वैशाख १८, काठमाडौं । उद्योग संगठन मोरङले अन्तरराष्ट्रिय श्रमिक दिवश (मे दिवश अर्थात् मजदूर दिवश) को अवसर पारेर श्रमिकहरुलाई सम्मान गरेको छ ।
संगठनले विश्वभरिका श्रमिकहरुको महान दिनको रुपमा रहेको मे दिवश श्रमिक र रोजगारदाताहरुले साझा रुपमा एकाकार गर्दै श्रमिकहरुलाई सम्मान गरेको हो ।
संगठनका कार्यबाहक अध्यक्ष प्रदिप मुरारकाले श्रमिक र रोजगारदाताको सम्बन्ध नङ र मासु जस्तो भएकोले रोजगारदाता र ट्रेड युनियन बीचको सम्बाद र सहकार्यका माध्यमबाट श्रम सम्बन्ध सुधार र श्रम सम्बन्धी समस्याको समाधान भइरहेको बताए ।
उनले आगामी दिनमा थप सशक्त समझदारी र सहयोगका साथ सहकार्य गर्दै असल औद्योगिक सम्बन्धको विकास एवं आर्थिक क्षेत्रका चुनौतीहरुको सामान गर्न सक्षम हुने गरि काम गर्न मे दिवशले थप उर्जा प्रदान गर्ने बताए ।
यसैगरी संगठनका उपाध्यक्ष (रोजगारदाता) भोलेश्वर दुलालले श्रमिक र रोजगारदाता एक अर्कासँगको सहकार्य विना अस्तित्वमा नरहने भन्दै संगठनले असल श्रम सम्बन्धलाई सधै प्राथमिकतामा राखेको बताए ।
सार्क ट्रेड युनियन महासंघका महासचिव एवं ट्रेड युनियन काँग्रेसका पूर्व अध्यक्ष लक्ष्मण बस्नेतले मे दिवशको अवसरमा संगठनले आयोजना गरेको कार्यक्रम प्रति धन्यबाद दिदै यस्ता कार्यक्रमले रोजगारदाता र श्रमिकको सम्बन्धमा थप निकटता ल्याउने बताए ।
सोहि अवसरमा संगठनका कार्यबाहक अध्यक्ष प्रदीप मुरारकाले हिमगिरी हाइजिन प्रालि बुढिगंगामा विगत २५ वर्षदेखि कार्यरत महिला श्रमिक द्रोपदी राय र जय श्री कम्पनी प्रालिमा विगत ३७ वर्षदेखि कार्यरत महेश चौधरीलाई खादा, माला, सम्मान–पत्र र जनही नगद ११ हजार पुरस्कारसहित सम्मान गरेका थिए ।
कार्यक्रममा संगठनका पूर्व अध्यक्षहरु अशोक मुरारका, शिवशंकर अग्रवाल र मुकेश उपाध्याय, उपाध्यक्षहरु राजकुमार गोल्छा, नन्द किशोर राठी, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, तारानाथ निरौला, प्रतिभा रिजाल ओली, इन्द्र खत्री, शौरभ सारडालगायतको उपस्थिति रहेको थियो ।