युनिलिभर नेपालद्वारा नगद लाभांश बैंक खातामा पठाउन शुरु

मंसिर २, काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत कात्तिक ११ गते २८ औं वार्षिक साधारण सभाबाट पारित गरेको नगद लांभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको छ । कम्पनीले यस वर्ष प्रतिकित्ता रू. ६५० का दरले नगद लाभांश वितरण गरेको हो । उक्त नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गरिसकेका शेयरधनीहरुको हकमा मंसिर १ गतेदेखिनै जम्मा गर्न शुरु गरिएको कम्पनीले बताएको छ । यसका साथै हालसम्म पनि बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई यथाशिघ्र गराई आफ्नो नगद लाभांश प्राप्त गर्न पनि कम्पनीले भनेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज २५ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असोज २४ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त लाभांश प्राप्त गर्नेछन् ।   

सम्बन्धित सामग्री

उत्पादन तथा प्रशोधन समूहका ६ कम्पनीले दिए लाभांश , कुन कम्पनीको कति लाभांश ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत ८ कम्पनीहरुमध्ये ६ कम्पनीले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश दिएका छन् । युनिलिभर नेपाल, बोटलर्स नेपाल तराई , नेपाल ल्युब आयल , हिमालयन डिष्टीलरी, शिवम सिमेन्ट्स र घोराही सिमेन्ट्स इन्ड्रष्टी लिमिटेडले गत आवको मुनाफाबाट लाभांश दिएका हुन । बोटलर्स नेपाल बालाजु र सोनापुर मिनरल्स एण्ड आयलले भने गत आवको मुनाफाबाट लाभांश दिएनन् ।  लाभांश दिएका कम्पनीमध्ये हिमालयन डिष्टीलरी र शिवम सिमेन्ट्सको बोनस शेयर सूचीकृत भइसकेको छ भने नगद लाभांश दिएका कम्पनीले पनि सम्बन्धीत शेयरधनीहरुको बैंक खातामा नगद लाभांश पठाइसकेका छन् । त्यस्तै घाराही सिमेन्ट्स र नेपाल ल्युब आयलको लाभांश सूचीकृत हुन बाँकी छ ।  सबैभन्दा बढी लाभांश युनिलिभर नेपाल लिमिटेडको रहेको छ । यस कम्पनीले गत आवको मुनाफाबाट आफन शेयरधनीलाई १५८० प्रतिशत नगद लाभांश दिएको हो । यस कम्पनीले अघिल्लो आवको मुनाफाबाट भने १२१५ प्रतिशत नगद लाभांश दिएको थियो ।  त्यस्तै बोटलर्स नेपाल तराईले गत आवको मुनाफबाट यस वर्ष शेयरधनीलाई ६० प्रतिशत नगद लाभांश दिएको हो ।  नेपाल ल्युब आयल लिमिटेडले २५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिएको छ । त्यस्तै हिमालयन डिष्टीलरीले १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिएको हो त्यस्तै शिवम सिमेन्ट्सले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लाििग शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश दिएको हो ।  घोराही सिमेन्ट्सले गत आवको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर दिएको छ । यस कम्पनीले पहिलो पटक आफ्ना शेयरधनीलाई लाभांश दिएको हो ।   स्रोत : कम्पनीको सूचनाबाट

भ्यालु इन्भेस्टमेन्टको उदाहरण

यदि धैर्य छ भने शेयरबजारबाट लखपति मात्र होइन करोडपति बन्न सकिन्छ । ‘खरीद गर, होल्ड गर र बिर्स’ शेयरबजारमा लगानीकर्ताका लागि यो एउटा अचुक मन्त्र हो । विगतदेखि नै हेर्दा यो रणनीतिको पालना गर्नुको अतिरिक्त शेयरबजारबाट पैसा कमाउने अरू छोटो विधि कमै छ । यसका लागि अल्पकालीन होइन, दीर्घकालीन समयसम्म कुनै कम्पनीको शेयर राख्न सक्नुपर्छ । तर, कम्पनी छान्न पनि जान्नुपर्छ । नराम्रो व्यापार भएका कम्पनीहरू, गलत नियत भएका व्यवस्थापक र सञ्चालक भएका सस्थामा कम्पनी नै बन्द भएर लगानीकर्ताको सम्पत्ति नै शून्य हुने अवस्था पनि देख्न सकिन्छ । राम्रो वित्तीय अवस्था भएका, व्यापार फैलिएका, लगानीकर्ता र कुशल व्यवस्थापन भएका शेयर दीर्घकालीन रूपमा राख्दा निकै गुणा लाभ लिन सकिन्छ । राम्रो वित्तीय अवस्था भएका, व्यापार फैलिएका, लगानीकर्ता र कुशल व्यवस्थापन भएका शेयर दीर्घकालीन रूपमा राख्दा निकै गुणा लाभ लिन सकिने कुराको गतिलो उदाहरणको रूपमा भारतको टाटा ग्रूपको कम्पनी टाइटन लाई लिन सकिन्छ । सन् १९९४ मा टाइटन वाचका रूपमा स्थापना भएको कम्पनीले समयसँगै आफ्नो लगानीको क्षेत्रलाई विस्तार र विविधीकरण गर्दै आएको छ । घडी, गरगहनादेखि युवा वर्गलाई लक्षित कपडासम्म बनाउदै आएको छ । दोस्रो बजारको तथ्यांक हेर्दा २३ वर्षको अवधिमा उक्त कम्पनीको शेयरले लगभग ५७ हजार प्रतिशतभन्दा मूल्य बढेको छ । टाटा ग्रूपको लगानी भएको यो स्टक सन् १९९९ को जनवरी १ मा नेशनल स्टक एक्सचेन्ज (एनएसई) मा ४ रुपैयाँ २७ पैसा भारतीय रुपयामा (भारू) कारोबार बन्द भएको थियो । त्यसको २३ वर्षपश्चात् अर्थात् अहिले आएर सन् २०२२ को फेब्रुअरी १३ मा एनएसईमै प्रतिकित्ता शेयरमूल्य २ हजार ४४२ दशमलव ५५ भारू पुगेको छ । यसको अर्थ हो, २३ वर्षको अवधिमा कम्पनीले शेयरमूल्य ५७ हजार प्रतिशत वृद्धि भएको छ । नेपालमा पनि राम्रा कम्पनीको शेयरलाई दीर्घकालीन रूपमा राख्दा आकर्षक मुनाफा आर्जेका थुप्रै उदाहरण छन् । अझ खास गरी ब्लूचिप कम्पनी भनेर चिनिएका युनिलिभर, बोटलर्स नेपाल, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, नबिल बैंक आदिमा विगतको शेयर मूल्य र अहिलेको मूल्य दाँज्दा मूल्यमा आकर्षक वृद्धि देखिएको छ भने बोनस शेयरमार्फत कित्ता थप भएका थुप्रै उदाहरण छन् । विसं २०४६ सालको राजनीतिक परिवतर्नपछि नेपालमा वैदेशिक लगानीमा उद्योगहरू खुल्ने क्रम अघि बढ्यो । त्यही बेला बेलायतको बहुराष्ट्रिय कम्पनी युनिलिभरले नेपालमा लगानी गर्न चासो देखायो । तर, योभन्दा अघि नै बेलायतको उक्त कम्पनी हिन्दुस्तान युनिलिभरले भारतीय बजारमा व्यापार गरिरहेको थियो । हिन्दुस्तान युनिलिभरले नेपाल साझेदारका रूपमा काठमाडौं इन्द्रचोकका इन्द्रभक्त श्रेष्ठलाई सहभागी गरायो । कम्पनीमा साझेदार रहेका उनको छोरा रविभक्त श्रेष्ठले युनिलिभिर नेपालबाट राम्रो प्रतिफल पाउँदै आएका छन् । नेपालमै १ सय रुपैयाँ अंकित मूल्य रहेको युनिलिभरको शेयर ३ मे २०१६ मा प्रतिकित्ता ३६,००० सम्म पुगेको थियो । त्यो समयमा उक्त कम्पनीको शेयर विक्री गर्दा १० कित्तामै ३ लाख ६० हजार दिन्थ्यो । यो कम्पनीको मूल्यसँगै लगानीकर्ताले कम्पनीमार्फत प्राप्त गर्ने लाभांश पनि आकर्षक छ । आर्थिक वर्ष ७३/७४ मा कम्पनीले १२७० प्रतिशतसम्म नगद लाभांश दिएको इतिहास छ । युनिलिभरको १० कित्तामात्र शेयरको नगद लाभांशले दशैंमा खसी किन्न पाइन्छ है भनेर ब्रोकर कार्यालयमा सुनिने केही चिया गफ थिए । शेयरबजारमा ब्लूचिप भनेर चिनिएको उक्त कम्पनीको शेयरमूल्य आइतवार कारोबार बन्द हुँदा १९ हजार रुपैयाँ रहेको छ भने सोही दिनको बजार पूँजीकरण १७ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । दोस्रो बजारमा कुन कम्पनीको शेयर कतिमा खरीद गर्ने र विक्री गर्ने चातुर्य खेल पनि हो । यहाँ मूल्य निर्धारणको कुनै त्यस्तो निर्दिष्ट मापदण्ड हुँदैन । कुन कम्पनीको शेयर कहिले बढ्छ र कहिले घट्छ भन्ने उत्तर पाउने भए आज सवै लगानीकर्ताहरू अर्बपति मात्र होइन खर्बपति हुने थिए होलान् । शेयरबजार घटबढको स्पष्ट उत्तर नपाउँदा थोरैमात्र लगानीकर्ताहरू सफल हुने गर्छन् र भएका छन् । मूलतः दोस्रो बजारमा शेयरमूल्य उक्त कम्पनीको शेयरको माग र आपूर्तिले निर्धारण गर्ने मान्यता राखिन्छ, तर त्यो माग र आपूर्तिलाई कम्पनीको मुनाफा, बजार मूल्य, व्यावसायिक विस्तार, आर्थिक तथा सामाजिक वातावरणजस्ता धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । यसका साथै शेयर विक्री गर्नेहरूले गर्ने प्रत्यक्ष अप्रत्यक्ष प्रचारले समेत मूल्यमा प्रभाव पार्न नयाँ लगानीकर्तालाई दबाबमा पारिरहेका हुन्छन्, यसतर्फ पनि विचार गर्नुपर्छ । दीर्घकालीन लगानीकर्ताले लगानी गर्दा कम्पनीको इतिहास र वर्तमान व्यवस्थापन तथा सञ्चालकको अवस्था विशेष ध्यान दिनुपर्छ । नाम चलेको व्यापारिक समूहले लगानी र प्रवर्द्धन गरेका कम्पनीहरूमा लगानीकर्तालाई केही राम्रो हुने सम्भावना हुन्छ । माथि उदाहरणमा लेखिएका युनिलिभर नेपाल र भारतीय टाइटन सफल व्यापारिक समूहले लगानी गरेका कम्पनी हुन् । लगानी वा कारोबार, जोखिम वहन क्षमता, लगानी रणनीति, लगानीको स्रोत र अवधिजस्ता लगानीकर्ताको व्यक्तिगत पक्षहरूले पनि शेयर किनबेचमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । तसर्थ, लगानीकर्ता आफैले आफ्ना लागि मापदण्ड तयार गरी निश्चित दायरामा रहेर संयमित तरीकाले लगानी वा कारोबार गर्न वाञ्छनीय हुन्छ । शेयरबजारबाट वास्तवमा सबैले कमाउन चाहन्छन् तर सक्दैनन् । कोहीले राम्रो मुनाफा कमाउँछन् कोही भने नराम्रोसँग फसेर बाहिर निस्कन्छन् । बजार त घटबढ भइरहन्छ नै । बजार बढ्दा मात्तिनु भएन घट्दा आत्तिनु पनि भएन । यसका लागि कम्पनीको वित्तीय विवरणदेखि सबै पक्षको अध्ययन तथा विश्लेषणमा ध्यान दिन आवश्यक छ । यसबाट के सिक्न सकिन्छ भने, शेयरबजारबाट कमाउन अझ धैर्यवान् हुनैपर्छ । अझ माथि भनिएझैं ‘खरीद गर, होल्ड गर र बिर्स’ यो मन्त्र लागू गर्ने हो भने पूँजीबजारबाट कमाउन नसकिने भने होइन ।