नाकाबाट सुचारु गरिएको सूचना जारी गरिएको थियो । हाल उक्त प्रतिबन्ध फुकुवा गर्दै भीमनगरतर्फको रुट खारेज गरी पहिलेकै अवस्थामा जोगबनी भन्सार र आईसपीबाट माल आवतजावतका लागि सबैलाई जानकारी दिइएको हो । पुल पूर्ण रूपमा सञ्चालनमा आएपछि अहिले दैनिक दुई सयसम्म मालवाहक सवारी साधन भारतीय कष्टम हुँदै विराटनगर आईसीपीमा आइरहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ । एउटा मालवाहक सवारी भीमनगर हुँदै ११६ किलोमिटर घुमेर आउँदा रू. १६ हजार अतिरिक्त भाडा तिर्नुपर्थ्यो । अब एक वर्षमा व्यवसायीले रू. ११ करोड ५२ लाख बराबरको अतिरिक्त ढुवानी भाडा तिर्नुपर्ने बाध्यता हटेको छ । मीरगञ्ज पुल भासिँदा विराटनगर भन्सारबाट एक वर्षमा हुने रू. २२ अर्ब ५० करोड बराबारको कारोबारमा गिरावट आएको थियो । -रासस