काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको प्रतिशेयर वितरणयोग्य आम्दानी १४ रुपैयाँ ९२ पैसा रहेको भन्दै यसअघिको विवरणलाई सच्याएको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिसम्मको प्रतिशेयर वितरणयोग्य आम्दानी २६ रूपैयाँ २७ पैसा रहेको समेत प्रष्ट पारेको छ ।
बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण साउन २० गते सार्वजनिक गरेको थियो । उक्त वित्तीय विवरण अनुसार बैंकले सो अवधिसम्म ३ अर्ब ९ करोड ९३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा बैंकको खुद नाफा गत वर्ष ३९ दशमलव २५ प्रतिशत बढी भएको हो । अघिल्लो वर्षको तुलनामा बैंकको वितरणयोग्य नाफा भने गत वर्ष कम भएको छ । अघिल्लो वर्ष ३ अर्ब ५२ करोड १७ लाख रुपैयाँभन्दा बढी रहेको वितरणयोग्य नाफा गत वर्ष २ अर्ब ७१ लाख रुपैयाँभन्दा बढी मात्र रहेको हो ।
बैंकले अघिल्लो वर्षभन्दा करीब २० प्रतिशत बढी १ खर्ब ९९ अर्ब ४८ करोड ६६ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने शून्य दशमलव ९३ प्रतिशत कम १ खर्ब ७१ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा २ दशमलव शून्य ९ प्रतिशत रहेको अघिल्लो वर्ष गत वर्ष २ दशमलव ४८ प्रतिशत कायम भएको छ ।