सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी दस वर्षमा नेपाल विकसित मुलुक बन्न सक्ने बताउनुभएको छ। शनिबार धरानमा आयोजित नेपाल प्रहरी विद्यालयको नवनिर्मित विद्यालय र छात्रावास भवनको उद्घाटन समारोहमा मन्त्री कार्कीले सो धारणा व्यक्त गर्नुभएको हो। भारत सरकारको सहयोगमा निर्माण गरिएको भवन उद्घाटन गर्दै उहाँले भन्नुभयो, “मित्रराष्ट्रबाट निरन्तर सहयोग प्राप्त भइरहेको अवस्थामा आगामी दस वर्षमा नेपाल दक्षिण एसियामा एउटा विकसित राष्ट्र बन्नेमा मैले विश्वास लिएको छु।” जलस्रोतमा धनी नेपालले भारतलाई १५ हजार मेगावाट विद्युत् बिक्री गर्न सके त्यसबाट मुलुकले ५०/६० अर्ब रुपियाँ प्राप्त गर्न सक्ने र भारतसँगको व्यापार घाटा कम गर्न सकिने बताउनुभयो।